गत वर्ष नेपालमा ७ अर्ब १६ करोड रुपैयाँको स्याउ आयात भएको छ । स्याउको आयात यसवर्ष अझ बढ्ने संकेत देखिएको छ । चालु आर्थिक वर्षको साउनमा मात्रै ७० करोड रुपैयाँको स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । जबकी साउनको तेस्रो सातादेखि स्वदेशमै उत्पादित स्याउसमेत बजारमा आउने गर्छ । पछिल्ला वर्षहरूमा स्वदेशमा स्याउ उत्पादन बढेको तथ्यांक छ । अर्कातिर स्याउ उत्पादन हुने क्षेत्रमा सडक यातायातसमेत पुगेको छ ।
मुख्य सिजनमा कर्णाली क्षेत्रको स्याउले काठमाडौंको बजारसमेत ढाक्ने गरेको छ । तर, आयात भने कहालीलाग्दो ढंगले बढेको छ । नेपालीहरूको आयस्तर तथा उपभोग्य संस्कृति बढेको संकेत हो यो । विगतमा बिरामी हुँदा तथा मुख्य चाडबाडमा मात्रै फलपूmल खाने चलन थियो । डाक्टरले औषधिको प्रेस्किप्सनमै फलपूmलको नाम लेखिदिने प्रचलनसमेत थियो । तर, अहिले हरेक दिनको खानेकुरामा फलफूल अनिवार्यजस्तै भएको छ । इष्टमित्र भेट्न जाँदा रित्तो हात जान हुन्न भन्ने नेपालीहरूको पुरानै संस्कार हो । त्यो संस्कार यतिबेला फलफूलले लिएको छ । कसै कहाँ जाँदा फलफूल लिएर जाने चलन छ ।
फलफूलमध्ये पनि स्याउकै प्रचलन बढी छ । पहिलो कुरा त स्याउ जुनसुकै सिजनमा पनि सरदर मूल्यमा उपलव्ध हुन्छ । स्याउ लोकप्रिय छ । स्याउलाई फलफूलको राजा भन्ने पनि गरिन्छ ।
हावापानी तथा भौगोलिक विशेषताको दृष्टिले भन्ने हो भने स्याउ निर्यातबाट अर्बाैं विदेशी मुद्रा आर्जन गर्ने संभावना नेपालले बोकेको छ । समुन्द्रको सतहबाट दुई हजार मिटरभन्दा अग्लो क्षेत्रमा स्याउ उत्पादन निकै राम्रो हुन्छ । यस्तो क्षेत्रमा उत्पादित स्याउ सबैभन्दा बढी गुणस्तरीय हुन्छ । नेपालको करिब आधाजसो भूभाग दुई हजार मिटरभन्दा अग्लो छ ।
दार्चुलादेखि ताप्लेजुङसम्मका सबै हिमाली जिल्लामा स्याउ उत्पादन हुन्छ । तर स्वदेशमा उत्पादित स्याउलाई बजारीकरण गर्न सरकारले ध्यान पु¥याएको छैन । बजारको समस्याका कारण कुहाएर फाल्नुपर्ने भएकोले किसानहरू स्याउ खेतीतर्फ आकर्षित नभएका हुन् । हुन पनि मुस्ताङमा सरकारले ०३० सालदेखि नै स्याउ खेतीका लागि किसानलाई अभिप्रेरित गर्यो, तर बजार नपाएका कारण किसानहरू उत्साहित भएनन्, अन्यत्रै बसाइँ सरे । यतिबेला मुस्ताङमा सडक यातायात पुगेको छ, तर किसानहरू पलायन भइसकेका छन् ।
कुनै बेला काठमाडौं नजिकैको हेलम्बु क्षेत्रको स्याउ भारतको बिहारसम्म पुग्ने गरेको थियो । तर अहिले यो कुरा किंवदन्तीमा मात्रै सीमित छ । हेलम्बुमा स्याउ खेती हुन्थ्यो भन्ने कुरा स्थानीय बुढापाकाहरूको स्मरणमा समेत छैन । राजधानी काठमाडौंभन्दा जम्मा ४० किलोमिटर सडक दुरीमा रहेको हेलम्बु क्षेत्र बाँझो छ, तर काठमाडौंको स्याउको बजार चीन र भारतबाट आयातित स्याउले ढाकेको छ । यहाँभन्दा ठूलो बिडम्बना अरू के हुन सक्छ ?
पछिल्लो एक दशकमा कर्णाली क्षेत्रमा सडक यातायात पनि पुगेको छ । स्याउ खेतीको अभियान सुरु भएको छ । तर शीत भण्डारको अभावमा उत्पादित स्याउले राम्रो मूल्य पाउन सकेको छैन । प्रतिकिलो ३० रुपैयाँमा बेच्न किसान बाध्य छन्, यता राजधानी काठमाडौंमा यतिबेला विदेशबाट आयातित स्याउको मूल्य प्रतिकेजी तीन सय रुपैयाँसम्म छ । भदौदेखि कात्तिकसम्म नेपालमै उत्पादित स्याउले मज्जाले पुग्छ । संयोगवस नेपालमा मुख्य चाडपर्व र स्याउ पाक्ने समय एउटै पर्छ । यो समयमा विदेशबाट स्याउ आयातमा कडाइ गरिदिने हो भने किसानले प्रचुर फाइदा लिने अवस्था छ ।
भदौदेखि कात्तिकसम्मको तीन महिना विदेशी स्याउ आयात रोक्न स्थानीय सरकारहरूले संघीय सरकारलाई दबाब दिनुपर्ने हो । तर, हिमाली क्षेत्रका स्थानीय सरकारहरू यो मामिलामा चुकेका छन् । जसरी कुखुरापालन व्यवसायीहरू अण्डा तथा कुखुरा आयात रोक्नका लागी भारतीय नाका ड्युटी दिएर बस्ने गरेका छन्, त्यसरी नै मुख्य सिजनमा स्याउ आयात रोक्नका लागि जनदबाब जरुरी देखियो । त्यसो त हिमाली क्षेत्रका तीन/चार वटा स्थानीय सरकार मिल्ने हो भने शीत भण्डार निर्माण गर्न सजिलै सक्छन् ।
शीत भण्डारको सुविधा हुने हो भने किसानहरूले हतारहतार सस्तो मूल्यमा स्याउ बेच्नु पर्दैन । नेपाललाई स्याउमा आत्मनिर्भर बनाउने हो भने किसानलाई नै प्रोत्साहन गर्नुपर्छ । वैदेशिक रोजगारीबाट भन्दा स्याउ खेतीबाटै बढी आम्दानी हुने प्रत्याभूति किसानलाई दिलाउनुपर्छ ।
प्रतिक्रिया