लहान । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले दुई हजार थानभन्दा बढी विभिन्न लागूऔषधसहित उनीहरुलाई आईतबार राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकिका अनुसार आईतबार राति ११ बजे इलाका प्रहरी कार्यालय लहान सिरहाबाट डीएसपी कुमारप्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा लहान नगरपालिका–८ स्थितमा मोहम्मद ।
अफजतले सञ्चालन गरेको आल्मुनियम पसल तथा दयाराम ठाकुरको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका भारत मधुवनी जिल्ला, पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान नगरपालिका–५ बस्ने मोहमद अखतरले आल्मुनियम पसललाई लागूऔषध कारोबारको अड्डा बनाएका थिए ।
यस्तै उनलाई भारत मधुवनी जिल्ला, ग्राम पंचायत खरियोग थाना पिप्राही धर्मेन्द्र कुमार ठाकुर र स्थानीय गौतम ठाकुरले साथ दिइरहेका थिए । प्रहरीले उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डिसी ४३९ बोतल, स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद भएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नेपाली रुपैयाँ ४३,५०० र तीनथान मोबाइल समेत बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया