बाँके । बाँकेमा कुल १३८ मतदानस्थल छन् । तीमध्ये एक तिहाइ मतदानस्थल अतिसंवेदनशिल रहेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा तय भएकामध्ये १०८ मतदानस्थल अतिसंवेदनशिल रहेको जिल्ला निर्वाचन अधिकारी तथा कार्यालय प्रमुख रमा पन्तले बताइन् । उनका अनुसार बाँकेका आठ पालिकामा रहेका बहुसंख्यक मतदानस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशिल देखिएका छन् ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मतदानस्थललाई वर्गीकरण गरिएको उनको भनाइ छ । आठवटै पालिकामा रहेका मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको उनले बताइन् । बाँकेका १३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको हो ।
जसमा १०८ वटा मतदानस्थल अतिसंवेदनशील र ३० वटा संवेदनशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १३६ मतदान केन्द्र रहेकोमा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा १३८ मतदानस्थल बनाइएको प्रमुख पन्तले बताइन् ।
बाँकेमा तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन नजिकिँदै जाँदा बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
नेपालगन्ज
प्रतिक्रिया