नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछाने माथि यतिबेला जघन्य अपराधको आरोप लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १७ वर्षकी एक किशोरीले लामिछानेबाट आँफु बलात्कृत भएको भन्दै उजुरी हालेकी छिन् । यो उजुरी सार्वजनिक भए लगत्तै लामिछानेलाई नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको क्याप्टेन पदबाट निलम्वन गरेको छ । क्रिकेट खेलका लागि यही भदौ ६ गते केन्या गएका लामिछाने यो अभियोग दर्ज भए सँगै स्वदेश फर्कने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ । यो आरोपलाई लामिछानेले स्वीकारेका छैनन् , तर नेपाल प्रहरीले भने किशोरीले उजुरीमा उल्लेख गरेको बेहोरा अनुसार प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले होटलमा एक रात विताएको प्रमाण फेला परेको जनाएको छ । २२ वर्षको युवा र १७ वर्षकी किशोरी दिनभरी विभिन्न ठाउँमा घुमेर एक रात होटलको एउटै कोठामा सुतेका हुन् भने करणी लेनदेन हुने संभावनालाई नकार्न सकिन्न ।
अर्को कुरा किशोरी स्वयंले करणी भएको स्वीकार गरिसकेकी छिन् । यस्तो मामिलामा महिलाहरुले झुठो बोल्दैनन् भन्ने हाम्रो समाजिक तथा कानूनी मान्यता छ । तर करणी एक तर्फी रुपमा मात्रै भएको हो वा लेनदेन भएको हो ? भन्ने प्रश्नले यतिबेला बहस सिर्जना गराएको छ । यदी करणी भएको हो भने सहमतिमै भएको हो भन्ने अनुमान धेरैको छ । समान्यतया सहमतिमा भएको करणी लेनदेनलाई बलत्कार मानिन्न । तर २०७५ साल भदौ देखि कार्यान्वयनमा आएको कानुनले भने १८ वर्ष भन्दा मुनीका किशोरी सँग सहमतिमै करणी लेनदेन भए पनि त्यसलाई बलत्कार मानिने व्यवस्था गरेको छ ।
कानुनको यही व्यवस्था अनुसार केही दिन अघि मात्रै यस्तै मुद्धामा अदालतले सिने नायक पल शाहलाई दोषि ठहर गर्दै साँढे २ वर्षको जेल सजयाँ र १० लाख रुपैंया क्षति पूर्ति भराउने फैसला गरेको छ ।
कानुनतः अपराध कर्ममा सामेल भएको व्याक्तिले सहानुभूति पाउँदैन । यस्ता व्याक्तिलाई हदैसम्मको सजयाँ होस् भन्ने समाजले चाहेको हुन्छ । तर पल शाह र सन्दीप लामिछानेको हकमा धेरैको सहानुभुति देखिएको छ । उजुरीकर्ता किशोरीहरुको समेत दोष भएको टिप्पणी गर्ने धेरै छन् । आफ्नो यौन चाहना तुष्टिका लागि किशोरीहरुले नै यस्तो काममा अभिप्रेरित गरेका हुन् वा होइनन् ? भन्ने विषयमा समेत छानविन हुनु पर्ने आवज उठेको छ । तर नेपालको कानुन अनुसार १८ वर्ष उमेर नपुगेका किशोरीहरु नाबालिग हुन्छन् । के उचित के अनुचित भन्ने कुरा नाबालिगले सोच्न सक्दैनन् , नाबालिगहरु अन्य प्रलोभनमा फँस्ने संभावना बढी हुन्छ । अझ कानुनले त बिबाहको न्युनतम उमेर केटा केटी दुबैको २० वर्ष निर्धारण गरेको छ ।
कानुन भनेको कार्यान्वनका लागि हो । देशका सबै नागरिक माथि समान रुपले कानुन लागु हुन्छ । तर बिबाहको न्युनतम उमेर हदसम्वन्धी कानून कार्यान्वयन गर्न राज्यले सकिरहेको छैन । यस्तो बिवाह दर्ता नगर्ने बाहेक राज्यका तर्फबाट अरु प्रयत्न भएको छैन । कारबाहीको त परै जाओस् , छोरा छोरीको जन्मदर्ता र बाबुआमाको जन्म दर्ता एकै चोटी हुन थालेको समाचारहरु आइरहेका छन् । त्यसैगरी १८ वर्ष मुनीका किशोरीहरुको बिवाह भएका घटना पनि अनगिन्तिी छन् । कोही व्याक्ति १८ वर्ष उमेर मुनीका किशोरी सँग करणी लेनदेन भएको अभियोगमा जेलमा छन् , कसैले १८ वर्ष कम उमेरकी किशोरी सँग पन्चे बाजा घन्काएर विवाह गरिरहेका छन् ।
विश्वका धेरै जसो देशहरुले नाबालिगको उमेर हद १६ वर्ष कायम गरेका छन् । विवाहको न्युनतम उमेर १८ वर्ष कायम गरेका छन् । हाम्रो मुलुकमा क्रमशः १८ र २० वर्ष कायम गरिएको छ । यसमा बैज्ञानिक तर्कहरु पनि छन् । मातृ तथा शिशु स्वास्थ्य , शिक्षा–दीक्षा लगायतका दृष्टिले हेने हो भने हाम्रो मुलुकको कानुनी मापदण्ड जायज छ । तर व्यववाहरमा उतार्न निकै अप्ठेरो देखिएको छ । कानुनी व्यवस्था भन्दा जनचेतना अभिवृद्धिमा जोड दिनु जरुरी देखिएको छ ।
जनचेतना अभिवृद्धिको दृष्टिले पल शाह र सन्दीप लामिछाने प्रकरणमा देशभर उत्पन्न बहसलाई सकरात्मक रुपमा लिनु पर्छ । कम्तीमा पनि कानुनी व्यवस्थाको विषयमा सुसुचित हुने मौका धेरैले पाएका छन् । तर यही कानुनी प्रावधान कसैलाई समाप्त पार्ने व्यवसायमा परिणत हुँदै पो छ की ? भन्ने गम्भीर खतरा पनि देखियो । त्यसैले अदालतले दोषि प्रमाणित नगरेसम्म अभियुक्तको नाम सार्वजनिक गर्नु उचित होइन । नावालिग किशोरीहरुलाई कसैले प्रयोग पो गरेको छ की ? भन्ने अनुसन्धान पनि जरुरी देखिन्छ ।
प्रतिक्रिया