भाइरल बिरामी बढेपछि लमजुङका दुई विद्यालय बन्द

लमजुङ । विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ ।

जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ ।

विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सयभन्दा बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द गरिएको उनले बताए । ‘शुक्रबार र शनिबार बिदा नै छ, चार दिन हेरौँ,’ उनले भने । जनविकासमा एक हजार दुई सय विद्यार्थी पढ्छन् ।

युनिर्भसल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीका अनुसार तल्लो तहका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या बढी देखिएपछि विद्यालय बन्द गरिएको हो ।

नर्सरीदेखि ५ कक्षासम्मका ५० जना विद्यार्थीमा समस्या देखिएको छ । उनका अनुसार नर्सरीदेखि कक्षा पाँचसम्म सय पाँच सय विद्यार्थी छन् । ६ देखि माथिका विद्यार्थीमा भने समस्या नदेखिएको उनले बताए ।

बेसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि जनविकास मावि बेंसीशहर र युनिभर्सल एकेडेमीको पाँच कक्षासम्म बन्द गरिएको बताए ।

प्रतिक्रिया