काठमाडौं । नेपाली कांग्रेसबाट टाेखा नगरपालिकाकाे मेयर पदकी उम्मेदवार रजनी थापाले टोखा नगरलाई नेपालको पहिलो हरित सहर बनाउने बताएकी छिन् । चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै थापाले यस्ताे बताएकी हुन् ।
उनी देशकै कान्छी मेयर उम्मेदवार हुन् । ३० वर्षीया थापाको राजनीतिक सक्रियता निकै लोभलाग्दो देखिन्छ। नेपाली कांग्रेस, काठमाडाैं क्षेत्र नं. ५ की सचिवसमेत रहेकी थापा राजनीतिमा मात्रै नभइ सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी रजनी सचेतना नेपाल फाउन्डेसनकी अध्यक्ष पनि हुन् ।
‘टोखा नगरको सर्वाङ्गीण विकास गरि सम्मुन्नत नगर बनाउनु म र मेरो पार्टी नेपाली कांग्रेसको एक मात्र ध्येय रहेको छ ।’ उनले भनेकी छिन् । ब्यवस्थित र सुविधा सम्पन्न वस्ती विकास गर्दै भौतिक पूर्वाधार सम्पन्न टोखा बनाउनु आजको आवश्यकता भएकाे थापाकाे भनाइ छ ।
कृषि, युवा उद्यम, सर्वसुलभ स्वास्थ्योपचार, शिक्षा, हरित सहरको निर्माण, पर्यटनमा विशेष प्राथमिकता दिई सबै टोखावासीलाई स्वस्थ्यकर खाना, गुणस्तरीय शिक्षा, उद्यमशिलताको विकास र रोजगारी सिर्जना गर्दै टोखा नगर देशकै पहिलो हरित सहर बनाउने आफ्नाे लक्ष्य रहेकाे थापाले बताइन् । ‘मलाई सुख, सुविधा, सान, मान, सम्मान चाहिएको छैन, केवल जनताको सच्चा सेवक बन्ने अवसर मिलोस्’ उनले भनिन् ।
टोखामा हुने हरेक विकास निर्माण र सामाजिक काममा संलग्न रहँदै आएकी थापाले यसपटक भने मेयरमा जित हात पार्ने दाबी गरिन्। देशभर गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रँदै गर्दा टोखामा भने कांग्रेसले एक्लै चुनाव लड्दैछ।
यसअघि एमालेले जितेको यस नगरमा अहिले कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उठेका छन् । राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिनु पर्ने बताउँदै थापाले भनिन्, ‘यसअघि टोखाबाट जितेकाहरूले गर्न नसकेको काम यसपटक म गरेर देखाउँछु।’
कर्म गर्नुस्, फल आफैं मिल्छ भन्ने मान्यता बोकेर अघि बढेकी थापाले विगतमा आफूले गरेका कामको मूल्यांकन यसपटक टोखावासीले गर्ने विश्वास व्यक्त गरिन् । टोखा नगरपालिकालाई विकासका हरेक आयामसँग जोड्न उनले हालै मात्र चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन् ।
‘टोखा नगरपालिकाले अहिले पनि विभिन्न समस्याहरु सामना गरिरहेका छ। शिक्षा, स्वास्थ्य, स्वरोजगार, यातायात, विद्युत, पानी लगायतका अत्यावश्यक पूर्वाधारहरुको उचित विकास तथा आम नगरवासीको समान पहुँच अझैसम्म पुगिनसकेको अवस्था छ।’ थापाले घोषणापत्रमा उल्लेख गरेकी छिन् ।
‘भ्रष्टाचार, अनियमितता, लैंगिक, जातिय, क्षेत्रिय, वर्गिय लगायतका विभेदको कुनै गन्ध आउन दिने छैन। जनतालाई केन्द्रमा राखेर पूर्ण पारदर्शी, जवाफदेही र सेवामूखी कार्य गर्न म कटिवद्ध छु र सदा रहनेछु।’ उनले भनिन् ।
प्रतिक्रिया