शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी सुरु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी गर्न थालिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलव्ध गराउन वडा–९ स्थित सिसैयाबाट नापी सुरु गरेको हो । जग्गा नाप नक्सासम्बन्धी कार्यविधिअन्तर्गत रहेर जग्गा नापीको कार्य अगाडि बढाइएको आयोगका जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाले बताए । ‘जग्गा नाप गरी संधियार राखेर फिल्ड मुचुल्का तयार गरिन्छ’, उनले भने, ‘तयार गरिएको नक्सा प्रमाणित गर्न आयोगमा पठाउनुपर्ने हुन्छ । त्यसपछि जग्गाको फिल्डबुक कायम गरी जग्गाधनी प्रमाणपत्र बनाइन्छ ।’

यो राष्ट्रिय अभियानको कार्य भएकाले अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गा कसरी उपलव्ध गराउन सकिन्छ भन्दै कार्य अगाडि बढाइएको अध्यक्ष ढुंगानाले बताए । ‘विगतका आयोगले जग्गासम्बन्धी समस्या समाधान नगर्दा समस्यको थुप्रो लागेको छ’, उनले भने, ‘जग्गा एकले कमाउँदै छ तर अर्काले हक दाबी गर्छ । यस्तो अवस्थामा जसको चलनभोगमा वर्षौंदेखि जग्गा छ । त्यसैको नाममा जग्गा नापी हुन्छ । वास्तविक जग्गाधनीलाई मात्रै स्वामित्व प्रदान गर्छौं ।’

जग्गा नापी भइ फिल्डबुक कायम भएकाले सेतो जग्गाधनी प्रमाणपत्र पाएकाबारे अध्ययन भइरहेको अध्यक्ष ढुंगानाले उल्लेख गरे । नापी शुभारम्भ गर्दै नगरप्रमुख रणबहादुर महराले लामो समयदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएका व्यक्तिलाई चाँडै जग्गाको मालिक बनाइने बताए ।
‘जग्गा नापीको कार्य यति चाँडै होला भन्ने सोचेका थिएनौँ’ उनले भने, ‘छोटो अवधिमै अव्यवस्थित बसोबासी जग्गाका मालिक बन्न लागेका छन् । चुनाव जितेर आएपछि पहिलो कार्यका रूपमा नापीलाई अगाडि बढाएका छौँ । चुनावका बेला जग्गाको स्वामित्व प्रदान गर्ने कुरा उठाएका थियौँ । त्यो वाचा पूरा गर्न प्रतिबद्ध छौँ ।’

जग्गा नापी गर्दा निष्पक्ष रूपमा गर्नुपर्ने उपप्रमुख कल्पना पन्तले बताइन् । ‘यस कार्यमा सबैको साथ र सहयोग चाहिन्छ’, उनले भनिन्, ‘सबैको सहजीकरणको आवश्यकता छ ।’ नापी अधिकृत पुष्करबहादुर पालले भूमि आयोगले जारी गरेको निर्देशिका अध्ययन गरी नाप नक्सा गर्नुपर्ने बताए ।
वडा–९ मा ४ सय ३५ र नगरपालिकामा १२ हजार अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्रका लागि आयोगको कार्यालयमा निवेदन दिएका थिए । नगरपालिकामा पहिलो चरणमा निस्सा वितरणको कार्य पूरा भएका वडा–१, ३ र ९ मा नापीको कार्य हुने बताइएको छ ।

कञ्चनपुर जिल्लाको बेदकोट, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा जग्गा नापीको कार्य सुरु भएको छ । जिल्लामा हालसम्म ३ हजार १ सय ५१ भूमिहीन, दलित र सुकुम्बासीले बसोबासका लागि फाराम भरेका छन् । ३९ हजार अव्यवस्थित बसोबासी र आयोगको जिल्लास्थित कार्यालयबाट ६ हजार ४ सय १७ जनाले जग्गाको अधुरो कार्यका लागि फाराम भरेका छन् ।

प्रतिक्रिया