राती रेस्टुराँ नखोल्न र मदिरा नबेच्न आग्रह

बागलुङ । चुनावका बेला अवाञ्छित क्रियाकलाप नहोस् भनेर यहाँका राजनीतिक दलले राती अबेरसम्म रेस्टुराँ नखोल्न र मदिरा नबेच्न व्यवसायीसामु आग्रह गरेका छन् । गलकोट नगरपालिका–७ मल्मको वाम–लोकतान्त्रिक गठबन्धन दलको संयन्त्रले बैठकबाटै निर्णय गरी सार्वजनिक रूपमा सोको अपिल गरेको हो । ‘राती ९ बजेपछि वडाभित्र सञ्चालित रेस्टुराँको सेवा बन्द गर्न र मदिराजन्य वस्तु नबेच्न आग्रह गरेका छौँ’, संयन्त्रका सदस्य एवं नेकपा (माओवादी केन्द्र) वडा समितिका अध्यक्ष ललित मरासिनीले भने ।

मत प्रभावित पार्ने गरी गलत चलखेल हुन नदिन र घरगाउँमा शान्ति कायम राख्न राजनीतिक दलहरू आफैँले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । अध्यक्ष मरासिनीले आफ्नो पार्टीका चुनावलक्षित भेटघाट र घरदैलो अभियानलाई पनि बिहानदेखि साँझसम्म मात्र चलाउन जोड दिइएको बताए ।

राती ढिलोसम्म होटल, रेस्टुराँमा बसेर बैठक÷छलफल चलाउँदा खर्चिलो पनि हुने र अर्कातिर कसैले मदिरा सेवन गरिहालेमा अप्रिय घटना हुनसक्नेतर्फ सबै पक्ष सचेत हुनुपर्ने उनले उल्लेख गरे । मल्ममा तीन दलको वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धन दलको संयन्त्र गठन गरेर चुनाव परिचालनलाई गति दिइएको छ । सम्बन्धित दल र उम्मेदवारहरूले मतदाता भेटघाट तथा घरदैलो अभियान थालेका छन् ।

संयन्त्रमा माओवादी केन्द्रबाट ललित मरासिनी, नेपाली कांग्रेसबाट बसन्त क्षत्री, प्रदीप केसी र राष्ट्रिय जनमोर्चाबाट दलबहादुर थापा र मीनबहादुर दर्जी रहेका छन् । संयन्त्रको बैठकले घोषणापत्र लेखन समिति, तीनै दलबाट चार÷चार जना रहने गरी १२ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति र स्यंवसेवक समिति पनि गठन गरेको छ । गठबन्धनका साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रका राज थापा वडाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।

यस्तै वडा सदस्यमा (माओवादी) केन्द्रबाट छविलाल दर्जी, यानु विक, नेपाली कांग्रेसबाट ज्ञानबहादुर कार्की र राष्ट्रिय जनमोर्चाबाट यशोदा थापा उम्मेदवार रहेका छन् । वडामा क्रियाशील अर्को दल नेकपा (एमाले) ले भने नेता होमबहादुर बस्नेतलाई अध्यक्षको उम्मेदवारका रूपमा अघि सारेको छ । ०७४ को स्थानीय तह चुनावमा उक्त वडामा (माओवादी) केन्द्रले एक्लै जितेको थियो ।

प्रतिक्रिया