काभ्रेपलाञ्चोक । जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष ०७९/८० का लागि योजना तथा बजेट निर्माणमा व्यस्त छन् । नवनिर्वाचित यहाँका जनप्रतिनिधि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजना तर्जुमा तथा स्थानीयस्तरमा भेला, गोष्ठी गरिरहेका छन् । केही पालिकाले भने नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडाध्यक्ष तथा वडासचिव लक्षित बजेट निर्माण प्रक्रियाका विषयमा जानकारी गराउन विज्ञ नै डाकेर गोष्ठीसमेत आयोजना गरेका छन् । नमोबुद्ध नगरपालिकाले गतसाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल र स्थानीय विकासका विज्ञ विष्णुदत्त गौतमलाई योजना तथा बजेट निर्माणका विविध विषयमा प्रशिक्षण दिन लगाएको थियो ।
खनाल र गौतमले पालिकाका स्रोत, समस्या र चुनौती तथा चालु आर्थिक वर्षभित्रै गर्नुपर्ने कामका विषयमा जानकारी दिनुका साथै नागरिकको आम्दानीमा वृद्धि गर्नुपर्ने, भौगोलिक अवस्था, ऐतिहासिक सम्पदा, कृषियोग्य भूमिलगायतका जानकारी गराउँदै अहिलेदेखि नै योजनाबद्धरूपमा अघि बढ्ने हो भने पाँच वर्षमा स्थानीय तहको मुहार फेरिनेबारे जानकारी गराएका थिए ।
साथै उनीहरूले स्थानीय तहको राजस्व अधिकार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण, तीन तहका सरकारले उठाउन पाउने कर, त्यसको बाँडफाँट र परिचालनलगायतका विषयमा जानकारी दिए ।
नमोबुद्धका नगरप्रमुख कुन्साङ लामाले विकास देखिने र प्रभावकारी हुने खालका योजना ल्याउन वडाध्यक्षलाई आग्रह गरिएको बताए । ‘सबै वडाको समग्रमा विकास भए मात्रै नगरको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुआती वर्ष भएकाले दीर्घकालीन योजनाको खाका बनाउन लागेको छौँ’, उनले भने । उनले उत्कृष्ट योजना ल्याई समयमै काम सम्पन्न गर्ने वडालाई पुरस्कृत गर्ने नीति बनाउने बताए ।
संवैधानिक व्यवस्थाअनुसार यही १० असारभित्र आगामी आवका लागि बजेट विनियोजन गरी प्रस्तुत गर्नुपर्ने भएकाले यहाँका स्थानीय तहलाई योजना छनोटसँगै बजेट निर्माणमा चटारो परेको हो । अधिकांश तहले वडास्तरका योजनातर्जुमा गरिसकेका छन् भने केही तहले वडागतरूपमा पाउने ‘बजेट सिलिङ’ पठाएका छन् । सोही आधारमा केही वडाले योजना निर्माण गरेको पाइएको छ ।
काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन् ।
जिल्लाका अधिकांश तहले असार १० गते नै आगामी आवका लागि बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन् । बजेट निर्माणका लागि वडाबाट आएका योजनालाई प्राथमिकीकरण गर्दै कार्यान्वयनमा लैजाने धुलिखेल नगरप्रमुख अशोक व्याञ्जुले बताए । उनले भने, ‘हामी विभिन्न बैठक, छलफल र भेलामार्फत हाल बजेट निर्माणको तयारीमा जुटे्का छौँ ।’ उनले चौँरी देउराली गाउँपालिकाले भने आगामी आवका लागि योजनातर्जुमा गर्न सर्वपक्षीय बैठक नै आह्वान गरेको छ ।
मंगलबारका लागि तय गरिएको बैठकमा सबै वडा अध्यक्ष, पालिकामा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दल, शिक्षकका विभिन्न संगठन, नागरिक समाजका अगुवा, बुद्धिजीवी, समाजसेवी, योजनाविद्, विभिन्न युवा क्लबलगायत संघसंस्था तथा युवासँग सरोकार राख्ने व्यक्तिसमेतलाई सहभागीका लागि अनुरोध गरिएको छ ।
‘स्थानीय नागरिकको अधिकतम माग गुनासो र आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सर्वपक्षीय बैठक आह्वान गरेका हौँ’, गाउँपालिका अध्यक्ष रेणुका चौलागार्इंले भने । उक्त गाउँपालिकाले पनि असार १० गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने योजना बनाएको छ ।
पाँचखाल नगरले आउँदो शुक्रबार प्रस्तुत गर्ने नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्न नगरसभा सदस्यलाई निमन्त्रणा गरेको छ । ‘हामी योजनाका लागि बजेट निर्माणमै व्यस्त छौँ, असार १० गते नै बजेट प्रस्तुत गर्नेछौँ’, नगरप्रमुख महेश खरेलले भने । उहाँका अनुसार ११औँ नगरसभामार्फत ‘पाँचखाल नगर, कृषि सहर’को नारालाई थप मजबुत बनाउन नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिनेछ ।
उक्त नगरले पाँच दिनको समयसीमा तोकर बुधबारसम्म ३० लाखसम्मको बजेट सिलिङभित्र रही योजना बनाई कार्यालयमा उपलब्ध गराउनसमेत सबै वडालाई पत्राचारसमेत गरेको छ । पत्रमा ‘आगामी आवका लागि नगरबाट अवलम्बन गरिने नीति, कार्यक्रम तथा बजेट तयार गर्नुपर्ने भएकाले के, कस्ता विषय÷कार्यक्रम समावेश गर्न सकिन्छ ? आफ्नो अमूल्य सुझावसहित तोकिएको बजेट सिलिङअनुसार बुधबारसम्मा योजना उपलब्ध गराउन हुन अनुरोध गरिएको उल्लेख छ ।
प्रतिक्रिया