राजनेता बिपी कोइराला

दूरदर्शी राजनेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको १०९औँ जन्म जयन्ती हो आज । नेपाली कांग्रेस पार्टीलगायत शुभेच्छुकहरूले विभिन्न कार्यक्रम गरी बिपीको जन्म जयन्ती मनाउँदै आएका छन् । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा बिपी कोइरालाको जन्म भएको थियो । राणाशासन अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाअन्तर्गत नेपाललाई समृद्ध बनाउने लक्षका साथ बिपीले २००३ सालमा राष्ट्रिय कांग्रेस पार्टीको स्थापना गरेका थिए । राणाशासन अन्त्यको लक्षमा बिपी आफ्नो जीवनकालमै सफल भए । तर २०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनबाट प्रधानमन्त्री बनेका बिपी कोइरालाको सरकारलाई तत्कालीन राजा महेन्द्र शाहले अपदस्थ गरे ।

नेपाल फेरि २००७ सालको जनक्रान्ति पूर्वकै अवस्थामा फर्कियो । जनअधिकार प्राप्तिका लागि फेरी संघर्ष गर्ने क्रममा लामो समय जेल तथा प्रवासमा बस्दा बस्दै विक्रम संवत ०३९ साउन ६ गते बिपीको निधन भयो । राजनीतिमा अत्यन्त व्यस्त रहेका बिपीले लामो समयको जेल बसाईलाई साहित्य सिर्जनामा सदुपयोग गरे । नेपाली साहित्यिक क्षेत्रमा पनि बिपीको नाम अविस्मरणीय छ । उनले मोदी आइन, दोषी चस्मा लगायतका कृति नेपाली साहित्यलाई उपलब्ध गराएका छन् । बिपीको व्यक्तित्व र योगदान नेपालको सरहदभित्र तथा नेपाली जातिभित्र मात्रै सीमित छैन । उनी अन्तर्राष्ट्रिय जगतले समेत अत्यन्त श्रद्धा गर्ने विश्व समाजवादी आन्दोलनका अगुवासमेत थिए । बिपी कोइरालाले नेपालका लागि राष्ट्रियता, प्रजातन्त्र र समाजवादको अवधाराणालाई एकअर्काका पुरकका रूपमा व्याख्या गरेका छन् । बिपीले गरेको यो व्याख्यालाई नेपालका सबै राजनीतिकदल तथा शक्तिहरूले सिद्धान्ततः आत्मसाथ गरेको देखिएको छ, तर व्यवहारमा भने अझै थुप्रै समस्या छन् ।

बिपी कोइराला विशेष नेता हुन् भन्ने कुरामा विवाद छ्रैन । त्यसैले उनको स्मृतिमा विभिन्न कार्यक्रमहरू हुने गरेका छन् । विशेष व्यक्तिको स्मृतिमा विभिन्न कार्यक्रम गरिनुको उद्देस्य भनेको उसको योगदान र मार्गदर्शनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै लैजानु हो, ताकी पुस्तौँ पुस्तासम्मले प्रेरणा पाइरहुन् । तर बिरोलो बाँधेर श्राद्ध गरेको तथा केक काटेर जन्म दिवस मनाएको जस्तो कर्मकाण्डी शैलीमा बिपीको स्मृति कार्यक्रम गर्ने गरिएको छ । यस्ता कर्मकाण्डी कार्यक्रमले बिपी कोइरालाको जीवनीबाट नयाँ पुस्ताले खासै केही सिक्न सक्ने अवस्था रहन्न ।

यतिबेला राजावादीहरूले जे चाहियो भनिरहेका छन्, केही अपवादबाहेक नेपालका कम्युनिस्ट पार्टीहरूले जे चाहियो भनेरहेका छन्, मधेसी दलहरूले जे चाहियो भनिरहेका छन्, त्यो कुरा त बिपी कोइरालाले आजभन्दा ७० वर्षअघि नै भनिसकेका थिए, भनेका मात्रै होइन व्याख्यासमेत गरेका थिए । बिपीको आदर्श थियो, ‘सार्वभौमसत्ता (राष्ट्रियता) बलियो नभएसम्म देशका कुनै पनि उपलव्धी बेकार हुन्छन्, राष्ट्रियता बलियो बनाउनका लागि शासन सत्तामा जनसहभागिता चाहिन्छ, गरिब वर्गको उत्थानका लागि राज्यले विशेष संरक्षण दिनुपर्छ ।’ राजतन्त्रले राष्ट्रियतालाई मात्रै सर्वोपरी महत्व दिने, कम्युनिस्टहरूले गरिब वर्गको उत्थानलाई मात्रै सर्वोपरी महत्व दिने गरेको परिप्रेक्षमा बिपी कोइरालाले मध्यमार्गी अवधारणा ल्याएका थिए । बिपीको यो मार्गचित्रलाई बेवास्था गरेकै कारण राजतन्त्र समाप्त भयो ।

बिपीको यो मार्गचित्रलाई मदन भण्डारीले आत्मसाथ गरेकै कारण नेपालमा कम्युनिस्ट पार्टीप्रतिको जनविश्वास बढ्दै गयो । बिपीको विचार प्रायः सबै पार्टीहरूका लागि स्वीकार्य देखिन्छ, तर दिवंगत भइसकेका बिपीको नाम स्वीकार गर्न भने नेपालका कम्युनिस्ट पार्टीहरूलाई अझै लाज लागेको हो कि ? भन्ने देखिन्छ । सन्तानले बाबुको नाम भन्न लाज मान्नु पर्दैन । चेलाले गुरुको नाम भन्न लाज मान्नु पर्दैन । कम्युनिस्ट पार्टीहरूकै प्रस्तावमा बिपीलाई राष्ट्रिय विभूतिको सूचीमा राखिदिए हुन्छ । त्रिभुवन शाहदेखि पासाङ ल्हामु शेर्पासम्मको नाम राष्ट्रिय विभूतिको सूचीमा अटाइसकेको अवस्थामा बिपीको नाम किन नथप्ने ? आखिर नेपाल भनेको काठमाडौं उपत्यका मात्रै नभएर मेचीदेखि महाकाली र सगरमाथादेखि केचनाकवल सम्मको सरहद हो भन्ने यथार्थता सर्वप्रथम स्थापित गराएको बिपी कोइरालाले नै हो ।

प्रतिक्रिया