छिमेकी मुलुक भारतमा नेपाली चिया विरुद्ध षड्यन्त्र हुन थालेको छ । यो षड्यन्त्रमा एकातिर भारतका चिया उत्पादक व्यवसायीहरु लागेका छन् भने अर्कातिर नीति निर्माणतहमा रहनेहरु लागेका छन् । भारतमा उत्पादित चिया भन्दा नेपालमा उत्पादित चिया गुणस्तरीय छ । नेपालको गुणस्तरीय चियाले आफ्नो चियाको बजारलाई प्रभावित बनाएकोमा भारतीय व्यवसायीहरु चिन्तित हुनु स्वभाविकै हो । भारतको चिया बगानका सञ्चालक, दार्जिलिङ टी एसोसिएसन, टी फोरम अफ इन्डिया र टी बोर्ड अफ इन्डियाको मागका आधारमा राज्यसभा र लोकसभामा प्रतिनिधित्व गर्ने ३० जना सांसदहरूको समितिले विधेयक नै बनाएर नेपालको चिया रोक्ने प्रस्ताव गरिसकेका छन् ।
उनीहरुले नेपाली चियालाई ‘ गुणस्तरहीनको ट्याग’ लगाउने षड्यन्त्र गरेका छन् । यो षड्यन्त्र सफल भयो भने नेपालले भारत बाहेकको बजार पनि गुमाउने संभावना बढ्छ । किनकी नेपाली चिया पहिले भारत निर्यात हुन्छ, अनि भारतबाट तेस्रो मुलुक निर्यात हुन्छ । नेपालले आफ्नो चिया सिधै तेस्रो मुलुक निर्यात गर्ने भरपर्दो संयन्त्र बनाउन सकेको छैन । नेपालबाट बार्षिक पाँच अर्ब रुपैंया बराबरको चिया भारत निर्यात हुने गर्छ । पछिल्लो समयमा नेपाली चिया निर्यातको परिमाण बार्षिक १० प्रतिशत भन्दा बढी बृद्धि हुन थालेको छ ।
पहिलो कुरा त ज्यादै ठूलो व्यापार घाटा बोहोरिरहेको नेपालका लागि बार्षिक ५ अर्ब रुपैंयाको चिया भारत निर्यात हुनु ठूलो कुरा हो । अझ यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने चिया खेतिबाट २६ हजार किसान र ८० हजार मजदुरले रोजगारी पाएका छन् । नेपालको कृषि क्षेत्रमा चिया खेतिको योगदान अत्यान्त ठूलो छ भन्ने कुरा यो आँकडाले पनि प्रमाणित गर्छ ।
बार्षिक २ खर्ब रुपैंयाको बस्तु निर्यात गर्ने नेपालका लागि ५ अर्ब रुपैंयाको चिया निर्यात खासै ठूलो होइन की ? भनेर सरकारमा बस्नेहरुले नजर अन्दाज गरेको देखिएको छ । रोजगारीको हिसावले र कच्चा पदार्थको हिसावले हेर्ने हो भने चिया निर्यात नेपालको वैदेसिक व्यापारको मेरुदण्ड हो । नेपालबाट निर्यात हुने अधिकांश बस्तुहरु विदेशबाट आयातित कच्चा पदार्थमा आधिारित छन् । कच्चा पदार्थको आयतमै ८० प्रतिशत रकम विदेसिने र रोजगारी पनि खासै धेरै सिर्जना नहुने बस्तुहरुको निर्यातले अर्थतन्त्रलाई खासै ठूलो योगदान पु¥याउँदैन । रोजगारी मुलक तथा स्वदेशी कच्चा पदार्थमा आधारित बस्तु निर्यातले नै मुलुक संवृद्ध बन्ने हो ।
नेपाली चियाका सन्दर्भमा भारतमा भइरहेको षड्यन्त्रबारे सरकार गम्भीर बन्नु जरुरी छ । जबजब नेपाली बस्तुको बजार बिस्तार हुन्छ, त्यतिबेला भारतीय पक्ष बहाना झिकेर नेपाली बस्तुलाई ‘गुणस्तरहीन’ को आरोप लगाउँदै बजार खोस्न उद्यत हुने घटना नयाँ भने होइनन् । भारतबाट नेपालमा बार्षिक ११ खर्ब रुपैंया बराबरको बस्तु आयत हुन्छ । तर नेपालबाट जम्मा डेढ खर्ब रुपैंया बराबरको बस्तु निर्यात हुन्छ । त्यसैले ब्यापार घाटालाई कम गर्नका लागि पनि भारत सँग उच्चस्तरीय वार्ता गर्नु जरुरी छ ।
नेपाली चिया निर्यातमा भारतले गरेको षड्यन्त्र प्रति पूर्वप्रधानमन्त्री झलनाथ खनाल अली बढी गम्भीर भएको देखिएको छ । चिया उत्पादनको मुख्य क्षेत्र इलामबाट समेत प्रतिनिधित्व गर्ने भएकोले पूर्वप्रधानमन्त्री खनालको सक्रीयता स्वभाविकै हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई घच्घच्याएर पूर्वप्रधानमन्त्री खनालले आफ्नो दायित्व पुरका गरेका छन् । नेपाली चियालाई चीन निर्यात गर्न पहल गर्नुपर्ने तर्क खनालको छ । आँफुले पनि पहल गरेको खनालले बताएका छन् । उनको भनाई छ –‘भारतीय बजारमार्फत चिया निर्यात गर्दा चार अर्ब रुपैयाँको व्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकिए त्यसको दुई वा तीन गुणा बढी फाइदा हुनसक्छ । यसले नेपाली चिया उतपादनको क्षेत्रमा नयाँ युगको सुरुआत हुनसक्छ ।’
डेढ अर्ब जनसंख्या भएको चीनमा चियाको बजार पाउने हो भने नेपालको आर्थिक उन्नती टाढा छैन । व्यवसायीहरुका अनुसार नेपालमा झण्डै ८५ प्रतिशत सिटिसी र १५ प्रतिशत अर्थोडक्स चिया उत्पादन हुन्छ । तर २० प्रतिशत चिनियाँले मात्रै सिटिसी चिया पिउँछन् । बाँकीले अर्थोडक्स चिया मात्र पिउने गर्छन् । डेढ अर्ब जनसंख्या भएको मुलुकमा २० प्रतिशत भनेको कम होइन ।
प्रतिक्रिया