प्रचण्डले फेरि धोका दिने पो हुन् कि : कांग्रेस नेताहरू

चितवन । भरतपुर महानगरपालिका उम्मेदवारहरूका लागि पाँच दलीय गठबन्धनले चुनावी सभा आयोजना गर्यो । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।

सभामा नेपाली कांग्रेसका नेताहरूको बाहुल्यता छ । जसमा बोल्ने अधिकांश कांग्रेस नेताहरूको चिन्ता एउटै थियो– प्रचण्डले फेरि धोका पो दिने हुन् कि !

उनीहरूको चिन्ताको विषय किन भयो ? त्यसका लागि २०७४ सालको स्थानीय तह निर्वाचनतर्फ जानुपर्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । जहाँ माओवादीबाट रेणु दाहालले मेयर जितिन् भने उपमेयरमा कांग्रेसबाट पार्वती केसी विजयी भइन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एमालेसँग तालमेल गर्नुका साथै पार्टी एकता नै गराए । जसले गर्दा कांग्रेस त्यही बेलादेखि माओवादीसँग सशंकित हुन थालेको हो ।

जुन कुराको आशंका कांग्रेस चितवनका नेताहरूले संयुक्त चुनावी सभामा पनि व्यक्त गरे । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले प्रचण्डलाई धोका नदिन आग्रह गरे । चुनावी सभामा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम, धोका दिने काम नहोस्, जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौँ, त्यो तीन महिनापछि टुट्यो ।’

उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने बताए । कांग्रेस चितवनले जसरी पनि रेणुलाई जिताउने भन्दै माओवादीले धोका दिन नहुने उनको भनाइ थियो ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । गठबन्धनका नेताहरूले गठबन्धनको निरन्तरता हुने प्रतिज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताए ।

विगतमा कांग्रेस चितवनलाई धोका दिएको स्मरण गराउँदै उनले निरन्तरता हुने प्रतिज्ञा मागेका हुन् । चुनावका लागि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शंका उत्पन्न भएको बताए ।

‘नेताज्यूहरुले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गर्नुपर्यो, तब मात्र चितवनका जनताले विश्वास गर्छन्, तपाईंहरूले यो गठबन्धन निरन्तर लाने प्रतिज्ञा गर्नुस्, हामी तलका कार्यकर्ता तपाईंहरुको पछि पछि लाग्छौँ,’ उनले भने ।– न्युज कारखाना

प्रतिक्रिया