धनगढी । कैलालीका अधिकांश स्थानीय तहका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । १३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा ५ सय ७० जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
बैशाख ३० गते सम्पनन स्थानीय तहको निर्वाचनमा जिल्लामा ३ हजार ७३ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए ।
निर्वाचनको परिणाम सार्वजनिक भएको ३० दिन भित्र खर्च विवरण बुझाउनु पर्ने प्रावधान रहेको भए पनि ३ महिना बितिसक्दा पनि कैलालीका २ हजार ५ सय ९ जनाले उम्मेदवारले अझैँ खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएकोृ छ ।
खर्च विवरण बुझाएका ५ सय ७० जनामा ६ जना कार्यपालिका सदस्य रहेको सूचना अधिकारी चौधरीले जानकारी दिए । उम्मेदवारहरुले सम्पूर्ण खर्च विवरण स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा २, स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० र आयोगद्वारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिमको खर्च विवरण बुझाउने पर्ने प्रावधान रहेको छ ।
उम्मेदवारले मतदाता नामावली खरिद,सवारी साधन–घोडा,सवारी इन्धन–दाना, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठि–कार्यकर्ता परिचालन, अन्य प्रचारप्रसार छापा एवं विद्युतीय माध्यम, कायालय सञ्चालन, प्रतिनिधि परिचालन र विविधमा भएको खर्च विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको खर्च विवरण समयमै उपलब्ध नगराउने उम्मेदवारले स्पष्टिकरण पेश गर्नका लागि सूचना जारी गरेको तथा खर्च विवरण उपलब्ध नगराउने उम्मेदवारलाई कसुर तथा सजाय ऐन २०७३ बमोजिम निर्वाचन आयोगले गर्ने निर्णय अनुसार कारबाही हुने व्यवस्था रहेको जनाइएको छ ।
कैलाली
प्रतिक्रिया