काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आउन अब १५ दिन मात्र बाँकी छ । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदै छ ।
आयोगका अनुसार, बिहीबार दिउँसोसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सकिएको छ । स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र छपाइ गरिने आयोगले जनाएको छ । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । कुल मतदातामध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ जना अन्य छन् ।
आयोगका अनुसार हालसम्म छपाइ भएको मतपत्रले ७७ मध्ये ७२ जिल्लालाई पुग्नेछ । हालसम्म ३३ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको पनि आयोगले जनाएको छ । ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।
यसैगरी आयोगले उम्मेदबारको मनोनयन अपडेट गर्नेक्रम अझै जारी रहेको पनि जनाएको छ । देशभरबाट बिहीबार दिउँसोसम्म १ लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । आयोगले उम्मेदबारको मनोनयनपत्र दर्ताका लागि वैशाख ११ र १२ गतेको समय निर्धारण गरेको थियो । मनोनयन दर्ता गर्ने समय सकिएको तीन दिन बितिसकेको छ ।
आयोगका अनुसार, हालसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा ३ हजार ५ सय १०, उपप्रमुखमा २ हजार १ सय ६८, अध्यक्षमा ३ हजार ३ सय ८७, उपाध्यक्षमा २ हजार ४ सय १, वडाअध्यक्ष ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ ।
यसैगरी मतदान तथा निर्वाचनको काम गर्न वैशाख २८ देखि ३० गतेसम्म मतदानस्थल रहेका विद्यालयहरू उपयोग गर्न तीन दिन विद्यालय बन्द हुने आयोगले जनाएको छ । तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।
यसैगरी मतदान केन्द्रका रूपमा प्रयोग हुने भवनहरू उपलब्ध गराउन पनि निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ । मतदानका दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको पनि आयोगले जनाएको छ ।
यसैबीच, स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मतपत्र पु¥याइएको छ । मनाङमा हेलिकोप्टरमार्फत नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो । जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र पु¥याएको बताइएको छ । ती मतपत्र जिल्ला सदरमुकाम चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
यसैबीच, देशभरका निर्वाचन अधिकृतहरूले बिहीबार दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरूको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले बन्दसूचीबाट नाम हटेमा मनोनयन अस्वीकार गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो ।
यसैगरी विभिन्न कारणले कालोसूचीमा परेका ४० हजारमध्ये कोहीले मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द हुनेछ । निर्वाचन कानुनमा उम्मेदवारी दिने योग्यता नपुग्ने विषयलाई आधार बनाएर कालोसूची तयार गरिएको हो । अदालतबाट पाएको सजाय भुक्तान नभएका र बैंकको ऋण नतिरेकाहरू कलोसूचीमा पर्नेछन् ।
प्रतिक्रिया