होटेलको कोठामा गर्भपतन !

विराटनगर, ४ चैत । विराटनगरका होटेलमा यौन क्रियाकलापमात्र होइन, अवैध गर्भपतन पनि हुने गरेको खुलासा भएको छ । शनिबार होटेलमा यौन क्रियाकलाप हुने आशङ्कामा छापा मार्न हिँडेको प्रहरीले गर्भपतन गराउने स्वास्थ्यकर्मी र महिलालाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।
प्रहरीले दादरबैरिया स्वास्थ्यचौकीका अहेव पुरन साह र कोसी अञ्चल अस्पतालकी नर्स पुनमलाई होटेलमा गर्भपतन गराउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरू दम्पती हुन् ।
विराटनगर–१४ कलेज रोडस्थित होटेल प्याराडाइजको कोठा नम्बर १०२ मा साह दम्पतीले मोरङ पथरीमा बस्दैआएकी ३५ वर्षीया महिलाको गर्भपतन गराउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । पति वैदेशिक रोजगारी गएका ती महिलाको पति बनेर आएका एक पुरुष भने प्रहरीले होटेलमा छापा मारेपछि फरार भएका थिए ।
‘मलाई त अस्पतालमै गर्भपतन गराउने भनेका थिए, होटेल पो रहेछ’, गर्भपतन गराउन आएकी महिलाले भनिन्, ‘पाँच हजार रुपियाँ तिरेपछि उनीहरूले मलाई अस्पताल भनेर यहाँ ल्याएका हुन् ।’
प्रहरीले होटेलको कोठा उपलब्ध गराउन सघाएको आरोपमा होटेलका कामदार राजकुमार सिंहलाई पनि नियन्त्रणमा लिएको छ । साह दम्पतीले सिंहलाई फोन गरेर कोठा बुक गरेका थिए । प्रहरी नियन्त्रणमै अहेव साहले आफूले गर्भपतन गराउने तालिम लिएको बताए ।
मोरङका डिएसपी उमाप्रसाद चौधरीले विराटनगरमा अवैध गर्भपतन गराउने काममा गिरोह नै संलग्न रहेको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको बताए । मोरङमा नेपाल परिवार नियोजन सङ्घ, कोसी अञ्चल अस्पताल र मेरी स्टोप्स सेन्टरले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् ।
कानुनमा महिलालाई करकापमा पारेर गर्भपतन गराएमा तीन वर्षसम्मको कारावासको सजाय तोकिएको छ ।

प्रतिबन्ध लगाइएका औषधि वितरण

क्रान्ति शाह

वीरगन्ज, ४ चैत । जिल्ला जन स्वास्थ्य कार्यालयले स्वास्थ्य विभागले वितरण नगर्न भनेको आइरन चक्की वितरण गरेको छ । कार्यालयका प्रमुख इन्द्रप्रसाद यादव, लेखापाल अर्जुन हमाल र स्टोरकिपर राजेश्वर साहले भारतीय कम्पनी स्टाइलिन ब्रान्डको आइरन चक्की स्वास्थ्य चौकीमा पठाएका हुन् ।
साउन र कात्तिक महिनामा स्वास्थ्य संस्थामा निःशुल्क बाँड्न पठाइएका चक्कीमा ढुसी परेको फेला परेपछि स्वास्थ्य विभागको आपूर्ति महाशाखाले जनस्वास्थ्यलाई वितरण नगर्न परिपत्र गरेको थियो । तर, कार्यालयले पुनः त्यही कम्पनीको दुई लाख ४० हजार चक्की खरिद गरेर बाँड्न पठाएपछि पर्साका स्वास्थ्य चौकीमा ढुसी परेका आइरन चक्की वितरण भइरहेको छ । ग्रामीण भेगका स्वास्थ्य चौकीमा भने ढुसी परेका आइरन पनि नभएका कारण सुत्केरी र गर्भवती महिलाले चक्की पाएका छैनन् ।
‘ढुसी परेका प्याकेटमा सद्दे चक्की खोजेर वितरण गरेका छौँ,’ पर्सा सेढवा हेल्थपोस्टका इन्चार्ज रामबहादुर चौधरीले भने, ‘सात महिनायता चौकीमा आइरन चक्की पनि आएको छैन ।’
जनस्वास्थ्यका लेखापाल अर्जुन हमालका अनुसार प्रतिचक्की ८० पैसाका दरले एक लाख ९२ हजार रुपियाँबराबरको चक्की खरिद भएको हो । विभागले नबाँड्नु भनेको आइरन चक्की बाँडेको विषयमा जनस्वास्थ्य प्रमुख इन्द्रप्रसाद यादवले कम्पनी उही भए पनि ब्याच नम्बर फरक पारेर चक्की खरिद गरेको दाबी गरे । उही कम्पनीबाट खरिद भएकाले पर्साका स्थानीय स्वास्थ्य चौकीमा वितरित आइरन चक्की ढुसी परेको पाइएको हो ।
ढुसी परेकै भए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले सात महिनायता आइरन चक्की गाउँमा पठाउन सकेको छैन । ठोरी हेल्थपोस्ट इन्चार्ज शशिकान्त सिंह भन्छन्, ‘जनस्वास्थ्य कार्यालयले आइरन चक्की नपठाएकाले गर्भवती र सुत्केरी महिलालाई बजारबाट किनेर खान सल्लाह दिन थालेका छौँ ।’
सरकारले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क रूपमा आइरन चक्की उपलब्ध गराउँदै आए पनि पर्सामा आइरन चक्की उपलब्ध छैन । झन्डै सात महिनादेखि अभाव देखिएको छ तर जिल्ला जनस्वास्थ्य कार्यालयले भने सबै स्वास्थ्य संस्थामा आइरन चक्की नियमित पठाइरहेको दाबी गरेको छ । ‘तीनतीन महिनामा स्वास्थ्य संस्थामा आइरन चक्की पठाउने गरिएको छ,’ जनस्वास्थ्य प्रमुख इन्द्रप्रसाद यादवले भने ।
कार्यालयका स्टोर शाखाको रेकर्डमा गत साउनमा दुई लाख ९४ हजार पाँच सय र कात्तिकमा एक लाख ४६ हजार थान आइरन चक्की स्वास्थ्य संस्थामा पठाइएको उल्लेख छ । तर, स्वास्थ्य संस्थामा आइरन चक्की नपुगेको स्थानीय चौकीका इन्चार्जले बताएका छन् । चिकित्सकका अनुसार शरीरमा रगतको अभाव हुन नदिन गर्भवती र सुत्केरी महिलालाई सो अवधिमा दुई सय २५ आइरन चक्की चाहिन्छ । सरकारले स्थानीय स्वास्थ्य चौकीबाट यो सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया