नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा २३ वर्षीया एक छात्रामाथि भएको सामूहिक बलात्कारको विरोधमा जारी सडक आन्दोलन झन तीव्र भएको छ । आन्दोलन नियन्त्रण गर्न तैनाथ एक प्रहरीको मंगलाबर मृत्यु भएको छ । गत सातादेखि जारी रहेका प्रदर्शन व्यापक बन्दै गएपछि अवस्था नियन्त्रण लिन सुरक्षाकर्मीलाई निक्कै गाह्रो परिरहेको छ ।
नयाँदिल्लीको इन्डियन गेटमा तैनाथ एक प्रहरीमाथि प्रदर्शनकारीले सोमबार हमला गरेका थिए । हमलाबाट घाइते भएका ४७ वर्षीय प्रहरी सुवास तोमर नामका प्रहरीको उपचारका क्रममा निधन भएको हो । प्रहरीका अनुसार बलात्कारको बिरोधमा भारतका दर्जनौँ सहरमा मंगलबार प्रदर्शन भए । गत डिसेम्बर १६ मा भएको बलात्कारको घटनाको विश्वभरी भत्र्सना गरिएको छ । केटा साथीसँग रात्री फिल्म सो हेरेर फर्किरहेकी एक छात्रामाथि दिल्लीको दक्षिणी भागमा बसभित्रै सामुहिक बलात्कार भएको थियो । बलात्कारपछि छात्रालाई बसबाहिर फ्याकिएको थियो । बलात्कृत छात्राको अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि ४० मिनेटसम्म सामुहिक बलात्कार भएको थियो । उनलाई बचाउन खोज्दा बलात्कारीहरूले केटा साथीलाई फलामको छडले प्रहार गरेका थिए ।
बस चालकसहित बलात्कारमा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी दुईको पनि खोजिभइरहेको छ । भारतको कानुनमा बलात्कारीलाई बढीमा १० वर्षसम्मको जेल सजायको व्यवस्था छ । तर, बलात्कारीलाई मृत्युदण्ड माग गर्दै भारतमा प्रदर्शन जारी छ । मृत्युदण्डका बारेमा भने सरकारले केही बोलेको छैन । भारतमा दिनभरजसो प्रदर्शन जारिराखेका प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीका कार्यकर्तासमेतले मृत्युदण्डको घोषणा नगरेसम्म सडकबाट नहट्ने बताएका छन् ।
भारतमा महिलामाथि पटक–पटक हिंसा हुने गरेको छ । गत वर्ष भारतमा भएका दुई लाख ५६ हजार तीन सय २९ हिंसामध्ये दुई लाख २८ हजार ६ सय ५० हिंसा महिलामाथि भएका थिए । सन् १९९० को तुलनामा सन् २००८ मा भारतमा बलात्कार घटना दोब्बर भएको छ ।
संयम रहन आह्वान
बलात्कारविरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि भारतका राष्ट्रपति प्रणम मुखर्जीले संयम रहन भारतका युवाहरूलाई आह्वान गरेका छन् । बलात्कारको विरोधमा पोखिएको जनआक्रोश जायज भए पनि हिंसाबाट कुनै हल निस्किँदैन भन्ने यथार्थ बुझ्न उनले देशका युवासँग आग्रह गरेका छन् । घटनामा संलग्नमाथि आवश्यक कारबाही गर्न सरकार लागिपर्ने आश्वासन दिँदै संयम रहन राष्ट्रपति मुखर्जीले आग्रह गरेका छन् ।
‘दिल्लीमा भएको यस बर्बर घटनाबाट म स्तब्ध भएको छु । बलात्कारविरुद्धको जायज आक्रोशको म तारिफ गर्छु । तर, सँगसँगै म युवाहरूलाई हिंसा कुनै समस्याको समाधान होइन भन्ने पुन: स्मरण गराउन चाहन्छु,’ मंगलबार एक अवसरमा उनले भने । बलात्कारको सिकार भएकी युवतीलाई ‘विरंगना’को संज्ञा दिँदै राष्ट्रपति मुखर्जीले मंगलबार मृत्यु भएका प्रहरी जवानप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यसअघि भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले महिलाको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिने बचन दिँदै शान्ति कायम गर्न आह्वान गरेका थिए । प्रदर्शनकारी तथा प्रहरीबीच भएको संघर्षबाट आफू निकै दु:खी भएको बताउँदै उनले मुलुकका सबै महिलाको सुरक्षाका लागि सरकारले हरसम्भब प्रयास गर्ने दृढता व्यक्त गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया