चियाको गुणस्तर विकासमा किसानहरू उत्साहित

इलाम । चियाको राजधानीका रूपमा परिचित इलामका किसानहरू चियाको गुणस्तर विकासका लागि उत्साहित भएका छन् । चियाको कटिङ र गुणस्तरीय टिपाइसम्बन्धी स्थलगत रूपमा नै तालिम पाएपछि चियाको गुणस्तर विकासका लागि किसानहरू उत्साहित बनेका हुन् । विगतमा परम्परागत रूपमा चियाको टिपाइ गर्दै आएका किसानहरू प्राविधिक तालिम पाएपछि उत्साहित भएका हुन् । चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएको हो । गत वर्षदेखि सञ्चालित नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना अन्तरंग बोर्डले प्रयोगात्मक रूपबाटै चिया किसानलाई गुणस्तरीय टिपाइबारेको तालिम प्रदान गरेको हो । तालिममा चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाउँदै आएको छ ।

बोर्डले तालिका बनाएर जिल्लामा छरिएका सबै समूह समूहमै पुगेर प्राविधिकमार्फत चियाको कटिङसहित मौसमअनुसारका काम सिकाउँदै आएको छ । हरियो पत्ती संकलन र उत्पादन गर्ने चिया सहकारीमा आवद्ध किसानलाई समूह बनाएर चिया बगानमै काँटछाँट र गुणस्तरीय टिपाइबारे तालिम दिइएको हो । बोर्डले चरणवद्ध रूपमा किसान लक्षित प्रयोगात्मक कार्यक्रम सञ्चालन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए ।

‘यसअघि पनि चियाको लागि धेरै कार्यक्रम भए तर उद्योगसम्म पुगेका कारण चिया किसानले केही जानकारी नपाएको भन्दै किसानसँगै प्रत्यक्ष रूपमा नै रहेर पूर्ण प्रयोगात्मक प्रशिक्षण गराउने गराउँदै छौँ’ निर्देशक भट्टाराईले भने, ‘व्यावहारिक ज्ञान र सीप एकैपटक सिकाउँदै छौँ । उता किसानहरू तालिम पाएपछि चियाको गुणस्तरसँगै उत्पादनमा समेत वृद्धि हुने बताउँछन् । ‘हामीले प्राविधिक रूपमा दक्ष प्रशिक्षकहरूबाट फिल्डमा नै तालिम लिन पाएका छौँ’, तालिममा सहभागी एक किसानले भने, ‘यसले आगामी वर्षदेखि चियाको गुणस्तरमा वृद्धि त भयो नै, उत्पादनमा समेत १० प्रतिशत भन्दा धेरैले वृद्धि हुने निश्चित छ ।’

बोर्डले २ हजार ७ सय ९० जना चिया किसानलाई चिया काटछाँट बारे तालिम प्रदान गरेको छ । १५ देखि ३० जनाको ११ वटा समूह बनाएर प्रत्येक समूहमा २ जना चिया प्राविधिकबाट तालिम सञ्चालन गरिएको थियो । तालिम जिल्लाको फिक्कल, मंगलबारे, इलाम, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायतमा फिल्डमा नै सञ्चालन गरिएको थियो । त्यस्तै बोर्डले नेपाल सरकारले लागू गरेको चियाको लोगो लिएका १७ वटा चिया उद्योगमा हरियो पत्ती प्रदान गर्ने किसानहरूलाई तालिम प्रदान गरेको हो ।

तालिम पाएपछि किसानहरू चिया टिप्न मात्र नभएर मलखादको व्यवस्था, गोडमेल, काँटछाँटजस्ता कामको शैलीमा परिवर्तन भएको छ । उनीहरूले अहिले प्राविधिक उपकरणको प्रयोग समेत बढाएका छन् । चिया श्रमिकको प्रत्यक्ष अभाव भोग्दै आएका किसानले यहि झन्झटबाट मुक्ति पाउन मेसिनको प्रयोग गर्न गरेका छन् । १८ करोडको परियोजनाले तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि विक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिङ’ गर्ने पनि लक्ष्य राखेको छ । त्यस्तै अर्गानिक उत्पादनलाई प्रोत्साहन गरी नेपालको अर्गानिक चिया विश्व बजारमा प्रांगारिक उत्पादनका रूपमा स्थापित गर्नसमेत परियोजनाको अपेक्षा छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयको सहभागितामा सुरु भएको परियोजनाले आगामी २०२३ को अप्रिल सम्ममा किसानको आवश्यकता र चियाको सिजन अनुसार कार्य सम्पादन गर्ने लक्ष्य लिएको बोर्डले जानकारी दिएको छ ।

चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, अर्गानिक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्य वृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सृजना गर्ने मुख्य लक्ष्य रहेको बोर्डले जनाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार इलाममा ८ हजार ८ सय ७६ चिया किसान छन्  । जिल्लामा ७ हजार २ सय ३६ हेक्टरमा चिया खेती गरिएको छ । इलामबाट वार्षिक ६४ लाख ३१ हजार किलो अर्थोडक्स चिया उत्पादन हुन्छ ।

प्रतिक्रिया