उद्योग संरक्षण गर्न भन्सार बढाउने तयारी

काठमाडौं । स्वदेशी उद्योग संरक्षणका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सूचीसहित सुझाव दिएको छ । कच्चा पदार्थ र तयारी वस्तुको भन्सार अन्तर धेरै नभएपछि अन्तर बढाउन महासंघले सुझाव दिएको हो । आर्थिक वर्ष २०७६।७७ मा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सेन्थेटिक जुसमा आयात प्रतिबन्ध तथा भन्सार महसुल वृद्धि गर्दा यस किसिमका उद्योगमा स्वदेशी लगानी थपिएको थियो ।

यस्तै आगामी आर्थिक वर्षको बजेटमा पनि भन्सार महसुल अन्तर गरी स्वदेशी उद्योग संरक्षणका लागि तयारी गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले कुन–कुन वस्तुमा भन्सार अन्तर गर्न आवश्यक छ भन्ने सुझाव लिखितरुपमै मागेपछि महासंघले सोहीबमोजिम तयारी वस्तु र कच्चा पदार्थको महसुल अन्तरको सूची तयार पारेको हो ।


स्वदेशी उद्योग संरक्षणका लागि तयारी वस्तु र कच्चा पदार्थको महसुल अन्तर हुनैपर्ने भएकोले लिखितरुपमै कुन वस्तुमा कति महसुल लगाउने भनि सुझाव तयार गरेको महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । महासंघले ७७ प्रकारका वस्तुका लागि भन्सार महसुलमा अन्तर कायम गर्नुपर्ने सुझाएको छ ।


अहिले मुसुरो, मास र रहरको दालमा भन्सार १० प्रतिशत लाग्दै आएको छ । यसलाई २० प्रतिशत बनाउनुपर्ने सुझाव दिइएको छ । नेपालमा थुप्रै दाल उद्योग भएकाले यी उद्योगको संरक्षण गर्न भन्सार महसुल वृद्धि गर्न भनिएको हो ।

चना आयातमा अहिले १० प्रतिशत भन्सार महसुल तिर्नुपर्ने व्यवस्था छ । तर बेसनको पिठो आयात गर्दा भने ५ प्रतिशत मात्रै भन्सार तिरे पुग्छ । यसलाई बढाएर चनाकोभन्दा बढी हुने गरी १५ प्रतिशत पु¥याउन भनिएको छ ।

यस्तै तयारी स्टेशनरी सामाग्रीहरु कापी, रजिष्टर, डे–बुक, डायरी इत्यादि आयात गर्दा हाल २० प्रतिशत भन्सार लाग्दै आएको छ । यसलाई बढाएर ३५ प्रतिशत पु¥याउन भनिएको छ । तयारी इन्डेक्स फाइल अहिले प्रतिगोटा ०.६ का दरले आयात हुन्छ यसमा ०.९ प्रतिशत भन्सार लगाउन भनिएको छ । यस्तै तयारी कापी रजिष्टार डेबुक डायरीमा प्रतिगोटा १.७५ डलर लाग्दै आएकोमा ४ डलर लगाउन सुझाइएको छ ।

कोका मिसिएको वा नमिसिएको तयारी आइसक्रिम आयात गर्दा लाग्दै आएको साढे ९ प्रतिशत भन्सार महसुललाई बढाएर ४० प्रतिशत पुर्याउन सुझाइएको छ । यस्तै आइसक्रिम कोनको भन्सार भने अहिलेको ४० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याउन भनिएको छ ।

यस्तै बेबी डाइपर, सेनिटरी प्याडहरु उत्पादन गर्न नेपालमै उद्योगहरु खुलिसकेकाले यी वस्तु आयातमा अहिले कायम १५ प्रतिशत भन्सारलाई दोब्बर (३० प्रतिशत) पु¥याउन भनिएको छ ।
महासंघले दिएको अर्को सुझावमा अहिले नेपालको निर्यात रकममा उल्लेख्य भूमिका देखिँदै आएको सनफ्लावर, पाम, सोयाबिन, भेजिटेबल इत्यादि तेलको निर्यातमा लाग्दै आएको भन्सार झन्डै दोब्बरले बढाउनुपर्ने औंल्याइएको छ । तेस्रो देशबाट आयात गरेर भारत निर्यात हुने यी वस्तुहरुमा स्वदेशी उद्योगको मूल्य अभिवृद्धिका लागि अहिले १५ प्रतिशत महसुललाई २५ प्रतिशत पुर्याउन भनिएको हो ।

थोपा सिंचाईंको पाइप मल्चिङ प्लास्टिक आयात गर्दा अहिले सरकारले एक प्रतिशत मात्र भन्सार लिँदै आएको छ । यो वस्तु नेपालमै उत्पादन हुने भएकाले यसको भन्सारलाई बढाएर ३० बनाउनुपर्ने भनाइ महासंघको छ । सिमेन्ट उद्योगमा प्रयोग गरिने फ्लाई एस आयातमा हाल लाग्दै आएको प्रतिटन एक हजार भन्सारलाई शुन्यमा झार्न भनिएको छ ।

लुब्रिकेन्ट बनाउन प्रयोग गरिने बेस आयलमा भने ३० प्रतिशत भन्सार महसुल घटाउन भनिएको छ । यस्तै तयारी फुटवेयर, अप्पर मेटेरियल र सम्पूर्ण कच्चा पदार्थमा क्रमशः ३०, १५ र ५ प्रतिशत भन्सार लगाउन भनिएको छ । तयारी जुत्ता चप्पलको भन्सार महसुल भने वृद्धि गर्न सुझाइएको छ । स्लिपर चप्पलहरुमा प्रतिजोर ३ सय ५०, फेन्सी चप्पलमा ५ सय, स्पोर्ट जुत्ताहरुमा १२ सय, लेडिज चप्पलमा ७ सय, पार्टी जुत्तामा २ हजार, गमबुटमा ४ सय ५० लेडिज जुत्तामा ८ सय, क्यानभास जुत्ताहरुमा ८ सय भन्सार महसुल लगाउन भनिएको छ । यी वस्तुहरुमा भन्सार महसुल वृद्धि गर्दा सरकारको राजस्वमा समेत वृद्धि हुने अनुमान गरिएको छ । यसैगरी कम भन्सार मूल्यांकन भएका वस्तुमा भन्सार बढाउन भनिएको छ ।

प्रतिक्रिया