नव निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेदेखि सञ्चालन गर्न लागिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने माग गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संघीय सरकारसमक्ष पेस गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनासाथ विश्वका विभिन्न देशका पर्यटक सिधै पोखरा आउन सक्नेछन् । तैपनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने तयारीप्रति पोखराका पर्यटन व्यवसायीहरू खुसी छैनन्, उल्टै दुःखी छन् । उनीहरू दुःखी हुनुको मुख्य कारण हो, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराको प्याराग्लाइडिङ उडान बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलको घोेषणा ।’ नागरिक उड्डयन प्राधिकरणले भनेको छ, ‘नजिकै अग्ला डाँडाकाँडाका कारण पोखराको आकाश सानो छ ।
आकाश सानो भएका कारण जहाज केही सयम होल्ड गर्नुप¥यो भने समस्या हुन्छ । जति ठूलो आकाश, त्यति धेरै स्पेस हुने भएकाले जहाजसँगै प्याराग्लाइडिङ उडानका लागि समेत स्थान तोक्न सकिन्थ्यो, तर पोखरामा एकैपटक जहाज र प्याराग्लाइडिङ उडान सम्भव छैन ।’ प्याराग्लाइडिङ उडान बन्द भयो भने पोखराको पर्यटन व्यवसायमा निकै ठूलो क्षति पुग्छ । किनकी अहिले पोखरामा मात्रै अहिले प्याराग्लाइडिङका ५९ कम्पनी छन् । ती कम्पनीमा १२ अर्ब रुपैयाँ हाराहारीमा लगानी रहेको छ । प्याराग्लाइडिङ उडानका लागि लाइसेन्स लिएका ३ सय ७५ जना पाइलट छन् । सँगै अन्य १ सय ५० गरी पाँच सय हाराहारीमा पाइलट पोखरामा मात्रै छन् । साथै प्याराग्लाइडिङ लाइङ स्कुल तीन वटा, अल्ट्रालाइट कम्पनी चार र हट एयर बेलुन कम्पनी पनि पोखरामा सञ्चालनमा छन् । दिनकै १५ सय जनासम्मले प्याराग्लाइडिङ उडान भर्ने गर्छन् ।
एकातिर निर्माण सम्पन्न भइसकेको अन्तर्राष्ट्रिय विमानस्थललाई प्याराग्लाइडिङ पर्यटन बन्द हने निहुँमा सञ्चालनमा नल्याउने भन्ने प्रश्नै छैन । अर्कातिर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको मुख्य लक्ष भनेकै पर्यटन प्रवर्धन हो । प्याराग्लाइडिङ उडान नै बन्द गरिएपछि पोखराको पर्यटकीय आकर्षण कम हुन्छ । प्याराग्लाइडिङ उडानका लागि पोखरा विश्वका १०औँ उत्कृष्ट गन्तव्यमध्ये एक हो । एकातिर वर्षभरी सबै सिजनका प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने अर्को ठाउँ नेपालमा छैन । अर्कोतिर प्याराग्लाइडिङमा उड्ने भनेको दृश्यावलोकनको मज्जा लिन हो । यति सुन्दर दृश्यावलोकन गर्न सकिने ठाउँ नेपालमा अरू पनि नभएका होइनन्, तर ती ठाउँहरू पोखराजस्तो सुगम छैनन्, पोखरामा जस्तो तारे होटलहरू छैनन्, आपतकालीन अवस्थामा उद्धार तथा उपचारका लागि पनि पोखराजस्तो उपयुक्त ठाउँ अन्यत्र छैन । त्यसैले पछिल्ला केही दशकदेखि प्याराग्लाइडिङकै लागि भनेर पोखरा आउने विदेशी पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ ।
प्याराग्लाइडिङ पर्यटनलाई विस्थापित नगरी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कसरी गर्न सकिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्नु अनिवार्य छ । हो, पोखराको आकाश सानो छ । साविकको विमानस्थल पनि निकै व्यस्त छ तर प्याराग्लाइडिङ पर्यटनले उडानलाई डिस्ट्रब गरेको छैन । किनकी साविकको विमानस्थल उत्तर दक्षिण फैलिएको छ । पोखरा–१८ स्थित सारङकोट र तोरिपानीबाट प्याराग्लाइडिङको अधिकांश उडान हुँदै आएको छ । आकाश फरकफरक भएका कारण अहिलेसम्म प्याराग्लाइडिङले हवाई उडानलाई डिस्ट्रब गरेको छैन । तर, नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्वपश्चिम फैलिएको छ । जसका कारण प्याराग्लाइडिङ र हवाई उडानको आकाश एउटै हुन्छ । तर यो गाँठो फुकाउनै नसकिने खालको जटिल छैन । नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ८ देखि दिउँसो २ बजेसम्म उडान स्थगित गर्ने हो भने प्याराग्लाइडिङलाई असर पर्दैन । यो अवधिमा साविकको विमानस्थलबाटै आन्तरिक उडान गर्न सकिन्छ । तर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनासाथ साविकको विमानस्थल मास्ने हतारमा मुलुकका नीति निर्माण तहमा रहेका व्यक्तिहरू देखिएका छन् ।
साविकको विमानस्थलमा सरकारी आवासगृह बनाउने तयारी कसैले गरेका छन् भने कसैले हरियाली पार्क बनाउनुपर्ने सुझाव दिएका छन् । एकातिर नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु क्षमता वार्षिक १५ लाख मात्रै हो । पर्यटकीय राजधानी पोखरामा केही वर्षभित्रै वार्षिक १५ लाख विदेशी पर्यटक अवतरण गर्ने निश्चित छ । यस्तो अवस्थामा आन्तरिक उडानका लागि अर्को विमानस्थल चाहिन्छ नै । त्यसैले भएको विमानस्थललाई के कसरी मास्ने ? भन्ने सुझाव दिनतिर कोही नलागोस् । बरु के कसरी चालु हालतमा राख्ने ? भन्नेतर्फ अध्ययन गरियोस् ।
प्रतिक्रिया