अर्बौको मालिक महन्थ आफै असुल्ने धन्दामा

जानकी मन्दिर परिसर खुद्रा व्यापारीको कव्जामा !

जनकपुरधाम । विश्व सम्पदामा सूचिकरणका लागि प्रयासरत रहेको जनकपुरधामको जानकी मन्दिर एकातिर अतिक्रमणको चपेटामा पर्न थालेको छ भने अर्कोतिर मन्दिरको गरगहना हराउन थालेको छ । मन्दिर वरिपरि फुटपाथ अतिक्रमण गरी लगाइएका स–साना पसलहरुलाई हटाएर सम्पदा क्षेत्र जोगाउने प्रयास थालेको जनकपुरधाम उपमहानगरपालिकाको कदम सराहनीय रहेको जनआवाज उठिरहेका बेला मन्दिर परिसर नै अतिक्रमणको चपेटामा पर्न थालेको छ । उपमहानगरले फुटपाथमा सञ्चालित पसल हटाउने अभियान सुरु गरेपछि फूलमाला, मिठाई, सिन्दुर–टीका, चुरा पसलेले अहिले मन्दिर परिसरमै बजार लगाउन थालेका छन् ।


नगरप्रमुख मनोज साहले अतिक्रमण गरी लगाइएका फुटपाथ पसलहरु हटाउन तत्परता देखाएको भन्दै स्थानिय उनको समर्थनमा छन् । मेयर साहले मन्दिर आसपासका पसलहरु हटाउन लगाएर फुटपाथ अतिक्रमणमुक्त गराएको दुई दिन नबित्दै हिन्दु धर्मावलम्बीहरुको धार्मिक धरोहरको रुपमा रहेको जानकी मन्दिरलाई संरक्षण गर्नुको सट्टा स–साना व्यापारीहरुले मन्दिर परिसर नै कब्जा गर्न थालेका छन् ।


मन्दिर परिसरमा गत सोमबारदेखि नै बजार लगाइएको छ । खुद्रा व्यापारीले थापेको पसल तथा पुजा सामग्री बेच्ने स–साना व्यापारीको भीडले मन्दिर परिसर अस्तव्यस्त बनेको छ भने दर्शन गर्न जाने श्रद्धालुले सास्ती भोग्नु परेको छ । मन्दिर परिसर पहिले भन्दा बढि फोहोर बनेको छ । विगतमा मन्दिरको चारैतिर फुटपाथ कब्जा गरेर सञ्चालन गर्दै आएका स–साना छन् ।
उपमहानगरले पसल हटाएपछि खुद्रे व्यापारीहरू मन्दिर परिसरमै व्यापार गर्न थालेका हुन् । यता, स्थानीय एक खुद्रा व्यापारीले मन्दिर परिसरमा सुरु गरेको व्यापारमा आफूहरूलाई महन्त रामतपेश्वर दासको साथ रहेको र मन्दिरले आफूहरूसित दैनिक रुपमा पैसा लिइरहेको खुलासा गरेका छन् । मन्दिरका महन्त दासले पैसा असुलिरहेको उनको दावी छ । जानकी मन्दिर व्यवस्थापनले मन्दिर वरिपरिका फूलमाला, मिठाई, सिन्दुर–टीका तथा तरकारी पसलबाट दैनिक ७० देखि १ सय रुपैयाँसम्म बट्टी उठाउँदै आएको र यसका लागि मन्दिरले दीप साह खटिक नामका एक ठेकेदारललाई नियुक्त गरेको व्यापारीहरु बताउँछन् ।


यससम्बन्धमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आफूले मन्दिर परिसरमा पसल थाप्न अनुमति नदिएको बताएका छन । उनले ती खुद्रा पसलेहरूलाई मन्दिर परिसरबाट हट्न आग्रह गरे । गत बिहीबार नगरप्रमुख मनोज साह, उपप्रमुख किशोरी साहसहितका जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासन तथा युवा क्लबका प्रतिनिधिले सडक पेटीमा थापिएका पसल एवं यत्रतत्र राखिएका निर्माण सामग्री तीन दिनभित्र हटाउन निर्देशन दिएका थिए ।


तर, तीन दिनमा सडक पेटी खाली नगरेपछि सोमबार नगरप्रहरी लगाएर पसलेहरु हटाइएको थियो । नगरप्रमुख साहले नगरलाई सफासुग्घर बनाउन तथा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न नगरभित्रका व्यस्त बजारको सडक पेटी खाली गराउनु आवश्यक रहेको र यस कार्यमा आफूलाई सम्पूर्ण नगरवासीको सहयोग चाहिएको बताए ।


अर्बौ सम्पत्तिको मालिक ‘महन्थ’


धनुषाको परवाहामा गरिब घरपरिवारमा जन्मेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास अहिले अर्बौका मालिक बनेका छन् । जानकी मन्दिरबाट बार्षिक रुपमा उठ्ने भेटी र चढौना झण्डै २ करोड भन्दा वढी रामतपेश्वरले निजी तवरले खर्च गर्छन् । उनले नीजि सम्पति जस्तै जानकी मन्दिरको सम्पति प्रयोग गर्दै आइरहेका छन् । जसको न कुनै आयव्यय सार्वजनिक हुन्छ, न त कुनै लेखापरिक्षण नै ।


मन्दिरको आम्दनीमा मनोमानी


जानकी मन्दिर अधिनस्त पोखरी, बजार, रामजानकी बिवाह मण्डप, सांस्कृतिक संग्रहालय, फोटो ठेक्का लगायतबाट वर्षेनी १० करोड अम्दानी हुन्छ । तर खर्चको कुने लेखाजोखा हुने गरेको छैन् । २०५४ सालमा नियुक्त भएका रामतपेश्वर दास वैष्णव महन्थको पगडी लगाएपछि मन्दिरको श्रीसम्पति आफ्नो नीजि सम्पतिझैं प्रयोग गरिरहेका छन् । महन्त रामतपेश्वरले मनोमानी रुपले मन्दिरको सम्पति प्रयोग गरिरहेको स्थानीयको आरोप छ ।


मन्दिरका महन्थ दासले आम्दानी भन्दा पनि खर्च बढि भएकोले मन्दिरको व्यवस्थापन चलाउन समस्या भएको भन्दै आए पनि मन्दिरको वार्षिक आम्दानी करोडौँ छ । मन्दिरले कन्या पोखरी, कपालमोचानी, महाराजसर, लक्ष्मणसर लगायत दर्जनौं पोखरीको ठेक्कावापत वार्षिक १ करोड, रामजानकी विवाह मण्डपको ठेक्कावापत वार्षिक ३५ लाख र बजार, फलफुल र फुटपाथ ठेक्कावापत वार्षिक २४ लाख आम्दानी गर्दै आएको छ भने सांस्कृतिक संग्रहालय ठेक्कावापत वार्षिक ३० लाख, नटुवा नाच ठेक्कावापत वार्षिक १६ लाख, रामजानकी विवाह मण्डप, सिडि स्टाँल र फोटो ठेक्कावापत वार्षिक १४ लाख, जानकी मन्दिर फोटो खिचाई ठेक्कावापत वार्षिक ९ लाख आम्दानी गर्दै आएको छ । त्यसैगरि जानकी मन्दिर परिसर प्रसाद सटर ३ थान ठेक्कावापत वार्षिक १८ लाख, लक्ष्मण मन्दिरसँगै रहेको सटर भाडावापत वार्षिक २५ लाख,एभरेष्ट बैंकको एटिएमबाट वार्षिक ५ लाख र सुनैना आर्ट ग्यालरीबाट वार्षिक ३ लाख आम्दानी गर्दै आएको छ ।


जनकपुरधाम स्थित रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास विरूद्ध उजुरी परेको छ । उनले सरकारी कागज किर्ते गरी नक्कली परिचयपत्र बनाएको र सो परिचय पत्रले मन्दिरको सम्पती हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको हो ।


जनकपुरधाम उपमहानगरपालिका २३ का वैजनाथ चौधरीले साउन ४ गते गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोधार्थ गरी निवेदन आएको जिल्ला प्रशास कार्यालय धनुषाले जनाएको छ । जानकी मन्दिरमा गुठी संस्थानबाट उत्तराधिकारी महन्तको दरबन्दी नभए पनि दासले सरकारी कागजको रूपमा आफ्नो नाउमा जानकी मन्दिरको उत्तराधिकारी महन्तको परिचयपत्र किर्ते बनाई गुठी संस्थानको किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ । निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेको बारे आफूलाई थाहा नभएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।


हराएको मन्दिरको गहना कहाँ छ ?


विगत केहि दिन पहिले सौर्य दैनिकले जानकी मन्दिरको अर्बोको गहना हराएको समाचार प्रमुखताका साथ छापेको थियो । समाचारले सम्पुर्ण सरोकारवाला निकायहरुमा कोलाहल मचाए पनि हराएको गहना खोजीका लागि कसैले पहल गरेको छैन । महालेखापरिक्षकको प्रतिवेदनमा मधेश प्रदेश सरकारको वेरुजुको कच्चा चिठठा खोलेपछि प्रदेशका मन्त्रीहरु अहिले मिडियाबाट टाढिएका छन भने यससम्वन्धमा जनकपुरधाम उपमहानगरपालिकाले समेत कुनै चासो लिएको छैन । मन्दिरको गहना हराएको सम्वन्धमा सौर्य देनिकमा समाचार आएपछि मधेशी आयोगले भने चासो लिएको छ । मधेशी आयोगले जानकी मन्दिरको गरगहना हराएको सम्वन्धमा खोजखवर गर्ने भनेर जानकारी गराए पनि अहिलेसम्म कुनै किसीमको पहल गरेको छैन ।

प्रतिक्रिया