काठमाडौं । आचारसंहिताको विषयलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणप्रति निर्वाचन आयोगले चासो व्यक्त गरेको छ । आचारसंहिता विपरीत गृहमन्त्री खाँण बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन भरतपुर गएको विषयलाई लिएर आयोगले आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।
सार्वजनिक पदमा रहेका व्यक्तिलाई राजनीतिक गतिविधिमा संलग्न हुन निर्वाचन आचारसंहिताले रोकेको छ । ‘उहाँहरूको हिसाबले उठ्न नपर्ने मान्छेहरू उठिदिनु भयो, अफ्ठ्यारो भयो भन्ने हिसाबले मन्त्रीज्यूहरू नै गएको भन्ने कुरा छ । यसले आयोगको ध्यानाकर्षण भएको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।
भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनको उम्मेदवारी फिर्ता गराउन मन्त्री खाँण बुधबार चितवन पुगेका थिए । सत्तारूढ गठबन्धन दलहरूले स्थानीय तहको चुनावमा तालमेल गरेका छन् ।
तालमेलअनुसार भरतपुरको मेयर पद नेकपा माओवादी केन्द्र र उपमेयर पद नेपाली कांग्रेसले पाउनुपर्ने हो । सोहीअनुसार मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दिएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । तर, गठबन्धनको निर्णय विपरीत कांग्रेस नेता पौडेलको मेयर पदमा उम्मेदवारी दिएपछि उनीसँग छलफल गर्न गृहमन्त्री खाँण चितवन पुगेका हुन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताएका थिए । ‘गठबन्धन गर्दा सधैँ आफूले चाहेजस्तो हुँदैन । गठबन्धनमा आबद्ध अन्य राजनीतिक दलसँग पनि संवाद र छलफल हुनुपर्छ’, सञ्चारकर्मीसँग उनले भनेका थिए, ‘यतिबेला संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’
यसैबीच, सहरी विकास मन्त्रालयले मन्त्री रामकुमारी झाक्रीको विदेश भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने दावी गरेको छ । मन्त्रीको तर्फबाट निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्रालयले आचारसंहिता लागू गर्ने निर्णय हुनुभन्दा पहिले नै मन्त्री झाक्रीको भ्रमण स्वीकृत भएको जनाएको हो ।
‘आचारसंहिता लागू हुनुअघि नै नेपाल सरकारको निर्णय अनुसार, मन्त्रीज्यू पूर्वनिर्धारित कार्यक्रम बमोजिम मनोनयन स्वीकृत भई उक्त कार्यक्रममा सहभागिताका लागि प्रस्थान गर्नुभएको हो,’ मन्त्रालयले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ ।
मन्त्रालयका अनुसार गत चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले नै मन्त्री झाक्रीको भ्रमण अनुमोदन गरेको थियो । त्यसको भोलिपल्टदेखि मात्र आचारसंहिता लागू भएको थियो भने मन्त्री न्युयोर्कमा २८ अप्रिलमा हुने नयाँ सहरी योजना कार्यान्वयनको प्रगतिबारे उच्चस्तरीय बैठकमा ९ वैशाखमा अमेरिका गएकी थिइन् । आयोगले भने भ्रमणमा जानुअघि मन्त्री झाँक्रीले कुनै जानकारी नगराएको र स्विकृती पनि नलिएको बताएको छ ।
प्रतिक्रिया