बजेटको विरोधमा चक्का जाम

काठमाडौं, ६ मंसिर । सरकारले राजनीतिक सहमतिविना बजेट ल्याउनुका साथै संविधानसभाको निर्वाचन बैशाख सम्म सार्न गरेको निर्णयको बिरोधमा नेपाल विद्यार्थी संघले राजधानीका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
नेविसंघको प्रदर्शन र चक्का जामका कारण आज राजधानीको यातायात व्यवस्था केही समय प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । आकस्मिक रुपमा गरिएको प्रदर्शनले क्याम्पस अगाडि तनाव उत्पन्न भएको थियो ।
आरआर, अस्कल, कीर्तिपुर, पाटन, मीनभवनलगायतका क्याम्पस अगाडि आधा घण्टा चक्का जाम र प्रदर्शन गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
यसैबीच, नेविसंघले मंसिर–७ गतेलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको छ । सोही कारण भोलि बिहीबार विहान नौ बजे शंकरदेव क्याम्पसबाट विरोध र्‍याली निकाल्ने प्रवक्ता लामिछानले बताए ।

प्रतिक्रिया