अनुदानमा कृषकलाई किवीका बिरुवा

रुकुम पश्चिम । फलहरूमा उत्कृष्ट मानिने किवी खेतीलाई विस्तार गर्नका लागि जिल्लाको आठबिसकोट नगरपालिकाले किवी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने योजना बनाएसँगै कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको छ । गोल्डेन रहेवाड जातका २० हजार किवीका विरुवा अनुदानमा कृषकलाई वितरण गरिएको हो ।

पालिकालाई किवी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने योजना बनाएसँगै पालिकाले किवीका विरुवा वितरण गरेको हो । उत्कृष्ट फलका रूपमा मानिने किवीलाई यस क्षेत्रमा किवीको सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको नगरपालिकाका नगरप्रमुख रवि केसीले बताए । केसीले भने, ‘उत्पादन नै समृद्धिको आधार हो भन्ने नारासहित पालिकाको ५० प्रतिशत लगानीमा हामीले कृषकलाई कुल २० हजार किवीका विरुवा वितरण गरेका छौँ ।’

पालिकामा धेरैले किबी खेती लगाएपछि अनुदानमा विरुवा वितरण गर्न थालिएको हो । यसअघि दुई हजार बढी किवीको विरुवा रोपेकोमा एक सय क्विटल बढी किवी उत्पादन भएको थियो । यसवर्ष सो क्षेत्रको करिब दुई सय रोपनी जग्गामा २० हजार किवीको बिरुवा रोप्ने योजनाअनुसार नगरपालिकाले किसानहरूलाई अनुदानमा किवीको विरुवा उपलव्ध गराएको हो । रामेछाप जिल्लाबाट खरिद गरेर ल्याएका किवीका विरुवा कृषि प्राविधिक तथा विषयविज्ञको उपस्थितिमा किवी खेती गर्ने तरिकाबारे प्रशिक्षण दिएर विरुवा उपलव्ध गराएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए ।

कृषिलाई नगरपालिकाको विकासको प्राथमिक क्षेत्रको रूपमा अघि बढाएको नगरपालिकाले चालु आर्थिक वर्षबाट किवी खेती विस्तार तथा प्रवर्धन कार्यक्रमसमेत सञ्चालन गरेको छ । भौगोलिक भूवनोट तथा किवी खेतीको लागि उपयुक्त स्थानको रूपमा जमिन छनौट गरी उक्त क्षेत्रलाई किवी पकेट क्षेत्रको रूपमा विकास गरेर सफल भएमा कृषकहरूले मनग्य आयआर्जन गर्न सक्ने पालिकाले विश्वास लिइएको छ । रुकुम पश्चिमका कृषकहरू किवी खेतीतर्फ आकर्षित बन्न थालेका छन् । किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका विभिन्न ठाउँमा किवी खेती सुरु गरिएको छ ।

किवी खेतीको राम्रो सम्भावना भएकोले गाउँलेहरू किवी खेतीतर्फ आकर्षित हुन थालेको वडा–८ का कृषक कर्ण बहादुर पुनले बताए । उनले भने, ‘किवी खेतीको राम्रो सम्भावना भएकोले आफूले करिब ६ वर्ष पहिलादेखि यो खेती गर्न लागेको र गाउँमा पहिलोपटक किवी खेती गर्न लागेकोले धेरैले किवी खेतीको उत्पादनमा विश्वास नगरेको तर अहिले किवीबाटै मनग्य आम्दानी हुने भएपछि अन्य खेती छोडेर कृषकहरू किवी खेतीमा आकर्षित हुँदै आएको बताए । किवीबाट वाइन र जुस बन्ने र देश तथा विदेशमा समेत निर्यात गर्न सकिने भएकाले अरू बाली लगाउन छोडेर यहाँका कृषकहरू किवी खेतीमा लागेका छन् ।

किवीका विरुवा रोप्नका लागि खाडल खनेर तयारी अवस्थामा राखेसँगै नगरपालिकाले किसानहरूलाई किवीका विरुवा वितरण गरको हो । चालु आर्थिक वर्षबाट किवी खेती विस्तार कार्यक्रम ल्याएको नगरपालिकाले पहिलो वर्ष कृषकहरूलाई तालिमसहित बिरुवा उपलब्ध गराएको हो । सोबाहेक प्राविधिक सहयोग र बिरुवा रोप्नका लागि खाडल खन्न तथा पुर्ने लगायतका कार्यका लागि पनि नगरपालिकाले सहयोग गर्ने भएको छ । किसानले उत्पादित गरेको किवीको बजारीकरणमा समस्या नभएको र बारीबाटै बिक्री हुने भएपछि जिल्लाका कृषकले किवी खेतीलाई थप विस्तार गर्दै लगेका छन् । थारै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्नसकिने भएपछि यहाँका कृषक किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया