आफ्नै भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने आफैँ फन्दामा

महोत्तरी । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् ।

जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।

गत शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला–२ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले रु पाँच लाख नगद लुटेर लगेको प्रहरीलाई बताएका थिए ।

सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो ।

‘लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ’, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दैछौँ ।’

आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको रु पाँच लाख नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेका प्रहरी अनुसन्धानबाट खुलेको हो । चौधरीले प्रहरीसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका प्रहरी निरीक्षक मिश्रले जानकारी दिनुभयो ।

चौधरीले आफ्ना छरछिमेकसँग लिएको सापटी र ऋण तिर्न आफूसँग रकम अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेका छन् ।

अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको नगद राखिएको झोला नाटकीय घटनास्थल नजिकैबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफैँले कोतरेर घाउ बनाएको बयान दिएको प्रहरी निरीक्षक मिश्रले बताए । चौधरी रामगोपालपुरमै मनि ट्रान्सफर सञ्चालन गर्दै आएका व्यापारी हुन् ।

यसअघि हिजो (शनिबार) चौधरी लुटिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएका थिए । प्रहरीले शनिबार साँझ घटनाको यथार्थ अनुसन्धानबारे बताउनुअघि लुटपाट घटनाबारे समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया