रुकुम पूर्वका तीनवटै क्षेत्रमा ‘बागी’को डर

रुकुम । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्रै बाँकी छँदा यहाँका उम्मेदवारहरुले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् । मनोनय दर्तापछि घरदैलो हुँदै सुरु भएको प्रचारप्रसार यतिबेला सभा, भेला, आन्तरिक छलफलमा केन्द्रित छन् ।

रुकुम (पूर्व) मा प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । यी तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारीले निर्वाचनमा रौनकता थपेको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको लागि नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती मगर उम्मेदवार छन् । तर, उनको विरुद्धमा माओवादी केन्द्रका चन्द्रराज झाँक्री बागी उम्मेदवार छन् । यस क्षेत्रमा नेकपा (एमाले) का कैलाशकुमार मल्ल उम्मेदवार छन् ।

मल्ल यसअघि माओवादी केन्द्रमा थिए । उनी गत स्थानीय तहको निर्वाचन अघि एमालेमा प्रवेश गरेका हुन् । तीन जना उम्मेदवार नै विगतमा माओवादी पृष्ठभूमिबाट आएकाले मत कसले बढी तान्छ भन्नेमा बहसको विषय बनेको छ ।

रुकुम पूर्वमा विगतका निर्वाचनको मतपरिणाम हेर्दा माओवादी केन्द्र हावी देखिन्छ । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती गत निर्वाचनमा प्रदेशसभा २ बाट निर्वाचित भइ लुम्बिनी प्रदेशको सभामुख निर्वाचित भइसकेका छन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली उम्मेदवार छन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए । तर, यस पटकको निर्वाचनमा उनीविरुद्ध सुरुल पुनले बागी उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पनि पुनलाई नै समर्थन गरिसकेको छ ।

प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर केसी उम्मेदवार छन् । तर, सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध माओवादी केन्द्रका केशव रावलले बागी उम्मेदवारी दिएका छन् । रावल माओवादी केन्द्र विद्यार्थी सङ्गठनका केन्द्रीय उपाध्यक्ष हुन् । उनीहरुसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट भावना बुढाथोकी उम्मेदवार छन् ।

माओवादी र कांग्रेसबीचमा चुनावका लागि गठबन्धन भए पनि पार्टीभित्रको असन्तुष्टिको फाइदा एमालेका उम्मेदवारलाई हुन सक्ने मतदाताबीच आँकलन गरिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा तीन वटै पालिका प्रमुख र दुई वटा गाउँपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने एमाले–कांग्रेस गठबन्धनबाट एमालेका उम्मेदवारले एउटा पालिका उपप्रमुख जितेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा ३१ वडामध्ये नेकपा माओवादी केन्द्रले २२ वटा, नेपाली कांग्रेसले तीन र नेकपा एमालेले ६ वटा वडामा जित हासिल गरेका थिए ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर घर्ती मगरले संघीयता कार्यान्वयन र यस क्षेत्रको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको दाबी गर्दै आएका छन् ।

‘पहिलो कार्याकालमा कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा विभिन्न काम सुरु गरेको छु, अब त्यसलाई पूर्णता दिन र नयाँ एकीकृत योजनाका साथ काम गर्नेछु’, उनले भनेका छन् । जनतालाई ठूलो आश देखाउनुभन्दा यहाँका समस्या समाधानमा केन्द्रित हुने उनको भनाइ छ ।

नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले पनि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलाई चुनावी एजेन्डा बनाएका छन् ।

प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तेजबहादुर ओलीले सडक निर्माण तथा बिस्तार, एकीकृत बस्ती विकास, खानेपानी, बिजुली, सञ्चारको मुद्दा अगाडि सारेका छन्।

‘घरघरमा इन्टरनेटको पहुँच, सामूहिक र आधुनिक कृषिको लागि अनुदान, सहुलियतमा ऋण, उत्पादनको बजारीकरण, प्रशोधन, पर्यटनको विकास मेरा मुख्य एजेन्डा हुन्’, उनले भने । उनले खानी र वनजन्य उद्योगमार्फत अर्थतन्त्रमा सुधार, खेलकुद, शिक्षामा व्यवस्थित पूर्वाधार, सेवा प्रवाहमा सुशासन, समावेशिता, पारदर्शीताका लागि काम गर्ने उनको भनाइ छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार सुरुल पुनले यहाँको भूगोल, समूदाय, जातिका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन् । पिछडिएको क्षेत्र, वर्ग र समूदायबाट नेतृत्व गर्दै विकासलाई विशेष जोड दिने उनको दाबी छ ।

निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार धनबहादुर केसीले भने आफू निर्वाचित भए सरकारी सेवा सुविधा नलिने बाचा गरेका छन् ।

नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार, कृषिको व्यावसायिकीकरणका लागि काम गर्ने बताइन् ।

प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार केशव रावलले पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगार–स्वरोजगार, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा सञ्चार, खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने दाबी गरेका छन् ।

तर, पटक–पटक निर्वाचित भए पनि नेताहरुले अपेक्षा गरेअनुसारको विकास नगरेको सिस्ने गाउँपालिका– ५ कि स्थानीय फुर्ची बुढाको भनाइ छ । ‘स्थानीय स्तरमै रोजगारी नहुँदा कैयन युवाहरु विदेशिन बाध्य भएका छन्, यो समस्या समाधान भए जीवनस्तर सहज हुने थियो’, उनले भनिन् ।

भौगोलिक दृष्टिले विकट मानिने यस जिल्लामा कुनै स्थानबाट वडा कार्यालयसम्म पुग्न पनि एक दिनको समय लाग्छ । यहाँका नागरिकहरुले सामाजिक सुरक्षा वापतको भत्तामा बैकिङ प्रणालीबाट सहज नभएको भन्दै वडा कार्यालयले नै वितरण गर्नुपर्ने माग गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । कार्यालयले कात्तिक १८ देखि मतदाता शिक्षा सञ्चालन गरिरहेको छ । जिल्लामा ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र छन् । साथै, एउटा अस्थायी मतदानस्थल थप गरिएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए । उनका अनुसार मदतानस्थल र मतदान केन्द्रमा सुरक्षाकर्मी र स्वयमसेवकबाहेक चार सय ४८ जना कर्मचारी खटिने छन् ।

जिल्लामा मतपत्र ढुवानी र प्याकिङको काम पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकिएको छ ।

जिल्लामा ३४ हजार एक सय १२ मतदाता छन् । जसमा महिला १६ हजार ८ सय ९७ र पुरुष १७ हजार २ सय १५ रहेका छन् । तीन वटा मात्र गाउँपालिका रहेको जिल्लामा ३१ वटा वडा छन् ।

पुथा उत्तरगङ्गा गाउँपालिकाका १४ वटा वडा र भूमे गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पर्छन् । प्रदेशसभा २ मा भूमे गाउँपालिकाका ४, ५, ८ र ९ नम्बर वडासँगै सिस्ने गाउँपालिकाका ८ वटा वडा पर्छन् ।– रासस

प्रतिक्रिया