काभ्रे । सुन्दा हामीलाई अचम्मीत लाग्ला । राजधानी नजिकैको जिल्ला काभ्रेको दुई ठाउँमा अझै पनि सबै महिना मोटरबाटो चल्दैन । टेलिफोन सेवाको समेत राम्रो पहुँच नपुगेको ठाउँ छ भन्ने सुन्दा तपाईंलाई पनि अचम्म लाग्ला । तर, भोगाई र देखाई पछि सबैलाई पत्याउन करै लाग्छ ।
काभ्रेको कर्णाली भनेर चिनिँदै आएको माहाभारत गाउँपालिकामा अझै कुनै बिरामी बोक्न एम्बुलेन्स छैन । खानीखोला गाउँपालिका–महाभारत गाउँपालिकामा भौगोलिक विकटताकै कारण अनेकौँ समस्या झेल्दै आएका स्थानीय बासीहरूले सडक पहुँच जोडिदै गर्दा विभिन्न खाले सेवा सुविधा पनि पाउँदै आएका छन् ।
अझै पनि असार, साउन, भदौ र असोजमा समेत कष्टकर जीवन बाँच्नुपर्छ । गाउँपालिकाको कुनै वडाबाट हर कोहीले एउटा कुनै सामान्य स्वास्थ्य सेवा पाउन पनि घण्टाैँ पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।
अझै जटिल खालका बिरामी भइहाले त कि त एयर एम्बुलेन्स (हेलिकप्टर) नै मगाउनुपर्ने कि त तड्पिएरै ज्यान गुमाउनुपर्ने बाध्यता छ । देश संघीयतामा गएपछि आएको स्थानीय सरकारले अब सिंहदरबारको सेवा गाउँमै दिने अठोटका साथ विभिन्न किसिमका प्रशासनिक तथा प्राविधिक सेवाहरू सूचारु गर्दै आइरहेको छ ।
केही वर्षअघि पहिलोपटक खानीखोला गाउँपालिकाले बिरामीहरु बोक्न एम्बुलेन्स सेवा सूचारु गरेको थियो । यसैबीच खानीखोला गाउँपालिकाको २ नम्बर फलामेटार स्वास्थ्य चौकी र अन्य तीन स्वास्थ्य चौकीहरु समेतलाई रहने गरी सोमबार काभ्रेको धुलिखेलमा फेन्दे फाउन्डेसनले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले काभ्रेको दुर्गम क्षेत्र खानीखोलालाई एम्बुलेन्स पाएकोमा अबका त्यस भेगका जनताले अकालमा ज्यान जानबाट केही राहत मिलेकोे बताए । काभ्रेको दुर्गम क्षेत्र रहेको यस खानीखोला गाउँपालिकाका जनताले पाएको यस सुविधालाई नेपाल सरकारको
नियमअनुसार सञ्चालन गर्न उम्बुलेन्स लाइन नम्बरमा दर्ता गर्न निर्देशन समेत दिएका छन् । उनले क, ख र ग वर्गको एम्बुलेन्स गरि तीन वर्गको झण्डै ४२ एम्बुलेन्स जिल्लामा रहेपनि लाईनमा दर्ता नहुँदा समस्या भइरहेको बताए । उनले कोही सेवा ग्रहीले चाहे २७ मिनेटभित्र एम्बुलेन्स सेवा पाउने गरी एम्बुलेन्स तयारी अबस्थामा रहनुपर्ने बताए ।
उनले त्यस भेगका लागि स्वास्थ्य कार्यालय बाट गर्ने सहयोग भईरहेको र अझै भोलिका दिनमा त्यस क्षेत्रका लागि चाहिने सहयोगका लागि आफू गाउँपालिकाका सगँ समन्यव गरी अगाडि बढेको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिताङ) ले एम्बुलेन्स सहयोग गर्ने सस्थालाई धन्यावाद दिएका थिए ।
यस एम्बुलेन्सले खानीखोला गाउँपालिकाको वडा नं. १, २ र ६ कालागि सेवा प्रदान गर्ने बताए । फेन्दे फाउन्डेसनको सहयोगमा समन्वय रोटरी क्लबले गरेको थियो । कार्यक्रममा फाउण्डेसनका खेन्पो चोन्जीरङड्रोलर, लामा कर्मनमग्याल,आनी छिरिङकोडोन, केसाङ रेन्सीन, जेनी वैद्य, लक्ष्मी खनाल उपस्थित थिए ।
एम्बुलेन्स पाएकोमा आफूहरु खुशी रहेको बताउँदै अध्यक्ष छिन्ताङले काभ्रेको दुर्गम क्षेत्र भएकोले बर्खामा एम्बुलेन्सको पनि भर नभएको र ८ महिनाको लागि एम्बुलेन्स धेरै नै आवश्यकता रहने गरेको बताए । उनले ठूलो विपद् पर्दा वर्षको ४ महिना हेलिकप्टरकै भर पर्नुको विकल्प नरहनेको बताए ।
एम्बुलेन्स नभएकै कारण धेरै पटक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याएको सुनाउँदै भोलिका दिनमा यस एम्बुलेन्स विशेष गरी सुत्केरी महिलाका लागि निःशुल्क सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष छिताङले जानकारी दिए ।
खानीखोला गाउँपालिकाको १, २ र ६ नम्बरलाई लक्षित गरी आज सहयोग प्राप्त गरिएको एम्बुलेन्स चल्ने गाउँपालिकाका अध्यक्ष थिङले बताए । यसअघि खानीखोला गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्स गाउँपालिकाको केन्द्र ताल्ढुंगा स्वाथ्य चौकी मार्फत सेवा दिँदै आएको थियो ।
पहिलो पटक एम्बुलेन्स उद्घाटन गर्न बागमती प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्व पशुपन्छी विकासमन्त्री चन्द्र लामा, गापाका तत्कालिन अध्यक्ष कृष्णबहादुर खुलालले तालढुंगामा एम्बुलेन्स सेवा उद्घाटन गरेका थिए ।
तर, छिमेकी गाउँपालिका महाभारतमा भने अझै पनि एम्बुलेन्स पुगेको छैन । महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर लामाले भने, ‘एम्बुलेन्स किन्ने भनेर गाउँपालिकाले बजेट छुट्याएका पनि थियाैँ, किनिसकेको पनि हो तर किनेको एम्बुलेन्स गाउँमा पुगेको छैन, अहिले जटिल र आपतकालिन सेवामा हेलिकप्टरको विकल्प छैन ।’
प्रतिक्रिया