एक सातादेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानमा परेर देशभरि करिब सय जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । पशु चौपाय तथा बालीनालीको क्षतिबारे कुनै लेखाजोखा नै छैन । सडक अवरुद्ध भएका कारण उद्धार तथा रहातमा समेत कठिनाइ देखिएको छ । सोमबारसम्म पनि बाढी आउने तथा पहिरो जाने क्रम जारी रहेका कारण जनधनको क्षतिको एकिन तथ्यांक आउन सकिरहेको छैन । बडादसैँ मनाउनका लागि आफ्नो थातथलो तथा आफन्तकहाँ जाने तथा आउनेहरू सडकमै बिचल्लीमा परेका छन् । मौसमको गडबडीका कारण हवाई सेवासमेत पूर्ण रूपमा सूचारु हुन सकेको छैन । सडकमा गुडिरहेका सवारी साधनहरू पहिरोले पुरिएका घटनाहरू समेत उल्लेख्य छन् । पहिरोले पुरै गाउँ बगाएका कारण क्षतिको विवरण प्राप्त गर्न कठिनाइ भएको नेपाल प्रहरीले जनाएको छ । खास गरी राजधानी काठमाडौंभन्दा पश्चिम तर्फका सबै जिल्लाहरू नराम्रोसँग प्रभावित भएका छन् । त्यसमध्ये पनि दुर्गम कर्णाली प्रदेश बाढी पहिरोको चपेटामा परेको छ ।
पहाडी क्षेत्रमा पहिरो, बेँसी क्षेत्रमा नदी कटान तथा तराई क्षेत्रमा डुबानको समस्या नेपालले हरेक वर्ष झेल्दै आएको छ । जब वर्षा सिजन सुरु हुन्छ तब यस्ता प्राकृतिक प्रकोपका घटना नभएका कुनै दिन हुँदैनन् । मनसुनी वर्षा उच्च तहमा पुगेका बेला यस्ता प्रकोपलाई स्वभाविक मानिएको छ ।
उच्च सतर्कता अपनाउन नसकेकै कारण मनसुनका बेला यस्ता प्रकोपको सामना गर्नुपरेको हो । तर यसपटक भने मनसुन सकिएको करिब एक महिनापछि भएको भारी अविरल वर्षाले ठूलो क्षति पु¥याएको हो । यो मौसममा यस्तो भारी वर्षा हुन्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । मौसम विज्ञान विभागले सतर्कता अपनाउन भनेको थियो, तर सर्वसाधारणले यसलाई गम्भीरतापूर्वक लिन सकेनन् । बडादसैँका बेला यस्तो भीषण वर्षा होला भन्ने धेरैले सोचेको देखिएन । कोरोनाका कारण विगत दुई वटा दसैँ मनाउन नपाएकोले पनि यसपटक धेरै मानिसहरू दसैँ मनाउन आफ्नो थातथलो गएका थिए । तर हर्षोल्लासका साथ दसैँ मनाउने अपेक्षा घनघोर पीडामा परिणत हुन पुग्यो । यतिबेला गाउँका गाउँ शोकमग्न छन् ।
आफ्ना नगरिकप्रतिको जिम्मेवारी निर्वाह गर्न सरकारसमेत चुकेको देखियो । वर्षातको समयमा बिग्रेका सडकहरू दसैँको पूर्वसन्ध्यामा मर्मत गर्ने पुरानो प्रचलन हो । यसका लागि यातायात व्यवसायीहरूले सरकारलाई घचघच्याएका पनि थिए । तर धरापजस्तै बनेका कच्ची सडकहरू मर्मत गरिएन । जसका कारण वर्षा हुनासाथ ती सडकहरू झन् धराप बने । यसैगरी बडादसैँको अष्टमीदेखि एकादशीको दिनसम्म अविरल वर्षा हुने प्रक्षेपण मौसम विज्ञान विभागले गर्दागर्दै पनि नागरिकहरूलाई सचेत गराउने भूमिका निर्वाह गर्न सरकार चुक्यो । साथै राहत तथा उद्धारका लागि ठाउ“ठाउ“मा विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता सरकारले ठानेन । डोजरले पा“च मिनेटमा पन्छाउन सकिने सामान्य पहिरोले समेत आठ घण्टासम्म राष्ट्रिय राजमार्गहरू अवरुद्ध बनेको समाचार आए ।
बिस्तारका क्रममा रहेको पृथ्वीराजमार्गको आँबु खैरेनी–पोखरा खण्ड तथा महेन्द्र राजमार्गको गैंडाकोट–बुटबल खण्डले पनि यात्रुलाई निकै सास्ती दियो । मर्मतको कामलाई दसैँको बेला कसरी व्यवस्थापन गर्ने ? भन्ने सोच सरकारमा देखिएन । यसै गरी यसपटकको बाढीपहिरोको प्रकोपप्रति सरकार उदासिन देखिनुको मुख्य कारण चाडवाडको समय पनि हो ।
मिडियाकर्मीसमेत बडादसैँ मनाउन व्यस्त भएका कारण समाचार प्रवाह हुन सकेन । जे जति समाचार प्रवाह भए त्यो पनि पाठक, दर्शक तथा स्रोताकहाँ पुग्न सकेन । सबै व्यस्त भए । उद्धार तथा राहतका लागि सरकारलाई दबाब दिने कोही भएन । जिम्मेवार राजनीतिकर्मीहरू उम्मेदवार बन्ने र बनाउने लबिङमा मात्रै केन्द्रित भए । जनताप्रतिको मूल जिम्मेवारी उनीहरूले बिर्से । कर्मचारी संयन्त्र स्वचालित ढंगले परिचालन हुन सकेन । गत वर्षको कात्तिकमा पनि यस्तै बेमौसमी वर्षाले ठूलो धनजनको क्षति गरेको थियो । त्यतिबेलाका पीडितले अझै राहत पाउन सकिरहेका छैनन् । त्यसैले यसपटकका पिडितलाई राहतको माग गर्नु घोक्रो सुकाउनु मात्रै हो भन्ने सन्देश प्रवाह भएको छ ।
प्रतिक्रिया