सर्लाही । सर्लाहीमा दुई पत्रकारमाथि निर्घात कुटपिट भएको छ । बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको हो ।
नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई नगरपालिकामा बोलाएर मेयर भरतकुमार थापाका सहोदर भाइ रामकुमार थापासहितको टिमले निर्घात रुपमा कुटपिट गरेका हुन् । मेयरका भाइ थापासहितले पत्रकारद्वय अधिकारी र भट्टमाथि हेलमेटले आक्रमणसमेत गरेका थिए ।
यसअघि अनलाइनपानाले नगरपालिकाले कानूनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो ।
मेयरले अन्तरवार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि आफूहरू नगरपालिकामा पुगेका बेला आक्रमण भएको पीडित पत्रकार अधिकारीले बताए । तर, मेयर थापाकै संलग्नतामा आफूहरूमाथि आक्रमण भएको पीडित पत्रकारको आशंका छ ।
अनलाइनपानाले यसअघि ‘भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, सर्लाहीको बागमतीमा बनेको भरतताल कानूनविपरीत, बागमतीका मेयर थापासहित १५ जनाविरुद्ध हत्या आरोप, कहाँ पुग्यो अनुसन्धान ? र बागमती नगरको अवैध धन्दा सागरनाथ वनको जग्गामा मेयरको रजाइँ’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।
यसअघि पनि मेयर थापाका भाइ रामकुमारले पत्रकारद्वयलाई पटक–पटक ज्यानमा मार्ने धम्की दिएका थिए । यसै विषयको समाचार लेखेको हिमाल पोस्टका सम्पादक मोती खानाललाईसमेत ज्यान मार्ने धम्की दिएका थिए । मेयर थापामाथि विप्लव नेकपाका कुमार पौडेल हत्यामा सुराकी गरेको आरोप लागेको छ ।– न्युज कारखाना
प्रतिक्रिया