विद्यालयको जग्गा एकातिर, पास अर्कैतिर

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको नाममा फरक कित्ताको जग्गा पास भएको खुलेको छ । २०४५ सालमा स्थापना भएको उक्त विद्यालयलाई स्थानीय ओमबहादुर थापा (राजन)ले निःशुल्क एक रोपनी जग्गा उपलब्ध गराएका थिए ।

तर, पास गर्ने बेलामा उक्त जग्गा पास नभई अर्कै ठाउँको जग्गा पास भएको रहश्य खुलेको हो । जग्गा दाता थापाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएको छ । २०७२ साल जेठ २८ गते जग्गा पास गरिएको थियो ।

तर, कित्ता नम्बर १७ बाट कित्ता काट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा जग्गा पास गरिएको पाइएको छ । दिइएको जग्गा एकातिर, पास अर्कैतिर भएपछि हाल विद्यालय अप्ठ्यारोमा परेको छ ।

कतिपयले भने जग्गादाताले नै नियतवश अर्कै ठाउँको जग्गा पास गरिदिएको आरोप लगाइरहेका छन् । जग्गादाता परिवारले भने भुलवश अर्कै कित्ताको जग्गा पास भएकाले सो जग्गा फिर्ता गर्न र विद्यालय रहेको जग्गा पास गरिदिने बताएका छन् ।

जग्गादाताले विद्यालय बनाइएकै ठाउँको जग्गा पास गरिदिने प्रतिबद्धता जनाए पनि विद्यालयको नाममा पास भइसकेको जग्गा फिर्ता गर्न मन्त्री परिषद्को निर्णय चाहिने भएकाले समस्या सिर्जना भएको उक्त विद्यालयका प्रधानाध्यापक जर्ण चाम्लिङले बताए ।

हाल विद्यालयको चार वटा भवन छ । तर, एउटा बाहेक अरु सबै भवन जीर्ण अवस्थामा छन् । यो शैक्षिकसत्रमा विद्यालयमा ४५ जना विद्यार्थी भर्ना भएका छन् ।

पठनपाठन नियमित नभएपछि विद्यार्थी अन्य विद्यालय गएको अभिभावकहरु बताउँछन् । केही समयअघि चाम्लिङ प्रअ बनेर आएपछि हाल विद्यालय सुधारको प्रयास सुरु भएको अभिभावक खगेन्द्र राईले बताए । (न्युज कारखाना)

प्रतिक्रिया