काठमाडौं । ‘लोकतन्त्रको आधारशिला : व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस भव्यरूपमा मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको सातौँ राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको बैठकले सो नारा तय गरेको हो ।
बैठकले विभिन्न कार्यक्रमको आयोजना गरी दिवसलाई भव्यरूपमा मनाउने निर्णय पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले आमसञ्चार, पत्रकारिता, सञ्चारसम्बद्ध संस्था, आमसञ्चारसम्बन्धी प्रतिष्ठान र सञ्चारगृहले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
यसैगरी सञ्चारमाध्यम, सञ्चारगृह र पत्रकारलाई विशेषांक, लेख, संवाद, अन्तर्वार्ता लगायतका कार्यक्रम प्रकाशन र प्रसारण गर्न एवं यस वर्षको दिवसको नारालाई उच्च प्राथमिकताका साथ प्रकाशन–प्रसारण गर्न लगाउने निर्णय बैठकले गरेको छ ।
दिवसका अवसरमा वैशाख २३ देखि २५ गतेसम्म आमसञ्चारसम्बन्धी प्रतिष्ठान र सञ्चारगृहले बेलुका दीपावली गर्न पनि अनुरोध गरिएको छ । सो अवसरमा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजान सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘दक्षिण एसियामा नै नेपाललाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध छ र यसमा सम्बद्ध निकायहरू पनि उत्तिकै जिम्मेवार रहनुपर्दछ ।’ पत्रकारिता दिवसका अवसरमा तय गरिएको नाराअनुसार समाजलाई निर्देशित गर्न पनि उत्तिकै अग्रसरताको खाँचो रहेको मन्त्री कार्कीले औँल्याए ।
उनले पत्रकारिता दिवसका अवसरमा पुरस्कृत हुने व्यक्तित्वले जनतालाई प्रेरित गर्न सक्नुपर्ने धारणा पनि ब्यक्त गरे । सो अवसरमा मन्त्रालयका सचिवलगायत उच्च अधिकृत एवं मातहतका विभिन्न सञ्चारमाध्यमका प्रमुख, सञ्चारसम्बन्धी विभिन्न व्यावसायिक तथा पेसागत संस्थाका प्रतिनिधिको उपस्थिति थियो । वैशाख २४ गतेलाई सरकारले विगत सात वर्षदेखि औपचारिकरूपमा राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ ।
प्रतिक्रिया