उदयपुर । अविरल वर्षासँगै आएको बाढीका कारण सप्तकोसी नदी पुरानै धारमा फर्किएपछि उदयपुर, सप्तरी र सुनसरी जिल्लाका हजारौँ घरपरिवार जोखिममा परेका छन् । पूर्वका पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि आएको बाढीका कारण सप्तकोसी नदी ३४ वर्षपछि आफ्नो पुरानै धारमा फर्किएको हो । अहिले मानव बस्तीमा बाढी पसेको स्थानबाटै ०४५ सालअघि सप्तकोसी नदी बग्थ्यो । ०४५ सालको विनाशकारी भूकम्पपछि सप्तकोसी नदी आफ्नो धार परिवर्तन गरेर क्रमशः पूर्वतर्फबाट बग्न थालेको जानकारहरू बताउँछन् ।
सप्तकोसी नदी धार परिवर्तन गरेर पूर्वतर्फबाट बग्न थालेपछि कोसीले छाडेको स्थानमा ०५१ सालदेखि मानव बस्ती बस्न थालेको हो । अहिले सप्तकोसी नदी पुनः आफ्नो धार परिवर्तन गरेर पुरानै स्थानमा फर्किएपछि मानव बस्ती डुबानमा परेको हो । बुधबार बिहान करिब ४ बजे उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेर मानव बस्तीमा प्रवेश गरेको हो । बाँध फुटेर बाढी गाउँमा पसेसँगै बेलका नगरपालिकाको वडा–१, २, ३, ४, ८ र ९ तथा बराहक्षेत्र नगरपालिका–६ डुबानमा परेको स्थानीयले बताए ।
बाँध फुटेर गाउँ पसेपछि त्यसबाट भएको क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । बेलका नगरपालिकाले बस्ती छाड्न मंगलबार नै माइकिङ गरिएकाले मानवीय क्षति भने नभएको बताइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी उद्धार र राहत कार्यमा खटेका छन् । नदी कटानले बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चारवटा वडाका एक दर्जनभन्दा बढी गाउँका बासिन्दा उच्च जोखिममा रहेको स्थानीय बताउँछन् ।
उदयपुरको बेलका नगरपालिका–८ को लाहुरे खोचमा सप्तकोसी नदीको बाँध फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजारभन्दा बढी घर परिवार उच्च जोखिममा छन् । सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने चार हजार घरपरिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुन सक्ने स्थानीय बताउँछन् । सप्तकोसीको कटानका कारण बराह क्षेत्र नगरपालिका–६ चिलिया टप्पुमा रहेको बालसेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र कौशिका आधारभूत विद्यालय तथा बेलका नगरपालिका–३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।
सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्ने गरेकाले बर्खामा नदीले बर्सेनि जनधनको क्षति गर्दै आएको छ । बाढीका कारण बेलका नगरपालिकाका करिब २० हजार मानिस प्रभावित भएका छन् । बेलका–३ मा मात्र नौ सय घर प्रभावित भएको स्थनीयले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ ।
उद्धारमा ढिलाइ हुँदा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौं मानिस बाढीमा फसेको बताइएको छ । बाढीमा फसेका करिब २ हजार ४ सय घरधुरीको अझै उद्धार हुन सकेको छैन । बस्तीलाई बाढीले टापुमा परिणत गरिदिएपछि उनीहरूको उद्धार हुन नसकेको हो । स्थानीय प्रशासनका अनुसार बाढी आउने पूर्वसूचना मंगलबार राती नै दिएका कारण क्षति कम भएको हो । प्रशासनले सर्वसाधारणलाई मंगलबार नै ‘हाइ एलर्ट’ गराएको थियो । प्रशासनको एलर्टपछि कतिपय सर्वसाधारण राती नै उदयपुरको रामपुर पुगेका थिए ।
स्थानीय प्रशासनका अनुसार सप्तकोसीमा पानीको सतह बढेपछि आवश्यकताअनुसार ब्यारेजको ढोका नखोल्दा बाँध फुटेको हो । सप्तकोसीको ३४ वटा ढोका मात्र खोलिएको थियो । पानीको सतहअनुसार कम्तीमा ४२ वटा खोल्नुपर्ने थियो । थप ढोका खुलाउने विषयमा कुराकानी भइरहेको बताइएको छ । पहाडी क्षेत्रमा अझै निरन्तर वर्षा भइरहेकाले जोखिम झनै बढेको स्थानीय बताउँछन् । प्रदेश–१ का आन्तरिक मामलामत्री केदार कार्की, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूले पनि बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
तीव्र रूपमा बाँध कटान गर्दै कोसी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीसहित संयुक्त रूपमा प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन् । ७० मिटरभन्दा बढी बाँध कटान गरेर कोसी बस्तीमा पसेको थियो ।
कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झनै बढेको स्थानीय बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरूको गुनासो छ । सम्भावित क्षतिलाई नियन्त्रण गर्नका लागि बाँधिएको बाँध पनि कोसीले भत्काइदिएको छ । केन्द्रीय विपद् व्यवस्थापन टोलीले एक महिना लगाएर उक्त बाँध निर्माण गरेको थियो । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार एक महिनासम्म लगाएर निर्माण गरिएको बाँधसमेत फुटाएर मानव बस्तीतर्फ कोसी लागेपछि २० हजारभन्दा बढी स्थानियवासी प्रभावित भएका छन् ।
सप्तकोसीको बाढीले सप्तरीको कञ्चनरूप नगरपालिका पनि जोखिममा परेको छ । नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेकाले कञ्चनरूपका वडा–१, २, ४, ५, ६ र १० उच्च जोखिममा परेको जानकारी दिए । सप्तकोसी नदीले पश्चिम क्षेत्रमा अत्यधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा पनि सुरक्षित स्थानतर्फ लागेका छन् । बाढीले पश्चिम क्षेत्रको भू–भाग कटान गर्नेक्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन् ।
विगत केही दिनदेखि अविरल रूपमा भइरहेको वर्षासँगै आएको बाढीपहिरोले देशका अन्य भागमा पनि जनजीवन अस्तब्यस्त बनाएको छ । देशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । पहिरो पन्छाए लगत्तै पुनः अर्को ठाउँमा पहिरो जानेक्रम जारी रहेकाले लामो दुरीका यात्रुहरू बिचल्लीमा परेका छन् । बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा पनि बुधबार बिहान पहिरो खसेको छ । पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको स्थानीय प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका–११ लामराङस्थित सडकमा पनि पहिरो खसेको छ । पहिरोका कारण ठिंगन हुँदै ललितपुरको सातदोबाटो निस्कने सवारी साधन चल्न सकेका छैनन् । पहिरो हटाउने कार्य भइरहेको स्थानीय प्रहरीले जनाएको छ । यसैगरी रुपन्देहीमा तुरिया खोलाको बाँध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनयता अविरल रूपमा भएको वर्षाका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका–५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका किसानले धान खेती गरेका थिए । असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् । तुरिया खोलामा १० लाख रुपैयाँमा बाँध निर्माण गरिएको थियो । बाँध भत्किएर खोला खेतमा पस्दा ठूलो क्षेत्रफल डुबानमा परेको छ । किसानको सयौँ बिघा जग्गा डुबानमा परे पनि विपद् व्यवस्थापन समिति लगायतले लापरबाही गरेको आरोप स्थानीयले लगाएका छन् । रोहिणी गाउँपालिका–५ अन्तर्गत तरकुलहा गाउँ नजिक गत वर्ष पनि तुरिया खोला तट भत्काएर किसानको खेतमा पसेको थियो ।
यसैगरी नारायणगढ–मुग्लिन सडक खण्डमा फेरि पहिरो जाँदा सयौँ सवारी साधान रोकिएका छन् । भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा पुनः पहिरो खसेपछि पुर्व पश्चिमतर्फ लागेका सयौं सवारी साधान रोकिन पुगेका हुन् । स्थानीय प्रहरीले बस्ती भएको स्थानमा सवारी साधन पार्किङ गर्न चालकहरूसँग अनुरोध गरेको छ । यात्रुहरूलाई खानपिन, शौचालयजस्ता अत्यावश्यक कार्यमा समस्या नहोस् भनेर प्रहरीले सवारी चालकसँग यस्तो अनुरोध गरिएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बुधबार राती साढे २ बजेतिर मौरी खोला पुलमा फेरि पहिरो गएकाले पन्छाउने कार्य जारी राखिएको छ । उनका अनुसार सोमबार राती ११ बजे पनि पहिरो खसेपछि २३ घण्टा सडक अवरुद्ध भएको थियो । मंगलबार राती पौने १० बजे उक्त पहिरो सफा गरेर सवारी खुलाइएको थियो । तर, लगत्तै बुधबार राती पुनः सोही ठाउँमा पहिरो गएका कारण सयौँ सवारी साधन रोकिन पुगेका हुन् ।
प्रतिक्रिया