नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको यही भदौ ४ गते सोमबार बेलुका ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको छ । कुनै निश्चित पार्टीको नेताभन्दा पनि समाजवादी चिन्तकका रूपमा सबै पार्टीका निम्ति आदरणीय छवी बनाएका गिरि गत वर्ष साउनदेखि क्यान्सरबाट पीडित थिए । भारतको मुम्बईका अस्पतालमा क्यान्सरको उपचार गरिएको थियो । गिरिको घाँटीमा क्यान्सर भएको थियो । उपचारका क्रममा करिब एक वर्ष गिरि भारतमै बसे । गत साउन पहिलो साता उनी स्वदेश आए । स्वदेश आउने बित्तिकै उनको स्वास्थ्यमा झन् समस्या देखियो ।
ललितपुरस्थित मेडिसिटी अस्पताल साउन ८ गते भर्ना गरेर उनको उपचार जारी राखिएको थियो । उनलाई निमोनियाले सताएको थियो भने क्यान्सर शरीरका अन्य भागमा पनि फैलँदै गएको थियो । पदलाई भन्दा व्यक्तिगत स्वार्थ त्याग तथा योगदानलाई प्राथमिकता दिने गिरि लाभको पदमा बस्दै बसेनन् । तर गिरिको निधन नेपाल र नेपालीका निम्ति यति भारी भएको छ कि सिंगो नेपाल थोरै व्यक्तिको निधनमा मात्रै यसरी स्तव्ध भएको थियो ।
निजी परिवार निर्माण तथा धनसम्पत्ति आर्जनतिर गिरिले कहिल्यै ध्यान दिएनन् । आमनेपालीलाई आफ्नो परिवार र आमनेपालीको सम्पत्तिलाई आफ्नो सम्पत्ति ठान्दै आएका गिरिले मन्त्री बन्न मात्रै अस्वीकार गरेका होइनन्, सांसदका रूपमा पनि अनावश्यक सुविधा लिएनन् । सांसदका निम्ति भन्सार छुटमा गाडी किन्ने कानुनी सुविधा उनले लिएनन्, उल्टै यस्तो सुविधा दिइएकोमा आफ्नै पार्टीका प्रधानमन्त्री देउवाको खुलेर आलोचना गरे । नेताहरूले बिरामी पर्दा उपचार खर्च वापत राज्यको ढुकुटीबाट अहिलेसम्म अर्बौं रुपैयाँ लिइसकेका छन् । तर गिरि यो विकृतिबाट पनि बाँचे ।
प्रदीप गिरि आफैँ संभ्रान्त जमिनदार परिवारमा जन्मेका थिए । क्यान्सरजस्तो जटिल रोगको उपचारका लागि एक वर्षसम्म भारतको मुुम्बईजस्तो महँगो सहरमा बस्दा उनको जायजेथा करिबकरिब सकियो । खर्च सकिएपछि स्वदेश फर्के, तर आफ्नो उपचारमा सरकारको एक पैसा पनि खर्च नहोस् भन्नेमा उनी सचेत रहे । मृत्यु रोजे तर राज्यको ढुकुटीबाट उपचार खर्च इन्कार गरे । बरु उनले आफ्ना नजिकका मित्र विमलेन्द्र निधिलाई भनेका थिए, अन्तिमसम्मै आफ्नो उपचारमा राज्यको पैसा खर्च नहोस् । कति खर्च साथीभाइले जुटाए । उपचार खर्चको ठूलो अंश मेडिसिटी अस्पतालले नै बेहोर्यो । अस्पतालका सञ्चालक उपेन्द्र महतो सिरहा जिल्लाकै हुन् ।
प्रदीप गिरि आफैँमा कुशल लेखक थिए, मूर्धन्य पत्रकार थिए, साहित्यकार थिए, दार्शनिक थिए, उनको मुखमा सरस्वतीले बास गरेकी थिइन् । तर आफ्नो यो क्षमता उनले निजी स्वार्थका लागि प्रयोग गरेनन् । यतिसम्मकी ०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको कार्यगत एकता गिरिकै प्रयास र अवधारणा थियो । तर, उनले यसको संकेतसम्म पनि दिएनन् । सबै श्रेय गणेशमान सिंहले पाए । माओवादी जनयुद्धभित्र गणतन्त्रको एजेन्डा प्रवेश गराए, तर यसको सुु“इकोसम्म कसैले पाएन । माओवादी र सात राजनीतिकदलबीचको सहकार्यमा जनआन्दोलन ०६२/६३ अघि बढाउने रणनीतिकार पनि उनै थिए, तर आफूलाई उनले नेपथ्यमै राखे । यसको श्रेय गिरिजाप्रसादले पाए । गणतन्त्र स्थापनापछि पहिलो राष्ट्रपति गिरिजाप्रसाद कोइरालालाई नबनाएर मधेसी समुदायको नेतालाई बनाउने श्रेय माओवादीले पायो, तर यसको भित्री रणनीतिकार भने गिरि नै थिए ।
महाभारतको लडाइँमा जसरी श्रीकृष्णले अरू पात्रको माध्यमबाट आफ्नो अभिष्ट पूरा गरेका थिए, ठीक त्यसै गरी बिपीको निधन यताको नेपालको राजनीतिमा पनि प्रदीप गिरिले आफू नेपथ्यमा बसेरै धेरै कुरा फत्ते गरे । उनी कसैको सारथीका रूपमा समेत देखा परेनन् । गिरि यसरी सफल हुनुको मुख्य कारण हो, ‘सबै पार्टीका नेताहरूलाई प्रभावित पार्न सक्ने उनको क्षमता ।’ जुन बेला नेपालमा कांग्रेस र कम्युनिस्ट पार्टीहरूबीच पानी बाराबारको अवस्था थियो, एकअर्काले भौतिक आक्रमण गर्ने अवस्था थियो, त्यो बेलासमेत कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रदीप गिरिलाई गुरु मानेर माक्र्सवाद र समाजवादबारे शिक्षा लिन्थे । उनको यही खुबीले नेपालमा परिवर्तन संभव भएको हो ।
जीवनको उत्तरार्धतिर त उनले करिब करिब सिद्धि प्राप्त गरिसकेका थिए । आफ्नो जन्मस्थलभन्दा पा“च किलोमिटर पूर्व खोलाको किनारमा उनले आफ्नै जग्गा तथा खर्चमा आश्रम बनाए । त्यही आश्रममा बस्न थाले । ०७४ को चुनाव उनले त्यो आश्रमबाट बाहिर ननिस्किएरै जिते । जबकी बिपी कोइरालाका छोरा कांग्रेसकै पूर्वमहामन्त्री डा.शशांक कोइरालाले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘०६४ सालको निर्वाचनमा ८० हजारले पुग्यो, ०७० सालमा तीन करोड खर्च भयो, ०७४ सालको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भयो, यस्तो महँगो चुनाव लड्न कोही तयार हुनुहुन्छ भने म आफ्नो निर्वाचन क्षेत्र छाड्न तयार छु ।’ तर एक सुको खर्च नगरी, आश्रमबाट बाहिर नै ननिस्किई पनि चुनाव जित्न संभव छ है, भन्ने कुरा प्रदीप गिरिले पुष्टि गरिदिए । निष्काम कर्मयोगी विद्वान गिरिप्रति हार्दिक श्रद्धाञ्जली ।
प्रतिक्रिया