फुटको राजनीतिले थलिएका मधेस केन्द्रित दल

प्रदेशको विकासभन्दा व्यक्तिगत स्वार्थ हावी

जनकपुरधाम । नेपालका नेता देशको विकासभन्दा पनि सत्ता र भत्ताको मोहमा बढी रमाएको विगतका थुप्रै उदाहरणबाट देख्न सकिन्छ । त्यसमाथि पनि मधेसका मुद्दा उठाएर अस्तित्वमा आएका दलका ‘सुप्रिमोहरू’ त झन आफूले जनतासामु गरेका प्रतिवद्धता भुलेर कुर्सीका लागि छिनाझपटी गर्न बढी सक्रिय देखिन्छन् ।

आफ्नो स्वार्थका लागि पार्टी नै फुटाउन पनि नहिक्चिाउने नेताहरूकै कारण यतिबेला मधेसमा मधेसी दल निकै कमजोर वनेका छन् । पछिल्लो समय मधेसवादी दलका शीर्ष नेताहरूलाई आफ्नो विजयी यात्रालाई कायम राख्न पनि धौधौ परेको अवस्था छ ।

एउटै पार्टीबाट दुई चिरामा विभाजित भएका जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई फरक गठबन्धनमा लागेर आमनेसामने उभिएका छन् ।
यसअघि ०७४ सालमा तालमेल गरेर प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लडेको तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरू अहिले एकअर्काको प्रतिद्वन्द्वी बनेका छन् । ०७७ साल वैशाख १० गते तत्कालीन समाजवादी पार्टी (सपा) र राजपा मिलेर जसपा बनेको थियो ।

त्यसको एक वर्ष नबित्दै उक्त दल विभाजित हुन पुग्यो । जसपा विभाजित भएपछि महन्त ठाकुर नेतृत्वको समूहले लोसपा बन्यो भने लोसपाबाट पनि वृषेशचन्द्र लालले विद्रोह गरी ठाकुर नेतृत्वको तत्कालीन तमलोपालाई पुनस्र्थापित गराए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा यी दुबै दल फरकफरक गठबन्धनमा आबद्ध भएर एकआसपमा भिड्दै छन् । पाँच दलीय गठबन्धनमा रहेको जसपा अहिले एमालेसँग गठबन्धन गर्न पुगेको छ भने एमालेसँग नजिक रहेको लोसपा सत्ता गठबन्धनसँग मिलेको छ । मधेस प्रदेशमा ३२ प्रतिनिधिसभा र ६४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । त्यसमध्ये जसपाले एमालेसँग प्रतिनिधिसभाको १८ सिट र प्रदेशसभाको ३२ सिटमा सहकार्य गरेको छ भने लोसपाले सत्ता गठबन्धनसँग प्रतिनिधिसभामा आठ सिटमा तालमेल गरेको छ । मधेस प्रदेशमा यी दुवै दलको बीचमा पाँच वटा सिटमा प्रतिस्पर्धा हुँदै छ ।

सप्तरी २ मा उपेन्द्र यादवले उम्मेद्वारी दिएका छन् भने लोसपाले त्यहाँ जेपी ठाकुरलाई उम्मेद्वार बनाएको छ । ०७४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरम र राजपाबीच तालमेल थियो । त्यतिबेला पनि जेपी ठाकुरले उपेन्द्र यादवका विरुद्ध उम्मेद्वारी दिएका थिए । त्यसपछि राजपाले ठाकुरलाई कारबाही पनि गरेको थियो । यसपटक लोसपाले नै उपेन्द्र यादवविरुद्ध ठाकुरलाई उम्मेद्वार बनाएको छ ।

महोत्तरी ३ मा लोसपाका अध्यक्ष महन्थ ठाकुरले सत्ता गठबन्धनबाट उम्मेद्वारी दिएका छन् । अध्यक्ष ठाकुरका विरुद्धमा जसपाले हरिनारायण यादवलाई उम्मेद्वार बनाएको छ । कुनै समय ठाकुरको दाहिने हात मानिने वृषेशलालले समेत उनका विरुद्ध उम्मेद्वारी दिएका छन् । लोसपामा उनी वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

साविकमा तमलोपा स्थापनादेखि नै साथ दिँदै आएका लालले पछिल्लो समय लोसपा त्यागेर आफ्नै नेतृत्वमा तमलोपा दर्ता गराएका छन् । सोही क्षेत्रबाट जसपाका महोत्तरीका प्रभावशली नेता हरिनारायण यादव र प्रदेशमा दिपेन्द्र झाले समेत उम्मेद्वारी दर्ता गराका छन् ।
ठाकुरविरुद्ध लाल र झाले उम्मेद्वारी दर्ता गराएपछि ठाकुरलाई असहज हुने स्थिति देखिएको छ । ०७४ सालको चुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि महन्थ ठाकुरलाई सघाएका थिए तर, यसपटक एकअर्काविरुद्ध उम्मेद्वारी दिन लगाएका छन् ।

सर्लाही १ मा जसपाबाट प्रमोद साहले उम्मेद्वारी दिएका छन् । साहको विरुद्धमा सत्ता गठबन्धनका रामप्रकाश चौधरीले उम्मेद्वारी दिएका छन् । बारा ३ मा जसपाका रामबाबु यादवले उम्मेद्वारी दिएका छन् भने त्यसको विरुद्धमा लोसपाका लालबाबु सिंह उम्मेद्वार बनेका छन् । सिंह कांग्रेसबाट जसपामा आएका हुन् । उनले ०७४ सालमा कांग्रेसको तर्फबाट चुनाव लडेका थिए ।
सिंह अन्तिम समयमा लोसपाबाट उम्मेद्वारी दिन तयार भएका हुन् । यसअघि जसपाका नेता प्रमोद गुप्ताले लोसपाबाट उम्मेद्वारी दिने घोषणा गरेका थिए तर, उनी अन्तिम समयमा उम्मेद्वारी दिन तयार भएनन् । त्यसपछि लोसपाले लालबाबु सिंहलाई उम्मेद्वारी दिन लगाएको हो । जसपाका रामबाबु यादवले यसअघि पनि त्यही क्षेत्रबाट चुनाव जितेका थिए ।

पर्सा १ मा सत्ता गठबन्धनको तर्फबाट लोसपाले कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलाई उम्मेद्वार बनाएको छ । सोही क्षेत्रमा जसपाले प्रदीप यादवलाई उम्मेद्वारी दिन लगाएको छ । लोसपाका नेता कर्णले यसअघि पर्सा–४ बाट चुनाव जितेका थिए । यसपटक सत्ता गठबन्धनमा सो क्षेत्र कांग्रेसको भागमा परेपछि कर्ण पर्सा–१ बाट चुनाव लड्न लागेका हुन् ।

जसपाका नेता एवं निवर्तमान वन तथा वातावरणमन्त्री प्रदीप यादवले ०७४ सालको चुनावमा पर्सा १ बाट जितेका थिए । जसपा–लोसपा अलगअलग भएर निर्वाचनमा होमिनु ठुलो विषय नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
राजनीतिक विश्लेषक तुलानारायण साह निर्वाचनमा मधेसवादी दलहरू अलगअलग भएर लड्नु ठुलो विषय नभएको तर्क गर्छन् । ‘आन्दोलनको राजनीति र निर्वाचनको राजनीति अलगअलग विषय हुन्, राजनीतिमा असुरक्षित हुनेले सुरक्षित स्थान खोज्नु जायज छ । नेताले जहाँ आफूलाई सुरक्षित महसुस गर्छन् त्यहीँ जान्छन्,’ उनी भन्छन्, ‘मधेसको आन्दोलनसँग कुनै लेनदेन छैन, यसलाई मधेस आन्दोलनसँग जोडन् पनि हुँदैन ।’

निर्वाचनको राजनीति गर्नेको एउटै मात्र लक्ष्य सत्ता प्राप्ती हुने गरेको साहको भनाइ छ । ‘मधेसवादी दलले जित्ने सीमित सिट मात्र हो, सीमित सिटले मधेसको मुद्दालाई सम्बोधन गर्न पनि सक्दैन । जब आन्दोलनको राजनीति हुन्छ, तब सम्भवतः सबै एकैठाउँमा आउने छन्’, उनी भन्छन् ।

आफ्नै पार्टीबाट टिकट नपाएपछि बागी बनेर उम्मेद्वारी दिने चलन जसपा–लोसपामा मात्र नभई अन्य दलमा पनि रहेको अर्का विश्लेषक चन्द्र किशोर बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय यो समान्य टे«न्ड बनिसकेको छ । पार्टीमा लगानी गरेका पुराना नेतासमेत टिकट पाउन नसकेपछि पार्टीविरुद्ध लाग्ने गरेका छन् । असुरक्षित हुनेले सुरक्षित स्थान खोज्नु ठुलो विषय होइन ।’

धनुषामा १० पूर्वमन्त्री प्रतिस्पर्धामा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चार वटै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ नेताहरूले उम्मेद्वारी दिएका छन । धनुषामा प्रतिनिधिसभाका लागि उम्मेद्वारी दिने नेताहरूमा १० जना पूर्वमन्त्री रहेका छन् ।

धनुषा १ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेद्वारी दिएका छन् । धनुषा २ मा तीन पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रबाट एमालेका उमाशंकर अरगरिया, पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उम्मेद्वारी दिएका छन । तीनै जना पूर्वमन्त्री हुन् ।

धनुषा ३ मा एमाले नेतृ जुलीकुमारी महतोले उम्मेद्वारी दिएकी छन भने सत्तारूढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झाले रौतहटबाट धनुषामा प्रवेस गरेका छन् । उनीहरू दुवै पूर्वमन्त्री हुन् । यसैगरी धनुषा ४ मा एमालेका सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।


धनुषा क्षेत्र १ मा पुरानै अनुहारबीच चुनावी प्रतिस्पर्धा हुनेछ । माओवादी केन्द्रबाट मातृकाप्रसाद यादव उम्मेद्वार छन् । जसपाबाट दीपक कार्कीको उम्मेद्वारी परेको छ । जनमत पार्टीबाट किशोरी साह कमल उम्मेद्वार छन् । मातृका यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । किशोरी पनि सोही क्षेत्रको प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचत प्रदेशसभा सांसद हुन् । जसपाको भागमा संघ र प्रदेश दुबै परेपछि उनी एमाले परित्याग गरी जनमत पार्टीबाट उम्मेद्वार बनेका छन् ।

दीपक यसअघि ०७४ सालको चुनावमा पनि प्रतिनिधिसभामा प्रतिस्पर्धाी थिए । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धनबाट उम्मेद्वार बनेका दीपकलाई ९ हजार १ सय २२ मत फराकिलो अन्तरले पराजित गर्दै मातृका विजयी भएका थिए । माओवादी केन्द्रबाट मातृकाले २६ हजार ४ सय १८ मत प्राप्त गरेका थिए । मातृका ०६४ सालको पहिलो संविधानसभामा पनि विजयी भएका थिए ।

यसपटक रोचक त के छ भने, यी दुबै पुराना प्रतिस्पर्धीको टसल फेरि फरक गठबन्धनबाट परेको छ । उतिबेला बाम गठबन्धन हुँदा मातृकालाई एमालेको साथ थियो भने अहिले एमालेको साथ दीपकलाई रहेको छ । त्यतिबेला तत्कालीन राजपा वर्तमानको लोसपाको साथ दीपकलाई थियो भने अहिले मातृकालाई छ । अहिले एमाले र जसपाको गठबन्धन छ भने लोसप सत्ता गठबन्धनमा आबद्ध छ ।


यतिबेला यस क्षेत्रमा कांग्रेस र लोसपाको साथले मातृका बलिया उम्मेद्वारको रूपमा देखिन्छन् । गत स्थानीय निर्वाचमा दलहरूका वडाध्यक्ष उम्मेद्वारहरूले पाएको मतको आधारमा यो भन्न सकिन्छ । गत स्थानीय चुनावमा धनुषा निर्वाचन १ मा पर्ने वडाध्यक्षका उम्मेद्वारहरूले पाएको मतको हिसाब गर्ने हो भने नेपाली कांग्रेस सबैभन्दा बलियो दल देखिन्छ । एमाले दोश्रो, माओवादी केन्द्र तेस्रो, जसपा चौथो र त्यसपछि अन्य दल छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले १७ हजार ५ सय ५०, एमालेले १५ हजार ८ सय १७, माओवादी केन्द्रले १२ हजार २ सय ९२ र जसपाले ९ हजार १० मत पाएका थिए । लोसपाले ६ हजार ६ सय २४, राप्रपाले ४ हजार ९ सय ३०, जनमत पार्टीले ३ हजार ३ सय २०, एकीकृत समाजवादी २ हजार ९ सय ३७ र स्वतन्त्रले ३ हजार ३ सय २४ मत पाएका थिए ।

सत्ता गठबन्धन दलका वडाध्यक्षले पाएको मत जोड्ने हो भने ३९ हजार ४ सय ३ मत पुग्छ । एमाले र जसपा गठबन्धनको मतमात्र २४ हजार पुग्छ । त्यसमा पनि एमालेबाट विद्रोह गरेका किशोरी साहले विद्रोह गरेका दिन पाँच हजारभन्दा बढी एमाले नेताकार्यकर्ता आफूसँग रहेको दावी गरेका थिए ।

कांग्रेससँग नौ वटा वडामा जसपाको गठबन्धन भएको थियो । चार वटा वडा जसपाको भागमा थियो । तर, कांग्रेसले अन्तरघात गरेकोले ती वडाहरूमा जसपाको मत नै काउन्ट नभएको दीपकको भनाइ छ । यो क्षेत्रमा सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनुषाधाम नगरपालिका पूर्णरूपमा पर्छ । हंसपुर नगरपालिकाको २, ३, ५, ७ र ८ वडा, मिथिला बिहारी नगरपालिकाको १, ३, ४ र ५ वडा, क्षिरेश्वरनाथ नगरपालिकाको ८ र ९ वडा तथा मिथिला नगरपालिकाको ४ नम्बर वडा पर्छन् ।
निवर्तमान प्रदेश सांसद र उक्त क्षेत्रका प्रभावशाली मानिएका एमाले नेता जनमत पार्टीबाट उम्मेद्वार भएपछि उनले एमालेको धेरै मत तान्ने कतिपयको बुझाइ छ । आफ्नो व्यक्तित्व, समाजमा लामो समयदेखि गरेको काम र सांसद हुँदा सदनमा देखाएको भूमिकाले जनता आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको किशोरीको तर्क छ ।
‘अब जनता विगतजस्तो झुक्किदैनन् । म एमालेमा छँदा एमालेको मतदाताभन्दा पनि धेरै मत मलाई परेको थियो ।

मेरो व्यक्तित्व र समाजमा गरेको निःस्वार्थ सेवाको कारणले हो,’ उनले भने, ‘तपाईंहरूलाई थाहा हुनुपर्ने हो म प्रदेशसभामा छँदा घर भाडा लिइन् । एमालेबाट प्रतिनिधित्व गर्दा जहिले पनि सदनमा पार्टीभन्दा माथि जनताको मुद्दा, विकासको लागि बोलेँ । चुनावमा गरेको प्रतिवद्धता अनुसार तलबभत्ता गरिब विपन्नको लागि खर्च गरे । संसदीय विकास कोषको सही रूपमा सदुपयोग गरेँ । यी कामहरू र अन्य उम्मेद्वार भन्दा फरक मेरो व्यक्तित्वले नै मलाई जनता अत्यधिक मतले जिताउनेमा म विश्वस्त छु ।’

अर्कोतिर, दीपक पनि आफू विगतम पनि यस क्षेत्रबाट चुनाव लडेको, एमालेको समेत आफूलाई साथ रहेको र लामो समयदेखि यस क्षेत्रका लागि निःस्वार्थ रूपमा काम गरेकाले जनताले यसपटक आफूलाई नै जिताउने दाबी गर्छन् ।

‘यो जिल्ला र क्षेत्रमा मैले लामो समय काम गरेको छु । अवश्य मेरो कामको मूल्यांकन गरेर जनताले मलाई जिताउनेछन्,’ उनले भने । पाँच दलीय गठबन्धनको उम्मेद्वार, पार्टीको बलियो पक्कड, पाँच वर्षमा गरेको विकासको कामका आधारमा मातृका यादवले जित्ने दाबी उनका सहयोगी माओवादी केन्द्रका धनुषा जिल्ला अध्यक्ष दीपक यादव गर्छन् ।

‘हेवी वेट’ नेताजस्तो प्रतिस्पर्धी नभएकाले गठबन्धनको सहयोगले जित निकाल्नेमा मातृका ढुक्क रहेको उनका निकटस्थहरू बताउँछन् । तर, माओवादीको जित यहाँका ठूला दल कांग्रेसको भूमिका र मतमा निर्भर पर्छ । अन्तरघात भए उनलाई चुनाव जित्न चुनौती हुने कतिपयको बुझाइ छ ।

तर, दुबै प्रदेशसभा क्षेत्रम कांग्रेसको उम्मेद्वार रहेकाले कांग्रेसले अन्तरघात नगर्ने माओवादी केन्द्रका नेता दीपक बताउँछन् । पाँच वर्षमा मातृकाले यो क्षेत्रमा चाहेजस्तो काम नगरेको भन्दै विपक्षीले त्यसलाई ठूलो अस्त्रको रूपमा प्रयोग गरिरहेका छन् । दीपक यादव र किशोरी पनि जनतमा भिजेका प्रभावशाली नेताको रूपमा चिनिन्छन् । जनमत पार्टीबाट किशोरी उम्मेद्वार भएपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना रहेको विश्लेषकहरूको बुझाइ छ ।

दुबै गठबन्धनमा दलहरूबीच भागबण्डा नमिल्दा धनुषा क्षेत्र २ को चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । कांग्रेसबाट रामकृष्ण यादव उम्मेद्वार छन् भने नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झाले उम्मेद्वारी दर्ता गराएका छन् । जसपाबाट गंगाराम यादवले उम्मेद्वारी दिएका छन् भने एमालेले निवर्तमान सांसद उमाशंकर अरगरियालाई उम्मेद्वार बनाएको छ ।

सत्ता गठबन्धनमा कांग्रेसले रामकृष्ण र एकीकृत समाजवादीले रामचन्द्रका लागि सो क्षेत्र नछाड्ने दावी गरेको थियो । अन्ततः सो क्षेत्र नेपाली कांग्रेसको भागमा र दुई प्रदेशसभा मध्ये (क) लोसपा र (ख) माओवादीको भागमा प¥यो । सोहीअनुसार उम्मेद्वारी पनि प¥यो । तर, एकीकृत समाजवादीका रामचन्द्रले पार्टीबाट छुट्टै उम्मेद्वारी दिए ।

रामकृष्ण अहिले पनि एकीकृत समाजवादी बाहेक सत्ता गठबन्धनकै उम्मेद्वार हुन् । उनलाई यो क्षेत्रमा माओवादी केन्द्र र लोसपाको साथ छ । रामचन्द्रले अन्य दलजस्तै गठबन्धनसँग प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य योगकुमार बरबरिया बताउँछन् । उनले कांग्रेस, माओवादी केन्द्र र लोसपाको गठबन्धन यस क्षेत्रमा कायमै रहेको बताए ।

रामचन्द्र र रामकृष्ण दुबैजना संविधानसभा सदस्य एवं पूर्वमन्त्रीसमेत हुन् । रामचन्द्र सो क्षेत्रका पुराना बाम नेता मानिन्छ । पाँच दलीय गठबन्धनमा जसपा हुँदा पनि सो क्षेत्रको दावी छाडेको थिएन । जसपाले सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्दा पनि सो क्षेत्रको विषयमा कुरा मिलेन । अन्ततः जसपा र एमालेले आआफ्नै उम्मेद्वार उठाएर मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरे ।
एमाले र जसपाबीच यो क्षेत्रमा तालमेल नमिल्नुको कारण रोचक छ । यस क्षेत्रका प्रत्यक्ष निर्वाचित लोसपाका निवर्तमान सांसद उमाशंकरलाई एमाले अध्यक्ष केपी शर्मा ओली टिकट दिने प्रतिवद्धतासहित गत असोज ८ गते पार्टीमा भित्राएका थिए । उमाशंकरको प्रवेशले आफूले टिकट नपाउने सम्भावना देखेपछि एमालेका पुराना नेता गंगाराम यादवले पार्टी छाडे । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले जसरी पनि टिकट दिने प्रतिवद्धतासहित पार्टीमा स्वागत गरे ।

यस कारण विपक्षी गठबन्धनमा पनि यो क्षेत्रमा तालमेल भएन । दुबैका उम्मेद्वार आमनेसामने बन्न पुगे । जसपाले यो क्षेत्र पहिलादेखि नछाड्नुको मूल कारण थियो, धनुषाको चार वटा क्षेत्रमध्ये २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमले प्रतिनिधिसभासहित दुबै प्रदेशसभा क्षेत्र जित्नु । यो क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरमबाट उमाशंकरले चुनाव जितेका थिए । अरगरियाले ठूलो मतान्तरले बाम गठबबन्धन घटक माओवादी केन्द्रका उम्मेद्वार रामचन्द्रलाई पराजित गर्दै जित निकालेका थिए । उनले ३२ हजार ४४ मत ल्याउँदा रामचन्द्र १८ हजार ७ सय १५ मतमा सीमित भएका थिए । तेस्रोमा कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४ सय ४२ मत पाएका थिए ।

जसपा विभाजनको संघारमा अरगरिया मन्त्री पदका लागि उपेन्द्रलाई छाडेर महन्थ ठाकुरको खेमामा लागे । पछि पार्टी विभाजन गरेर महन्थ ठाकुर नेतृत्वमा लोसपा बनेपछि उनलाई प्रमुख सचेतक बनाइयो । अगामी निर्वाचनमा लोसपाबाट जित्ने आधार नदेखेपछि चुनावको मुखमा गत असोज ८ गते उनी एमाले प्रवेश गरे । यो क्षेत्र चार दलका लागि प्रतिष्ठाको विषय बनेको छ ।
स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने दलगत हिसाबले यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । कमला नगरपालिका र हंसपुर नगरपालिका कांग्रेसले, विदेह नगरपालिका र औरही गाउँपालिका एमालेले, सहिदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिका जसपाले जितेको छ ।

कुल ४४ वडा पर्ने यो क्षेत्रको १९ वटा वडा एक्लै कांग्रेसले हात पारेको छ । कांग्रेसले कुल २१ हजार २ सय ३२ मत पाएको छ । जसपाले १३ हजार ८ सय ८९, एमालेले ११ हजार ५ सय ८३ र माओवादी केन्द्रले १० हजार ७ सय ९४ मत पाएका छन् । गठबन्धन र स्थानीय तहमा पाएको मतलाई आधारमा मान्ने हो भने रामकृष्ण अरूभन्दा शक्तिशाली उम्मेद्वारका रूपमा देखिन्छन् ।

एकीकृत समाजवादीका उम्मेद्वार रामचन्द्र भने स्थानीय तह निर्वाचनको परिणामले संसदीय निर्वाचनमा प्रभाव नपर्ने तर्क गर्छन् । जनताको समर्थन नै आफ्नो जितको प्रमुख आधार रहेको झा बताउँछन् । ‘अरू उम्मेद्वारभन्दा म निष्कलंक छु । यो क्षेत्रको विकास निर्माणमा मेरो ठूलो योगदान पनि छ । विकास निर्माणका धेरै काम गरेको छु’ उनी भन्छन् । ०६४ को पहिलो संविधानसभामा एमालेबाट जितेका झा निरन्तर दुई वटा निर्वाचनमा पराजित भएका थिए ।

यसैगरी एमालेका उम्मेद्वार उमाशंकर पाँच वर्षमा यस क्षेत्रमा आफूले गरेको काम नै आफ्नो जित्ने आधार भएको बताउँछन् । ‘४० वर्षसम्म नभएका काम मैले यो पाँच वर्षे कार्यकालमा गरेको छु । संसदीय बजेटबाट एक रुपैयाँ पनि कमिसन लिइन् । इमानदारीका साथ काम गरेको छु । भ्रष्टाचार विरुद्धको आन्दोलनबाट म आएको हो । यो क्षेत्रमा मेरो छुट्टै क्रेज छ,’ उनी भन्छन् ।

धनुषा क्षेत्र ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । यो क्षेत्रमा पाँच दलीय गठबन्धन घटक लोसपाबाट अनिल झा र विपक्षी गठबन्धन घटक एमालेबाट जुलीकुमारी महतोको उम्मेद्वारी परेको छ । दुबै जना निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइन् । यसअघि ०७० को दोश्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेस नेता बिमलेन्द्र निधिसँग पराजित भएकी थिइन् ।

यस क्षेत्रमा प्रत्यक्ष तर्फका सदाबहार कांग्रेसका उम्मेदबार निधि समानुपातिक पद्धति रोजेर सांसदका लागि सुरक्षित भइसकेका छन् । लोसपा नेता झा यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । धनुषा ३ मा बिगतमा जस्तो रोचक प्रतिस्पर्धा यसपटक नहुने चर्चा छ । ०७४ का दुई बलिया उम्मेद्वार लोसपाका बरिष्ठ नेता राजेन्द्र महतो र कांग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट ब्याक भएका छन् ।

तत्कालीन राजपाबाट महतोले निधिलाई २ हजार ९ सय ३ मतले पराजित गर्दै जित निकालेका थिए । महतो ३० हजार ७ सय ५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८ सय ४७ मतमा सीमित भएका थिए । फेरि पराजित हुने डरले निधि समानुपातिक पद्धतिमा गए भने महतोले विगतजस्तो मतदाताको धरातल नदेखेपछि यो क्षेत्र छाडेर गृह जिल्ला सर्लाही २ मा उम्मेद्वारी दिएका छन् ।
विगतको चुनावमा एमालेले आन्तरिक रूपमा राजेन्द्रलाई सहयोग गरेको थियो । त्यसमा मुख्य भूमिका एमाले नेता रघुवीर महासेठ र जुलीको थियो । जुली यो क्षेत्रमा एमालेबाट उम्मेद्वार भएपछि उनको गुण तिर्न महतो ब्याक भएको पनि चर्चा छ । जुलीसँग प्रतिस्पर्धा गर्न नचाहेपछि लोसपाबाट अनिल झा उम्मेद्वार बनेका छन् । झा २०७४ को निर्वाचनमा रौतहट २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

यसपटक पाँच दलीय भागबण्डामा सो क्षेत्र कांग्रेसको भागमा परेपछि धनुषा ३ उनको रोजाइमा परेको हो । धनुषा २ मा जुली र झाबीच प्रतिस्पर्धा हुने देखिएको छ । अन्य उम्मेदबार त्यति प्रभावशाली देखिँदैनन् । यो क्षेत्र झाको लागि नयाँ भएकोले जित निकाल्न भने चुनौती देखिन्छ । ०७४ को निर्वाचनजस्तो अहिले यो क्षेत्रमा मधेसवादीवादी दलका लागि बलियो जन आधार देखिँदैन । दुवै मधेस केन्द्रित दल जसपा र लोसपा दुई अलग गठबन्धनमा छन् । न त विगतजस्तो मधेस आन्दोलनको प्रभाव नै छ ।

धनुषा क्षेत्र ३ मा जनकपुरधाम उपमहानगरपालिकाको १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडा मध्ये १७ वटा, नगराइन नगरपालिकाको सबै नौ वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वडा, धनौजी गाउँपालिकाको सबै पाँच वडा र विदेह नगरपालिकाको एउटा वडा पर्छ ।

गत स्थानीय तहको नतिजाको अंकगणित हेर्ने हो भने भने यो कांग्रेसको बलियो आधार क्षेत्र देखिन्छ । दोस्रोमा एमाले छ । ३८ मध्ये आधा संख्या अर्थात १९ वटा वडा एक्लै कांग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले चार, लोसपाले तीन र नेकपा एकीकृत समाजवादीले एक वडा जितेका छन् । ३८ वटै वडाको वडाध्यक्ष पदमा पार्टीहरूले पाएको अंकगणित केलाउने हो भने प्रथम स्थानमा कांग्रेस नै देखिन्छ । उसको २२ हजार ४ सय २९ मत छ ।

दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले ८ हजार २ सय २४ र लोसपाले ८ हजार १ सय ६३ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले ३ हजार ७ सय १३ र माओवादी केन्द्रले ६ सय ५६ मत मात्र पाएको छ । उक्त मतको आधारमा सत्ता गठबन्धन बलियो देखिन्छ । दोस्रो स्थानमा विपक्षी गठबन्धन छ ।

गठबन्धनबाट लोसपाका उम्मेद्वार झाको जितको लागि कांग्रेससको मतले बढी महत्व राख्छ । तर, गत स्थानीय तहमा जनकपुरधाममा गठबन्धन हुँदा पनि कांग्रेसले इमानदारी निर्वाह नगरेको नजिर सबैको सामुन्ने छ । यो चुनावमा कांग्रेस मतको अन्तरघात हुने कुनै सम्भावना नरहेको कांग्रेसका नेता तथा मधेस सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको दावी छ ।

निधि र महतो ब्याक भएपछि जुलीको पल्ला भारी भएको आम चर्चा छ । आफ्नो लागि यो क्षेत्र जित्न खासै चुनौतीपूर्ण नहुनेमा जुली ढुक्क छन् । उनले आफ्नो लागि यो क्षेत्र जित्न अब सहज भएको बताउँछिन् । पछिल्लोपटक यो क्षेत्रमा एमालेको प्रभाव तथा संगठन निरन्त विस्तार भइरहेको छ । उम्मेद्वार झा लोसपाका नेता राजेन्द्र महतो पहिला यो क्षेत्रबाट जितेको कुरालाई आफ्नो पनि जितको पहिलो आधार रहेको दावी गर्छन् । ‘लोसपाले यसअघि यो क्षेत्रमा जितेको थियो । त्यसयता यहाँ विकासको महत्वपूर्ण कामहरू भएको छ । गठबन्धनको भारी मत पनि मेरो पक्षमा छ,’ उनी भन्छन् ।

सर्लाहीमा राजेन्द्र र महेन्द्रबीच टक्कर

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन दलकै महेन्द्र राय यादव र राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुनेछ । महतो लोसपा र यादव नेपाल समाजवादी पार्टीका नेता हुन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा महतो तत्कालीन राजपाबाट धनुषा–३ र यादव सर्लाही २ बाट निर्वाचित भएका थिए । महतोका लागि सर्लाही २ बाट चुनाव लड्नु नौलो होइन । उनले यो क्षेत्रबाट ०४८, ०५१ र ०५६ को संसदीय चुनाव लडेका थिए । तर, जित भने ०५६ मा मात्रै हासिल गरे । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने महतो सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।

यादवले भने सर्लाही २ बाट ०४८, ०५१, ०५६, ०६४ र ०७४ मा निरन्तर चुनाव जितेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यादव २९ हजार १ सय ९१ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेला नेपाली कांग्रेसका जंगीलाल यादव १८ हजार ९ सय ७६ मत ल्याएर दोस्रो भएका थिए । यसपटक जंगीलाल माओवादी केन्द्रको हँसिया हथौडा चिन्हबाट चुनावी मैदानमा छन् ।

सिरहामा राजकिशोर र चित्रलेखा

मधेस प्रदेशकै अर्को जिल्ला सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र जसपाका नेता राजकिशोर यादव प्रतिस्र्धामा छन् । चित्रलेखा सत्ता गठबन्धनकी साझा उम्मेद्वार हुन् । राजकिशोर जसपा–एमाले गठबन्धनका साझा उम्मेद्वार हुन् । चित्रलेखा साबिकको क्षेत्र नम्बर २ बाट ०५६ सालमा निर्वाचित भएकी थिइन् । राजकिशोर भने ०६४ मा क्षेत्र नम्बर ६ र ०७४ सालमा क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका थिए ।

पर्सामा कर्ण र यादवबीच प्रतिस्पर्धा

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा र लोसपाका उम्मेद्वारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट लोसपाका नेता लक्ष्मणलाल कर्ण र विपक्षी गठबन्धनबाट जसपाका नेता प्रदीप यादवबीच प्रतिस्र्धा हुने देखिएकको छ । यो क्षेत्रमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति अजयकुमार द्विवेदीले बागी उम्मेद्वारी दिएका छन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा १ बाट २१ हजार १ सय ३२ मत ल्याएर प्रदीप निर्वाचित भएका थिए । त्यसबेला उनी संसफो र राजपा गठबन्धनबाट चुनाव लडेका थिए ।

पति–पत्नी र दाजु–भाइ उम्मेद्वार

प्रदेश र प्रतिनिधिसभाको चुनावमा मधेस प्रदेशमा पति–पत्नी र दाजु–भाईले प्रत्यक्षमा उम्मेद्वारी दिएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट एमालेको टिकटमा जुली महतो र ४ बाट एमालेकै टिकटमा रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका छन् ।

क्षेत्र नम्बर ४ बाट महतोका पति रघुवीर महासेठ उम्मेद्वार छन् । त्यहाँ उनलाई जसपाले सहयोग गरेको छैन् । जसपाले महाजन यादवलाई उनको विरुद्ध उम्मेद्वार उठाएको छ । तर क्षेत्र नम्बर ३ मा जसपाले महतोलाई सघाउन उम्मेद्वार उठाएको छैन् । जसपा र एमालेबीच चुनावी तालमेल भए पनि धनुषाको १ र ३ मा मात्र तालमेल रहेको छ । पति–पत्नी नै उम्मेद्वारी दिनुको कारणबारे जानकारी लिन पटकपटक प्रयास गरे पनि दुबै जना सम्पर्कमा आउन चाहेनन् ।

यसैगरी सप्तरीमा जनमत पार्टीका अध्यक्ष सीके राउतले क्षेत्र नम्बर २ बाट र उनका भाइ जयकान्त राउत (जेके राउत) ले क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका छन् । पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावमा सहभागी भएको जनमत पार्टीमा पारिवारिक सदस्यहरूले प्राथमिकता पाएपछि आलोचना पनि सुरु भएको छ ।


दुबै जनाले पिएचडी गरेका छन् । प्रदेशसभातर्फ धनुषाको क्षेत्र नम्बर २ को ‘क’ बाट शैलेन्द्र यादव र क्षेत्र नम्बर ३ को ‘क’बाट उनका भाइ जितेन्द्र यादव उम्मेद्वार बनेका छन् । दुबै दाजु–भाइले जसपाबाट टिकट पाएका हुन् । शैलेन्द्र गत चुनावमा निर्वाचित भएर पाँच वर्ष जसपाको प्रमुख सचेतक थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेको बेला जितेन्द्र उनका स्वकीय सचिव थिए ।

त्यसपछि उनी मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव रहेका थिए । चुनावमा टिकट पाएपछि मात्र उनले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री राउतको कार्यालयमा आर्थिक अनियमितता गर्ने आरोप यादवमाथि पनि लागेको छ । कर्मचारी सरुवा, भर्ना लगायतमा आर्थिक चलखेल गरेको आरोप उनीमाथि छ ।

क्षमतावान भएका कारण दुबै दाजुभाइले टिकट पाएको जितेन्द्र यादवले बताए । ‘आर्थिक अनियमितता लगायतका अफवाह विपक्षीहरूले फैलाएको हो,’ उनले भने, ‘हामीले इमानदारीपूर्वक जनसेवा गरेकाले पार्टीले विश्वास गरी टिकट दिएको हो ।’ परिवारवादको विरोध गर्नेहरूले नै पारिवारिक सदस्यलाई चुनावमा प्राथमिकता दिएको आरोप विपक्षीहरूले लगाउन थालेका छन् ।

आफैँलाई मत दिनबाट वञ्चित उम्मेद्वार

पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी १२ पदका लागि १ सय ४४ जनाको उम्मेद्वारी परेको छ । जिल्लामा चार वटा प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको छ । तर, पर्साका आधा दर्जनभन्दा उम्मेद्वारले आफँैलाई भोट हाल्न नपाउने भएका छन् ।
सत्तागठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा उम्मेद्वारी दिएका लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैँलाई भोट हाल्न नपाउने भएका छन् । उनी क्षेत्र नम्बर ४ मा पर्ने जगरनाथपुर गाउँपालिका–२ जानकी टोलाका मतदाता हुन् ।

पर्सा क्षेत्र नम्बर १(ख) मै सत्तागठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका कांग्रेसका रामनारायण कुर्मी पनि आफँैलाई मत दिनबाट वञ्चित भएका छन् । उनी क्षेत्र नम्बर १ (क) मा पर्ने वीरगञ्ज महानगरपालिका–१४ पिपराका बासिन्दा हुन् ।

सत्ता गठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर २ (क) मा उम्मेद्वारी दिएका कांग्रेसकै उम्मेद्वार श्याम पटेलले पनि आफैँलाई मत हाल्न पाउने छैनन् । पटेलको घर क्षेत्र नम्बर २ (ख) मा पर्ने बहुदरमाई नगरपालिका–२ ध्यानसिंह पिपरामा छ ।

सत्ता गठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर ३ (क) मा उम्मेद्वारी दिएका माओवादी केन्द्रका छोटेलाल यादवले पनि आफूलाई भोट हाल्न पाउँदैनन् । उनी क्षेत्र नम्बर ३ (ख) मा पर्ने बिन्दबासिनी गाउँपालिका–५ हासवाका मतदाता हुन् ।

क्षेत्र नम्बर ३ (ख) मा उम्मेद्वारी दिएका कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रहलाल गिरिले पनि आफूलाई भोट हाल्ने छैनन् । क्षेत्री क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका–६ का र गिरि वडा–५ का स्थायी बासिन्दा हुन् ।

सत्ता गठबन्धनकै तर्फबाट क्षेत्र नम्बर ४ (ख) मा उम्मेद्वारी दिएकी माओवादी केन्द्रकी चाँदतारा कुमारी क्षेत्र नम्बर १ (ख) मा पर्ने वीरगञ्ज महानगरपालिका–४ की वासिन्दा हुन् । उनले पनि आफैँलाई मत दिन पाउने छैनन् ।

उम्मेद्वार बन्न दल बदल्ने प्रवृत्ति

प्रतिनिधिसभामा मधेस प्रदेशबाट प्रतिनिधित्व गरिरहेका दलमध्ये सशक्त दल हो, लोसपा । लोसपाका शीर्ष नेताहरूले आफ्नो मात्र भविष्यलाई केन्द्रमा राखेर चुनावी गठबन्धनका लागि अग्रसर भएपछि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टी त्यागे र एमालेमा गए । अरगरियालाई पार्टीमा ल्याउँदा आफ्नो सिट गुमेको भन्दै एमालेका दिग्गज नेता गंगाराम यादव भने एमाले त्यागेर जसपामा गए । त्यसैले अन्यत्र एमाले र जसपाबीच चुनावी गठबन्धन भए पनि धनुषाको २ नम्बरमा यी दुई दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने भनिएको छ । दुवै दलले आआफ्नै उम्मेद्वार उठाएका छन् ।

आन्दोलनको जगमा बनेको पार्टी मधेसी जनअधिकार फोरम निर्माण अभियानकै सदस्यको रूपमा रहेका धनुषाका शेषनारायण यादवले जसपा परित्याग गरेलगत्तै कांग्रेसबाट उम्मेद्वारी दर्ता गराए । कांग्रेस सहमहामन्त्री महेन्द्र यादव प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेको धनुषा ४ मा उनले ४ को १ बाट प्रदेश सांसदमा उम्मेद्वारी दिएका हुन् । जसपाका पुर्व मन्त्री ज्ञानेन्द्र यादवविरुद्ध शेषनारायणको उम्मेद्वारी दिएका छन् । उक्त क्षेत्रमा भर्खरै कांग्रेस परित्याग गरेका सन्तोष यादव एमालेबाट उम्मेद्वार भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेसका नेता अमरेशकुमार सिंहले विद्रोह गरेका छन् । उनले पार्टीका आधिकारिक उम्मेद्वार नागेन्द्र यादवविरुद्ध स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । आफूले टिकट नपाएपछि उम्मेद्वारी दर्ता भइरहेको बेला मधेस संसद्का एमाले प्रमुख सचेतक किशोरी साह पनि दल बदल्ने निर्णयमा पुगे । उनले एमाले त्यागेर जनमतबाट उम्मेद्वारी दर्ता गराएका छन् । गाउँमा एमालेको संगठन निर्माण कार्यको अगुवाइ गर्न किशोरीको महत्वपूर्ण भूमिका छ ।

‘एमालेको सिद्धान्तविरुद्ध हिँड्ने त के बोल्ने बारेमा पनि सोचेको थिइनँ । तर, गठबन्धनको प्रभावले दल नै बदल्नुपर्ने अवस्था ल्याइदियो,’ उनी भन्छन्, ‘विचार त हो तर, कागजमै सिमित भएपछि विकल्प रोज्न बाध्य हुनुप¥यो ।’ अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लड्दा किशोरीले मातृका यादवको प्यानलबाट प्रदेशसभा सदस्यमा जितेका थिए । यतिबेला मातृका यादवसँगै प्रतिस्पर्धामा उत्रिएका थिए ।

महोत्तरी सदरमुकाम रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेका रामआधार कापरले आइतबार नै एमाले त्याग गरी स्वतन्त्र उम्मेद्वारी दर्ता गराए । पछिल्लो स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिका प्रमुखमा एमालेबाटै चुनाव लडेका कापर त्यहाँ पराजित भएका थिए ।

एमालेले गठबन्धनको नाउँमा जसपालाई टिकट दिएको भन्दै उनले स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका हुन् । त्यसो त जसपा परित्याग गरी एमालेको टिकटमा उम्मेद्वारी दर्ता गराउने पनि छन् । शनिबार साँझसम्म जसपाका नेता रहेका महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ का लक्ष्मीनारायण महतोले मध्यराति एमाले प्रवेश गरी लोसपाका शरतसिंह भण्डारीविरुद्ध प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया