एमाले उपाध्यक्ष नेम्बाङको जिल्लामा एमाले खुम्चियो

कांग्रेस, समाजवादी र जसपा बढ्यो

इलाम । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङको गृह जिल्ला इलाममा नेकपा एमाले खुम्चिएको छ । गत ३० वैसाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमाले अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा खुम्चिएको छ । एमाले खुम्चिँदा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले भने स्थानीय तहमा जित बढाएका छन् । भर्खरै स्थापना भएको नेकपा (एकीकृत समाजवादी) ले पनि एक सिट जितेको छ । इलामको सबै ४ नगरपालिका र ६ गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले २ नगरपालिका प्रमुख र २ उपप्रमुख, ३ गाउँपालिकामा अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १ नगरपालिका प्रमुख, २ उपप्रुमख, ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले १ नगरपालिका प्रमुख र १ गाउँपालिका उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले १ उपाध्यक्ष जितेको छ । गठबन्धनमा १ नगर प्रमुख, १ उपप्रमुख र १ उपाध्यक्ष पाएको नेकपा (माओवादी केन्द्र) ले जित हासिल गर्न सकेन ।

यस पटकको निर्वाचनमा एमाले खुम्चिनु मात्र होइन, विगत ३० वर्षदेखिको एमालेको एकल वर्चस्व रहेको इलाम समेत गुमाएको छ । एमाले उपाध्यक्ष नेम्बाङको क्षेत्रमा पर्ने इलाम नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी बनेको छ । प्रमुखमा कांग्रेसका केदार थापा र उपप्रमुखमा विष्णु दाहाल लिम्बू विजयी भएका छन् । यो क्षेत्र विगत ३० वर्षदेखि लगातार एमालेले जित्दै आएको क्षेत्र हो ।

त्यस्तै नेम्बाङकै निर्वाचन क्षेत्र चुलाचुली गाउँपालिका अध्यक्षमा पनि गठबन्धनका तर्फबाट कांग्रेसका राजेन्द्र केरुङ विजयी भए । उपाध्यक्षमा भने एमालेकी दिलु योङहाङ लावती विजयी भइन् । उता पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको क्षेत्रमा रहेको सूर्योदय नगरपालिका प्रमुखमा एकीकृत समाजवादीका रणबहादुर राई र उपप्रमुखमा कांग्रेसका दुर्गाकुमार बराल विजयी भए । सन्दकपुर गाउँपालिका अध्यक्षमा गठबन्धनकै तर्फबाट कांग्रेसका तुलनाराम गुरुङ विजयी भए भने उपाध्यक्षमा एकीकृत समाजवादीका हरि लुङ्गेली विजयी भएका छन् ।

रोङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट सुवास स्याङ्बो विजयी भए भने उपाध्यक्षमा एमालेकी विष्णुमाया खवास विजयी भइन् । उता नेम्बाङकै क्षेत्रमा पर्ने अर्को १ नगरपालिका र २ गाउँपालिकामा भने एमालेले जित हासिल गर्न सफल भएको छ । देउमाई नगरपालिका प्रमुखमा एकालेका सुर्य पोख्रेल र उपप्रमुखमा पविमाया राई विजयी भएका छन् । माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी भए ।

प्रदेश १ को प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका तर पराजित भएका नेकपा (एमाले) का नेता काजीमान कागते

उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भए । फाकफोकथुम गाउँपालिका अध्यक्षमा एमालेकै दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राई विजयी भएका छन् । त्यस्तै खनाल र नेम्बाङ दुवैको क्षेत्रमा पर्ने माई नगरपालिकामा प्रमुख र उपप्रमुख एमालेले जितेको छ । प्रमुखमा एमालेका खम्बासिंह लिम्बू र उपप्रमुखमा हिमा भण्डारी विजयी भएका छन् । खनालकै क्षेत्र माईजोगमाई गाउँपालिका अध्यक्षमा समेत एमालेका कुशबहादुर थेवे विजयी भए । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट कांग्रेसकी प्रविना राई विजयी भइन् ।

२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले इलामको १० स्थानीय तहमध्ये ७ पालिका प्रमुख र ९ उपप्रमुख जितेको थियो । एमालेले माङसेबुङ र फाकफोकथुम गाउँपालिकाको अध्यक्ष एवम् रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षबाहेक सबै पालिका प्रमुख र उपप्रमुख जितेको थियो । ति पालिका मात्र कांग्रेसले जितेको थियो । तर २०७९ को चुनावको परिणाम आउँदै गर्दा एमालेले माङसेबुङ र फाकफोकथुम त जित्यो, तर अन्य पालिका गुमाएको छ । अहिले एमाले खुम्चिँदा कांग्रेसले दोब्बरले प्रतिफल पाएका छन् । कांग्रेसले अघिल्लो पटक पराजय भोगेको इलाम नगरपालिका, चुलाचुली गाउँपालिका र सन्दकपुर गाउँपालिकामा समेत जित हासिल गर्दै इतिहास रचेको छ ।

२०७४ मा एक जना पालिका नजितेको जनता समाजवादी पार्टीले यस पटक १ पालिका उपाध्यक्ष जितेको छ । माङसेबुङ गाउँपालिकामा उपाध्यक्ष जितेर जसपाले इतिहास पनि बनाएको छ । न सांसद रहे, न मेयर बने । प्रदेश १ को प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका नेकपा (एमाले) का नेता काजीमान कागते पराजित भएका छन् ।

कागते इलामको सूर्योदय नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनलाई नेकपा (एकीकृत समाजवादी) का रणबहादुर राईले पराजित गरेका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राई १२ हजार ४ सय ३१ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले १० हजार ५ सय ७९ मत मात्र पाए । राई २०७४ को निर्वाचनमा पनि तत्कालिन एकालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

कागते एमाले प्रदेश कमिटि सदस्य हुन् । प्रदेशसभाबाट सुविधा पाइरहेका कागेत मेयर बन्न राजिनामा दिए तर पराजित भएपछि विचल्लीमा परेका छन् ।

पहिले जोसँग हारे, अहिले उसैलाई हराए

२०७४ मा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले नेकपा एमालेका हेमन्त राईलाई पराजति गरे । तत्कालीन संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी) को साथ पाएको इदिङ्गोले ५ सय ७८ को मतान्तरमा जित हात पारेका थिए। तर उनलाई साथ दिने जनता समाजवादी पार्टीबाट उपाध्यक्षको उम्मेदवारी दिएका बिनोद नेम्वाङलाई एमालेकी उम्मेदवार सुनिता सुब्बाले ३ सय १८ मतान्तरले हराइन् ।

५ वर्षपछि भएको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भने पुरानै दोहोरिए । एमालेले पुरानै उम्मद्वारहरु अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता सुब्बालाई दोहोर्‍याउने निर्णय गर्‍यो । उता गठबन्धनका तर्फबाट कांग्रेसले पनि अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा विनोद नेम्बाङलाई नै दोहोर्‍यायो ।

तर, यसपटक परिणाममा ‘उलटफेर’ भयो । अघिल्लो पटक अध्यक्ष पदमा राई पराजित हुँदा उपाध्यक्ष पदमा सुब्बा निर्वाचित भएकी थिइन् । तर यसपटक भने अध्यक्ष राई निर्वाचित हुँदा उपाध्यक्षमा सुब्बा पराजित भइन् । विपक्षीको परिणाम पनि उस्तै भयो ।

अघिल्लोपटक अध्यक्षमा इदिङ्गो निर्वाचित हुँदा उपाध्यक्षमा नेम्बाङ पराजित भएका थिए । तर यसपटक अध्यक्षमा इदिङ्गो पराजित हुँदा उपाध्यक्षमा नेम्बाङ निर्वाचित भए । अर्थात, अघिल्लो निर्वाचनमा राई र नेम्बाङ जोसँग हारे, यसपटक उनैलाई हराए ।

एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा इदिङ्गोले ३ हजार ४ सय ९५ मत मात्र पाए । उता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेम्वाङले ३ हजार ७ सय २९ मत पाउँदा सुनिता सुब्बाले ३ हजार ४६ मत मात्र पाइन् ।

जिल्ला समन्वय समिति गठनमा समस्या

अन्तिम मतपरिणाम आएसँगै इलाममा जिल्ला समन्वय समिति गठनमा समस्या देखिएको छ । १० स्थानीय तह रहेको जिल्लामा समन्वय समिति गठनका लागि ११ जना प्रतिनिधि आवश्यक पर्छ । तर इलाममा कुनै पनि पार्टीले आवश्यक बहुमत प्राप्त गर्न सकेन ।
नेकपा एमालेले १० जना पालिका प्रमुख/उपप्रमुख जित्दा नेपाली कांग्रेसले ७ पालिका प्रमुख/उपप्रुमख जितेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले २ पालिका प्रमुख/उपप्रमुख जितेको छ भने जनता समाजवादी पार्टीले १ पालिका उपप्रमुख जितेको छ ।
एमाले बाहेक अन्य सबै दलको गठबन्धन हुँदा समेत जिसस गठन हुने अवस्था छैन । तर एमालेलाई कुनै पनि एक दलले सहयोग गरेमा जिसस गठन हुन सक्छ । सोही कसरतमा एमाले लागेको छ । उसले जिसस प्रमुख पाउनका लागि एकीकृत समाजवादी र जनाता समाजवादीसँग अनौपचारिक छलफल समेत सुरु गरेको बुझिएको छ ।

यसरी बन्दछ जिल्ला समन्वय समिति

नेपालको संविधानको धारा २२० मा नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा जिसस गठन गरिसक्नुपर्ने प्रावधान छ । गाउँ, नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थासहित त्यस्तो समिति गठन गर्ने व्यवस्था संविधानमा छ ।

एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला सदस्य र कम्तीमा एक दलित वा अल्पसंख्यक रहने गरी बढीमा ६ देखि ९ सदस्यसम्मको समन्वय समिति रहने व्यवस्था छ । जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणको कामको अनुगमन तथा संघ र प्रदेशअन्तर्गतका सरकारी कार्यालयको अनुगमन गर्नेजस्ता काम समितिले गर्न पाउँछ ।

प्रतिक्रिया