मधुमेह के हो ? मानिसहरूमा यो समस्या के कारणले हुन्छ ?

डा. दीपक मल्ल

नेपालमा करिब चार प्रतिशत मानिसमा मधुमेहको समस्या छ भन्ने गरिन्छ । तर यकिन तथ्यांक भने छैन । अहिलेको अवस्थालाई हेर्दा युवाहरूमा मधुमेहको समस्या अत्यधिक बढेको छ । विशेषगरी विदेश गएर फर्किएका युवाहरूमा यो समस्या बढेको देखिन्छ । खाडी मुलुक, मलेसिया लगायतका देशहरूबाट फर्किएका युवाहरूमा मधुमेहको समस्या अत्यधिक बढेको छ । मेरो विचारमा घरपरिवारबाट टाढा रहँदा तनाव बढी हुने, काम धेरै हुने पर्याप्त मात्रामा सुत्न नपाइने लगायतका समस्याले गर्दा पनि उहाँहरूमा मधुमेहको समस्या बढी देखिएको हुन सक्छ ।

मधुमेहलाई अंग्रेजीमा डाइबिटिज मेलाइटिस भनिन्छ । डाइबिटिज र मेलाइटिस भनेको पिसाबबाट चिनी बग्नु हो । पहिला पहिला थाहा हुँदैन थियो । किनकी रगत जाँच गर्ने चलन थिएन । पिसाब फेरिसकेपछि पिसाबको वरिपरि कमिलाहरू आयो भने त्यो व्यक्तिलाई चिनी रोग लागेछ भन्ने गरिन्थ्यो ।

हाम्रो शरीरमा प्यांक्रियाज भन्ने ग्रन्थी हुन्छ । सो ग्रन्थीमा ‘बेटा सेल’ हुन्छ । बेटा सेल ग्रन्थीले इन्सुलिन निकाल्छ । इन्सुलिनले शरीरमा रहेको सुगरलाई ठाउँठाउँमा लगेर राख्ने काम गर्छ । हाम्रो शरीरमा बेटा सेलले काम नगरेको अवस्थामा इन्सुलिन उत्पादन हुँदैन । जतिबेला हामीलाई टाइप–१ मधुमेह हुन्छ । इन्सुलिन पनि उत्पादन भएको छ तर विभिन्न कारण शरीरमा राम्रोसँग काम गर्न सक्दैन भने त्यसलाई हामी टाइप–२ मधुमेह भन्छौँ । टाइप–१, टाइप–२ र प्यांक्रियाजको आफ्नै रोगहरू छ भने त्यसलाई प्यांक्रियाटिभ डाइबिटिज भन्छौँ । कहिलेकाहीँ महिलाहरूमा गर्भावस्थाको २६ देखि २८ हप्तामा सुगर लेबल बढ्ने गर्दछ । यसलाई हामी जेस्टेसनल डाइबिटिज भन्ने गर्छौं । अन्य विभिन्न किसिमका डाइबिटिजहरू पनि छन् ।

परिवारमा बुबाआमालाई मधुमेहको समस्या छ भने उसका छोराछोरीमा पनि मधुमेह हुने जोखिम बढी नै हुन्छ । प्रि–डाइबिटिज पनि हुन्छ । यो भनेको डाइबिटिज भनेर एकिन नभइसकेको तर डाइबिटिज हुन सक्ने अवस्था देखिएको हो । जस्तो शरीरमा सुगरको लेबलको मात्रा बढेको देखिन्छ । यस्तो व्यक्तिलाई डाइबिटिज हुने जोखिम उच्च रहन्छ । बुबाआमालाई पनि डाइबिटिज छ भने उसका छोराछोरीलाई पनि हुने खतरा रहन्छ । अर्को जसमा मोटोपनाको समस्या छ, बडी मास इन्डेक्स (बिएमआई) २५ भन्दा ज्यादा छ भने उसमा मधुमेह हुने जोखिम उच्च रहन्छ । उच्च रक्तचापको समस्या भएका व्यक्तिमा मधुमेहको समस्या हुने जोखिम पनि उच्च छ ।

जसले नियमित शारीरिक व्यायामहरू गर्नुहुन्न उहाँहरूलाई पनि मधुमेह हुने खतरा उच्च रहन्छ । अफिसमै बसिरहने, जहाँ जाँदा पनि सवारीसाधनको प्रयोग गर्ने, नहिँड्ने व्यक्ति तथा कोलेस्टोर लेबल धेरै भएका व्यक्तिमा पनि मधुमेहको जोखिम उच्च रहन्छ । यस्तै महिलाहरूमा अण्डासयसम्बन्धी रोगहरू छ भने पनि मधुमेह हुने सम्भावना बढी नै हुन्छ ।
म कार्यरत वीर अस्पतालमा धेरै जस्तो बिरामी दुर्गमबाट आउँछन् । दुर्गमबाट आएका बिरामीहरूमा मधुमेह भनेको के हो भन्ने नै थाहा भएको अवस्था देखिँदैन ।

कतिपय अवस्थामा लक्षणहरू नदेखिएर मधुमेह भएको र कम्प्लिकेसन देखिएर उपचारका लागि आइपुग्छन् । जस्तो आँखा नदेख्ने समस्या, मिर्गौला बिग्रिएको अवस्था, खुट्टामा घाउ भएको, मुटुमा समस्या, नशाको समस्याहरू लिएर आउने बिरामीमा ती रोगको कारण मधुमेह देखिन्छ ।
लक्षण देखिएको अवस्थामा प्रायः मानिसहरूको मुख सुक्खा हुने, दुब्लाउँदै जाने, आँखा धमिलो हुँदै जाने, गिजाहरू पाक्ने, शरीरको तौल कम हुँदै जाने, शरीरमा चिलाउने समस्याहरू हुने, झम्झमाउने, पोलेजस्तो हुने, घोचेजस्तो हुने र घाउहरू आउने, कान चिलाउने, कान कम सुन्ने समस्याहरू हुनसक्छ । यो सबै लक्षणहरू हुनैपर्छ भन्ने पनि हुँदैन । तर यो मध्ये कुनै एक समस्या छ र परिवारमा यसअघि कसैमा मधुमेहको समस्या छ भने मधुमेह हुनसक्ने आशंका गरी परीक्षण गर्नै पर्छ ।

मुधमेह परीक्षण गर्न अहिले गाह्रो छैन । नजिकको प्रयोगशालामा गएर सुगरको मात्रा परीक्षण गर्न सकिन्छ । फास्टिङमा जाँच अर्थात ८ वा १६ घण्टा खाली पेट बसेर सामान्य जीवनशैली, तनाव वा अन्य चिन्ता नलिइ चिकित्सककहाँ गएर सुगरको मात्रा जाँच गर्न सकिन्छ । अर्को खाना पछिको सामान्य खाना खाएर परीक्षण गर्ने र अर्को भनेको एचविएवानसी अर्थात प्रत्येक तीन महिना वा प्रत्येक ६ महिनामा सुगरको परीक्षण गराउने । यसका साथै मिर्गौला परीक्षण गर्ने, आँखा परीक्षण गर्ने पनि गर्नुपर्छ ।
मधुमेहको कम्प्लिकेसनले शरीरका अंगहरूमा असर पार्छ । त्यसैले मधुमेहका बिरामीको उपचार गर्दा सुगरलाई मात्र टार्गेटमा ल्याउने होइन । सुगरलाई टार्गेटमा ल्याएर सुरुमा खाली पेटमा र खानापछिको सुगरको जाँच गरिन्छ । त्यसपछि एचविएवानसी गरिन्छ । फास्टिङ ७० देखि १४० को रेन्जमा वा पिपि पनि १८० भन्दा कमको रेन्जमा अथवा एचविएवानसी पनि ७ को रेन्जमा ल्याउन सकियो भने कम्प्लिकेसनहरू कम गराउन सकिन्छ ।

त्यसैले हाम्रो उद्देश्य भनेको बिरामीलाई चेतना दिएर वा सल्लाह दिएर औषधिको डोजहरू मिलाएर मधुमेहलाई नियन्त्रणमा ल्याउने हो । तर कन्ट्रोलमा आउन सकेन भने मुख्य गरी आँखाको समस्या, मिर्गौलामा समस्या र खुट्टामा समस्या देखिन्छ । आँखा, मिर्गौला, मुटु, नशा र खुट्टामा असर पु¥याउँछ । यो समस्या मधुमेह हुने बित्तिकै आउने होइन । १० वर्ष, १५ वर्ष वा २० वर्षपछि आउछन् ।

सामान्यतया मधुमेहको समस्या भएको १५ वर्षमा यस्ता समस्याहरू देखिन्छ । यदी मधुमेह नियन्त्रण गर्न सकिएन भने जोखिम बढ्दै जान्छ । अब यी अंगमा कस्तो समस्या आउँछ भन्दा आँखाको पर्दामा समस्या आउँछ । आँखा धमिलो हुँदै जान्छ र अन्धोपनको समस्या समेत हुनसक्छ । तर यो एक्कासि हुँदैन । त्यसैले हामीले बिरामीहरूलाई आँखा धमिलो हुँदै गएको छ भने तुरुन्त आँखा चिकित्सककोमा रेफर गर्छौं । मिर्गौलाको समस्या पनि त्यस्तै हो । पिसाब बाक्लो आउने, यौनांग चिलाउने, पिसाबमा फिँजहरू आउने गर्छ भने प्रोटिन, एल्बुमिन लिकेज भइरहेको छ ।

अर्को कुरा खुट्टा झम्झमाउने, पोल्ने, जमिनमा टेक्दा पैतला बाक्लो भएजस्तो हुने, जुत्ता बढी टाइट हुँदै जाने, घाउहरू आउने, हिँड्दा हिँड्दा चप्पलहरू फुत्किएर जाने गर्छ भने यो मधुमेहले पारेको असरको कारण हुनसक्छ । यस्तो अवस्थामा तुरुन्त मधुमेह परीक्षण गर्नुपर्छ । आँखा, मिर्गौला, मुटु, नशासम्बन्धी समस्याका विशेषज्ञ चिकित्सकलाई जँचाउनु पर्छ । रक्तचाप पनि नियमित जाँच गर्नुपर्छ । किनभने मुटुमा पनि समस्या आएको हुनसक्छ ।
अहिलेका युवाहरूलाई धेरै नै तनाव छ । हामीले देख्छौँ युवाहरूमा मधुमेहको समस्या धेरै छ । यसको कारण शारीरिक क्रियाकलाप कम हुने, तनाव धेरै हुने, खानपिनको कारण नै हो । अर्को कुरा मोटोपनाको समस्या पनि एक हो । यदी परिवारमा कसैलाई मधुमेहको समस्या छ भने मोटोपनाको समस्या आफूमा आउन दिन हुँदैन । बाहिरको खानाभन्दा पनि आपैmँले बनाएर खाएको राम्रो हुन्छ ।

नेपालमा करिब चार प्रतिशत मानिसमा मधुमेहको समस्या छ भन्ने गरिन्छ । तर यकिन तथ्यांक भने छैन । अहिलेको अवस्थालाई हेर्दा युवाहरूमा मधुमेहको समस्या अत्यधिक बढेको छ । विशेषगरी विदेश गएर फर्किएका युवाहरूमा यो समस्या बढेको देखिन्छ । खाडी मुलुक, मलेसिया लगायतका देशहरूबाट फर्किएका युवाहरूमा मधुमेहको समस्या अत्यधिक बढेको छ ।

मेरो विचारमा घर परिवारबाट टाढा रहँदा तनाव बढी हुने, काम धेरै हुने पर्याप्त मात्रामा सुत्न नपाइने लगायतका समस्याले गर्दा पनि उहाँहरूमा मधुमेहको समस्या बढी देखिएको हुनसक्छ ।

हामीले मधुमेहका बिरामीलाई खाना खाइसकेपछि हल्का हिँड्न सुझाव दिने गर्छौं । दिनमा ६ देखि ८ घण्टा राम्रोसँग निदाउनु पर्छ, सुत्नपर्छ । सायद विदेशमा यस्तो समय नमिल्ने, खानेकुराहरू फास्टफुडहरू बढी भएर पनि विदेशबाट नेपाल आउनेहरूमा मधुमेहको समस्या बढी भएको होला ।

मधुमेहका समस्या भएका बिरामीलाई सकेसम्म कार्बोहाइड्रेड कम खानुस् भन्ने सल्लाह दिन्छौँ । जस्तो भात, आलु कम खानुपर्छ । त्यसको अवला माछा मासु ठिक्क मात्रामा खाने, सलाद तथा झोल तरकारी, दालहरू खाने गर्नुपर्छ । तर खाँदै नखाने होइन । घरपरिवारमा कुनै पार्टीहरू हुँदा परिवारका सबै सदस्य जाने तर मधुमेह भएको बिरामी नजाने गर्नु हुँदैन । जान सकिन्छ । खान सकिन्छ । नाच्ने रमाउने गर्न सकिन्छ ।

बाहिरको खाना, गुलियो, चिल्लो तारेको खानेकुरा चाँही कम खानुपर्छ । कतिपय नेपालीको बानी भोलि खानु छ भने आज केही नखाने वा पर्सि खाँदिन भन्ने सोच हुन्छ । यस्तो बानीले मधुमेहका बिरामीलाई भने असर पर्छ । काँही भोजहरू छ भने अत्यधिक खाने, डाक्टरलाई देखाउनु छ भने केही दिन खानामा कन्ट्रोल गर्ने औषधि नखाइदिने, वा धेरै खाने बानी पनि धेरैको छ । मधुमेहको अवस्था पहिचानका लागि सामान्य अवस्थामै जाँच गर्नुपर्छ ।

मधुमेहको समस्या हुनै नदिने उपाय नै त छैन । किनकी यो म आउँदै छु भनेर आउने समस्या होइन । तर मधुमेहको समस्या भएमा यसलाई नियन्त्रण गर्न सकिन्छ । परिवारमा कसैलाई पहिला नै मधुमेहको समस्या छ, आफू मोटो हुँदै गएको छ, शारीरिक क्रियाकलाप कम छ भने आफूलाई सुधार गर्नुपर्छ । मधुमेहलाई प्रिडाइबिटिज अवस्थामै पत्ता लगाउने र उपचार गर्ने गर्नुपर्छ । व्यायाम गर्ने, अल्छीपना नगर्ने, पारिवारिक रूपमा रमाइलो गर्ने, खानपानमा ध्यान दिने गर्नुपर्छ । र मधुमेहको लक्षण देखिएको छ भने समयमै जचाउन पर्छ । समयमा मधुमेह पत्ता नलाग्दा मधुमेहको समस्या बढ्दै जान्छ र त्यसले ठूलो असर गर्न सक्छ ।

मधुमेहको समस्या भएका बिरामीले गुलियो पदार्थ खानै नहुने हो ? भन्ने प्रश्न धेरैले गर्छन् । गुलियो पदार्थ खाएर मधुमेह हुने होइन । तर गुलियो पदार्थ खाएपछि त्यसलाई पचाउन सक्नुपर्छ । अर्थात कसैले तपाईंलाई लड्डु नै ल्याएर दियो भने मधुमेह छ भनेर खाने वा नखाने ? यस्तो अवस्थामा म खान्न भन्नुभन्दा त्यो खाएर आधीघण्टा नाँच्ने, उफ्रने वा हिँडडुल गरेर रमाउने गर्दा तपाईंलाई समस्या नहुन सक्छ । तर त्यही लड्डु खान पाइन मधुमेहको समस्या हुन्छ भनेर बेलुका तनाव लिएर बस्दा त भोलिपल्ट मधुमेहको समस्या बढ्छ । त्यसैले हामी खाएर व्यायाम गर्न सुझाव दिन्छौं । खाँदै नखाने होइन, तर कम मात्रामा खाने, खाएर इनर्जी लस गर्नुपर्छ । पसिना निकाल्नुपर्छ ।

मधुमेहको समस्या भएका व्यक्तिहरू औषधि खान एकदमै हिचकिच्याउँछन् । यदि कुनै औषधिले तपाईंलाई फाइदा गर्छ भने त त्यो खानुपर्छ । अर्को कुरा औषधि निरन्तर खाइराख्नुपर्छ भन्ने डर पनि देखिन्छ । यो कुराचाहिँ सत्य हो । तर सुगर नर्मल हुँदा हुँदै पनि कहिलेकाहीँ औषधि चलाउनुपर्छ । डाक्टरको निगरानीमा औषधि खानुपर्छ । अहिले कोरोनाले गर्दा बिरामीहरूलाई समस्या पनि परेको छ । यस्तो अवस्थामा बिरामीले ग्लुकोमिटर किनेर आफैँले जाँच गर्न पनि सक्छन् । समस्या देखिएको छ भने समस्या अनुसार सल्लाह सुझाब भर्चुअल रूपमा पनि दिन सकिन्छ । खानपान, औषधि लगायतका कुरामा बढी भ्रम राख्छन् । हामी यथार्थ जानकारी दिन्छौँ । (कुराकानीमा आधारित)

प्रतिक्रिया