अर्घाखाँची । आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षि नेकपा एमालेका उच्चस्तरका नेताबीच मुख्य प्रतिस्पर्धाहुने देखिएको छ ।
अर्घाखाँचीमा वाम लोकतान्त्रि पक्षबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यतथा पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पार्टी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनका लागि ११ जना संघमा उम्मेदवार भए पनि मुख्य प्रतिस्प्रर्धा भने कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख भुसाल र एमालेका केन्द्रीय सचिव पूर्व उपप्रधानमन्त्री रायमाझीबीच हुने भएको छ । संयोग भन्नुपर्छ दुवै जना उम्मेदवार सन्धिखर्क– ९ अर्घाका नै हुन् ।
विसं २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लगायतका गठबन्धन दलका तर्फबाट निर्वाचित रायमाझी अहिले एमालेको एकल उम्मेदवारको रुपमा उम्मेदवार छन् । आर्थिक समृद्धि र मुलुकको विकासका लागि आफ्नो जीत हुने नेता रायमाझीको दाबी छ ।
विसं २०६४ देखि निरन्तर निर्वाचित भएका रायमाझी २०७४ को वाम गठबन्धनमा माओवादीबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर, अहिलेको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतका दलको समर्थनबाट लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट कांग्रेसकी नेतृ पुष्पा भुसाल उम्मेदवार बनेकी छन् ।
जिल्लाको विकासका लागि आफ्नो जीत हुने नेतृ भुसालको पनि दाबी छ । उनले जिल्लामा विकासको नाममा आएको बजेटको परिक्षण अर्घाखाँचीबासीले गर्नुपर्ने बताइन् । संघीयता पछिको २०७४ को चुनावमा भुषाल समानुपातिक सूचीबाट संसद बनेर उपसभामुख बनेकी हुन् ।
प्रतिनिधिसभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारुलगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा ९१० मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका सागर केसी, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपाली लगायत सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा ९२० का लागि नेपाली कांग्रेसबाट पार्टीका पूर्वसभापति कमलप्रसाद भुसाल र एमालेबाट पूर्व प्रदेश सांसद रामजीप्रसाद घिमिरे, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीबी अर्याल लगायत सातजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनाव लक्षित कार्यक्रमले तीव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ । लगातार तीन पटक निर्वाचन आफ्नो पक्षमा पारिसकेका रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा छन् ।
भुसाललाई भने गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दबाब छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन करिब ५ हजार ५ सय मतले अगाडि देखिन्छ ।
प्रतिक्रिया