स्थापितलाई अर्को स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको विषयलाई लिएर काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितलाई अर्को स्पष्टीकरण सोधेको छ । स्थापित नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुन् । काठमाडौं महानगरकै मेयर पदका उम्मेदवार बालेन शाहमाथि गरेको टिप्पणीको विषयलाई लिएर आयोगले स्थापितसँग पुनः स्पष्टीकरण सोधेको हो । चर्चित र्यापर शाहले मेयर पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

स्थापितसँग २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ माग गरिएको छ । स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । सोही विषयलाई लिएर अहिले आयोगले स्थापितलाई स्पष्टीकरण सोधेको हो ।

‘नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन शाहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकाले सो विषयमा आधार र कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि यौन दुव्र्यवहारसम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि अमर्यादित व्यवहार गरेको भन्दै आयोगले स्थापितसँग स्पष्टीकरण सोधेको थियो । गत १५ गते काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितलाई यौन दुव्र्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । त्यसको जवाफमा स्थापितले ‘यु आर नाइस लेडी तर, थुतुनो ठीक छैन’ भनेका थिए । पहिलोपटक सोधिएको स्पष्टीकरणको जवाफ भने स्थापितले आयोगलाई बुझाइसकेका छन् ।

आयोगले हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दललाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिसकेको छ । आयोगले आचारसंहिता उल्लंघन गरेको विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, वागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान र निर्वाचन पर्वेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलसँग पनि स्पष्टीकरण माग गरेको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार धर्मानन्द चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार अमृत खनाल, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे लगायतलाई पनि आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया