गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय पालुङटार विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउने प्रतिवद्धता जनतासामु व्यक्त गरेका छन् । उनको भनाइ छ, ‘आमनिर्वाचन सकिए लगत्तै पिचको काम सुरु हुन्छ, अबको एक डेढ वर्षभित्रै विमानस्थल सञ्चालनमा आउँछ ।’ ०१८ सालदेखि सञ्चालनमा आएको उक्त विमानस्थल पृथ्वीराजमार्गको निर्माण सम्पन्न भएस“गै ०३२ सालदेखि बन्द भएको थियो । दुईपटक प्रधानमन्त्री बनिसकेका र फेरी पनि प्रधानमन्त्री बन्ने संभावना बोकेका शीर्ष नेता प्रचण्डको आगामी सरकारमा पनि निर्णायक भूमिका रहने निश्चित छ ।
त्यसैले प्रचण्डको प्रतिवद्धता प्रति पालुङ्टार क्षेत्रका बासिन्दा निकै आशावादी देखिनु स्वभाविकै हो । तर प्रचण्डले भनेझैँ यथास्थितिमा पालुङटार विमानस्थल सञ्चालन होला त ? विमान चढ्ने यात्रुहरू पाउन संभव होला त ? भन्ने प्रश्न निकै गम्भीर छ । त्यसो त प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गत स्थानीय निर्वाचनमा आफ्नो गृह जिल्ला डडेलधुरा पुगेर व्यक्त गरेका प्रतिवद्धता मध्ये दुई वटा निकै गम्भीर छन् । एउटा हो, ‘सुदूरपश्चिम प्रदेशको राजधानी डडेलधुराको अमरगढीमा स्थानान्तरण गर्ने ।’ अर्को हो, ‘अमरगढीमा मेडिकल कलेज स्थापना गर्ने ।’ यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि साविकको पोखरा विमानस्थललाई हरियाली पार्कमा रूपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
चुनावमा भोट लिनका लागि अनेकखालका प्रतिवद्धता जाहेर गर्दै जनतामा चरम महत्वकांक्षा जगाइदिने मामिलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा माहिर मानिन्छन् । तर त्यही सिको यतिबेला सत्ता गठबन्धनमा सामेल दलका नेताहरूले किन गरिरहेका छन् ? भन्ने प्रश्न ज्यादै गम्भीर छ । किनकी सरकारमा सामेल हुने संभावना कम भएको पार्टी तथा त्यस्ता पार्टीका नेताहरूलाई आफ्ना प्रतिवद्धता कार्यान्वन नभए पनि जनताबाट उम्कन सहज हुन्छ । तर, नेपाली कांग्रेस र माओवादी केन्द्र भनेका आगामी आम निर्वाचनपछि पनि मुलुकको सत्ता संहाल्ने करिबकरिब सुनिश्चित भएका पार्टीहरू हुन् । अहिले गरिएका वाचा मंसिर ४ पछि कार्यान्वयन थालिएन भने जनताले कालो झण्डा देखाउँछन् ।
यथार्थमा भन्ने हो भने गोरखाका पालुङटारमा हवाई सेवा सञ्चालनका लागि विमानस्थल पिच गरेर मात्रै पुग्दैन । त्यसका लागि थुप्रै पर्यटकीय पूर्वाधारहरू निर्माण गर्नुपर्ने हुन्छ । जसका लागि कम्तिमा एक दशकको समय लाग्छ । डेडलधुरामा मेडिकल कलेज तथा सुदूरपश्चिम प्रदेशको राजधानी असम्भव कुरा हो । यसै गरी साविकको पोखरा विमानस्थललाई मासेर पार्क बनाउने रामचन्द्र पौडेलको घोषणा अत्यन्त मुर्ख दिमागको उपज हो । साविकको पूर्वाधार संरक्षण र संवर्धन गर्नुको सट्टा मास्ने घोषणा गर्नु अल्पवुद्धिको पराकाष्ठा हो ।
राज्यको ढुकुटी खर्च नगरी विकासका पूर्वाधार निर्माण संभव छैन । हामीकहाँ ढुकुटी अत्यन्त सीमित छ । सीमित बजेटले असीमित पूर्वाधारहरू निर्माण गर्नुपर्ने हुन्छ । पूर्वाधार निर्माण गर्दा प्रभावशाली तथा शीर्ष नेताहरूको निर्वाचन क्षेत्रले प्राथमिकता पाउने कि ? देशको दीर्घकालीन भविष्यले प्राथमिकता पाउने ? भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । गोरखा जिल्लाकै उदाहरण लिउँ । सात दिन पैदल यात्रा गरेर मात्रै पुगिने हिमालपारिको क्षेत्र सामागाउँको विमानस्थलले प्राथमिकता पाउने कि ? काठमाडौंबाट पाँच घण्टा, भरतपुरबाट डेढ घण्टा र पोखराबाट दुई घण्टामा पुगिने पालुङटार विमानस्थलले प्राथमिकता पाउने ? भन्ने हेक्का जुन पार्टीका अध्यक्षले राख्दैनन्, त्यो पार्टीलाई अन्य क्षेत्रका जनताले किन भोट दिने ? यदि डडेलधुरामा सुदूरपश्चिमको राजधानी तथा मेडिकल कलेज स्थापना गर्ने हो भने कैलालीका जनताले नेपाली कांग्रेसलाई किन भोट दिने ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । बोल्न पाइयो भन्दैमा प्याच्च नबोल्नु भन्ने उखान नै छ । त्यसमाथि पनि प्रचण्ड र देउवा भनेका अत्यन्त जिम्मेवार नेता हुन् । उनीहरूका लागि सिंगो नेपाल नै आफ्नो निर्वाचन क्षेत्र हो ।
प्रतिक्रिया