धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वास्थ्यका क्षेत्रमा सबैभन्दा बढी काम भएको बताएका छन् । उनले सुदूरपश्चिम प्रदेश सरकारले र आफ्नो कार्यकालमा स्वास्थ्यका क्षेत्रमा उल्लेख्य काम गरेको बताए ।
सेती प्रादेशिक अस्पतालमा आइतबार सिटी स्क्यान सेवाको समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले जनताका आधारभूत सेवाहरु खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा छिटोभन्दा छिटो काम गर्नुपर्छ भन्ने प्रदेश सरकारको नीति रहेको र त्यस आधारमा अगाडि बढेर काम गरेको बताए ।
पाँच वर्ष अगाडि आफू मुख्यमन्त्री भएर सेती प्रादेशिक अस्पताल निरीक्षणमा आउँदा एउटा राम्रो एक्सरे मेसिन पनि नभएको स्मरण गर्दै मुख्यमन्त्री भट्टले भने सुरुवातमा जुन समस्या देखिएको थिए आज कमसेकम प्रदेश सरकारको वजेटले सिटी स्क्यान मेसिन जडान गरिएको छ ।
सेती प्रादेशिक अस्पताल प्रदेशकै ठूलो अस्पताल भएकोले यसलाई बढी सुविधासम्पन्न बनाउने प्रदेश सरकारको नीतिअन्तर्गत अब छिट्टै प्रदेश सरकारकै लगानीमा एमआरआई मेसिनसमेत आउने उनले बताए । उपकरण थपेर मात्रै नहुने बताउँदै उनले यसबाट जनतालाई सुलभ र सहज सेवा दिन पनि चिकित्सकलाई आग्रह गरे ।
‘यो अस्पतालमा मात्रै होइन् महाकाली,टीकापुर अस्पताल र जिल्ला अस्पतालहरुमा स्वास्थ्य उपचारको अधिकतम सुविधा दिनुपर्छ भनेर प्रदेश सरकारले ढिला भएपनि सुविधा थप्दै गएका छौँ’, उनले भने । ‘पहाडतिर होस् या तराईका अस्पताल हुन् जनशक्तिको अभाव कम भएको छ’, उनले भने, ‘सबै अस्पतालमा जनशक्ति अभाव कम भएको छ‘ ।
उनले थपे, ‘सबै अस्पतालहरुमा भवन निर्माण भइरहेका छन्, स्वास्थ्योपचारका लागि चाहिने मेसिन अन्य अस्पतालमा पनि व्यवस्थापन भएको छ ।’ प्रदेश सरकारले आव २०७७–०७८ मा सिटी स्क्यान मेसिन खरिदका लागि रु ९ करोड बजेट विनियोजन गरेको र अन्तराष्ट्रिय टेण्डर गर्दा २५ प्रतिशत कम रकममा सिटी स्क्यान मेसिन खरिद गरिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेयले जानकारी दिए ।
सिटी स्क्यान सेवा थपिँदा प्रदेश बाहिर गएर सेवा लिनुपर्ने समस्या हटेको र सेवालाई प्रभावकारी र सर्वसुलभ बनाउन जोड दिनुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले अस्पताल स्थापना भएको ८३ वर्षपछि सिटी स्क्यान सेवा थप्न सफल भएको बताए । उनले अस्पतालमा यो सेवा थपिँदा सिटी स्क्यान गर्नका लागि मात्रै नेपालगञ्ज, काठमाडौं, भारततिर धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
प्रतिक्रिया