आशन्न प्रदेशसभा तथा प्रतिनिधिसभा (आम निर्वाचन)को प्रचार प्रसारका क्रममा ठूलो रकम विदेसिएको छ । निर्वाचन आयोगले नै उमेद्वारहरुलाई डिजिटल प्रचार माध्यम अपनाउन प्रोत्साहित गरेका कारण नेपालबाट ठूलो परिमाणमा अमेरिकी डलर विदेसिएको हो । समान्यतया उमेद्वारी मनोनयन पत्र दाखिला भए लगत्तै प्रचार प्रसार सुरु हुने गरेको थियो , तर यस पटक निर्वाचन आयोगले मनोनयनपत्र दाखिला भएको २५ दिन पछि अर्थात कात्तिक १८ देखि मात्रै घर दैलो तथा ठूला आमसभा गर्न पाइने शर्त राखेपछि उमेद्वारहरुले चुनाव प्रचारका लागि बैकल्पिक माध्यम स्वरुप सामाजिक संजाल प्रयोग गरेका छन् । कार्यकर्ता नभएका साना पार्टी तथा स्वतन्त्र उमेद्वारहरुले यस अघि पनि सामाजिक संजालको प्रयोग गर्दै आएका थिए , तर यस पटक भने कार्यकर्ता धेरै भएका ठूला पार्टीका उमेद्वारले समेत अमेरिकी डलर खर्च गरी फेसबुक माफृत प्रचार अभियानलाई तिब्र बनाएका छन् । समाचारमा आए अनुसार असोज २ देखि ३१ गतेको अवधीसम्म प्रतिनिधिसभा र प्रदेश सभाका ८० उम्मेदवारले ११ हजार दुई सय ९५ अमेरिकी डलर चुनावी प्रचारका लागि फेसबुकलाई तिरिसकेका छन् । पछिल्ला दिनमा यो क्रम अभ, तिब्र बनेको छ । मतदानका दिनसम्म करोडौं अमेरिकी डलर विदेसिने अनुमान गरिएको छ ।
भित्तेलेखन, पोष्टर पाम्लेटिङ, तुुल , ब्यानर , माइकिङ, आमसभाका तुलनामा सामाजिक संजाल मार्फत चुनाव प्रचार प्रसार हुनु धेरै हदसम्म राम्रो कुरा हो । तर यसका लागि ठूलो परिमाणमा विदेशी मुद्रा खर्च हुनु राम्रो होइन , त्यो पनि स्वदेशमा जम्मा भएको परिवत्र्य मुद्रा अनुत्पादक रुपमा विदेश पुग्नु कुनै पनि हालतमा राम्रो होइन । बैदेसिक रोजगारीमा गएका गरिव नेपाली युवाले रगत र पसिना सँग साटेर ल्याएको डलर चुनाव प्रचारका नाममा विदेश पु¥याउनेहरुले चुनाव जिते भने पनि निश्चय नै राम्रो गर्दैनन् । अझ विडम्वना के छ भने यसरी चुनाव प्रचारका नाममा विदेशमा डलर बुझाउने अधिकांश उमेद्वार यस्ता छन् , जसले बैकल्पिक राजनीतिको नारा अघि सारेका छन् ।
‘वर्तमान ठूला दल तथा नेताहरु मुलुक चलाउन असफल भए , हामी चलाउँछौं’ भन्दै जो जो आएका छन् , उनीहरुले नै चुनाव प्रचारका नाममा डलर अपचलन गरेका छन् । उदाहरणका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार इन्जिनियर सुशान्त श्रेष्ठले पछिल्लो ३० दिनमा पाँच सय ७० डलर विदेश पु¥याएका छन् । नेपालका लागि नेपाली पार्टीका भोजपुर प्रतिनिधिसभा उम्मेदवार डा. सुरेश बस्नेतले चार सय ९८ डलर विदेश पु¥याएका छन् । जसपाबाट काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले चार सय ९४ डलर विदेश पु¥याएका छन् ।
चुनाव प्रचार प्रसारका नाममा विदेशमा डलर पु¥याउने विकृतिलाई तत्काल नियन्त्रण नगर्ने हो भने मुलुक श्रीलंका बन्ने खतरा छ । किनकी प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ मात्रै २ हजार भन्दा बढी उमेद्वार छन् । प्रतिनिधिसभा सदस्य पदका उमेद्वारका लागि प्रतिव्याक्ति २५ देखि ३३ लाख रुपैंया खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको छ । प्रदेशसभामा पनि ३ हजार भन्दा बढी उमेद्वार छन् । प्रदेशसभा सदस्य तर्फको उमेद्वारले १५ देखि २३ लाख रुपैंयासम्म खर्च गर्न पाउने सिमा निर्वाचन आयोगले तोकेको छ । यो सिमा भित्रकै रकम विदेसिएछ भने पनि नेपालमा डलरको संचिति रित्तिन्छ । एकातिर डलरको संचिति घटेको भन्दै बस्तु आयतमा कडाई गरिँदा रोजगारी घटेको छ , राजश्व, संकलनमा गिरावट आएको छ , अर्कातिर निर्वाचन आयोग स्वयंले विदेशमा डलर तिरेर चुनाव प्रचार प्रसार गर्न उमेद्वारहरुलाई प्रोत्साहन गरेको छ । स्वदेशका मिडियाहरुलाई आचार संहिता लगाएर चुनाव प्रचारका लागि नियन्त्रण गर्ने तर विदेशी मिडियामा खुरु खुरु प्रचार गर्न पाउने अवस्था प्रति निर्वाचन आयोग गम्भीर बन्नै पर्छ । प्रचार प्रसारका लागि स्वदेशी मिडिया नै प्रयोग गर्न सहज हुने वातावरण निर्वाचन आयोगले बनाउनु पर्छ । अखबार , रेडियो , टेलिभिजन , अनलाईन लगायतका मिडियाको संख्या नेपालमा उल्लेख्य छन् । नेपालमै भएका मिडियाहरुले मज्जाले धान्न सक्छन् ।
प्रतिक्रिया