एक्लो प्रतिस्प्रधी : आर्जन बटूल्दैं ‘लंका’

काठमाडौं, २ मंसिर ।  पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न नसकीरहेका समयमा युवा निर्देशक श्याम भट्टराईको चलचित्र ‘लंका’ले राम्रो बजार र कमाई गर्न अग्रसर देखिएको छ ।
मंसिर–१ गते देखि मुलुकभरि एकैसाथ प्रदर्शन शुरु गरेको ‘लंका’ले राम्रो व्यापार गरेको चलचित्रका वितरक नरेन्द्र महर्जनले जानकारी दिए । ‘लंका रिलिज भएको दुई दिनमा झण्डै १६ देखि १८ लाख सम्म व्यापार भएको छ,’ उनले भने, ‘पश्चिम क्षेत्रमा आठ लाख उठाई सकेको छ ।’
मुलुक भरिका झण्डै पैतींस चलचित्र हलमा एकै साथ लागेको ‘लंका’सँग कुनै पनि नेपाली चलचित्र जुध्न भने पाएनन् । बजारमा एक्लो प्रतिस्प्रधी ‘लंका’ झण्डै ७० लाखमा निर्माण गरिएको स्रोतको दाबी छ । नेपाली चलचित्र निर्माणमा यो रकम धेरै मानिन्छ ।
‘लंका’को कथा छविराज ओझाको हो । चलचित्रमा किशोर खतिवडा, नन्दु श्रीस्वास्तव, नागेन्द्र रिजाल, धु्रब कोइरालालगायतले अभिनय गरेका छन् । चलचित्रमा रेखा थापाको प्रमुख भूमिका छ । चलचित्रमा गीत, संगीत, द्वन्द्व देखि कथा ठीकै रहेको दर्शकहरुको भनाई छ । नयाँपन देखाउन खोजिएको ‘लंका’ हेर्दा पैसा खर्च भएको अनुभूति नहुँने विश्लेषकहरुको भनाई छ ।
‘लंका’मा झण्डै आधा दर्जन निर्माता पनि छन् । निर्देशक भट्टराईका साथै ओमप्रकाश अग्रावाल, मालती शाह, सञ्जय कुट र सुशीलकुमार शाहले चलचित्रमा लगानी गरेका हुन् । चलचित्र वितरणको जिम्मा भने महर्जनसहित तीन जनाले लिएका छन् ।
निर्देशक भट्टराईले यस अघि निर्माण गरेका चलचित्र मौसम र मर्यादाले राम्रो व्यापार गरेका थिए । कला र निर्देशनको क्षेत्रमा राम्रो अध्ययन गरेका भट्टराईले निर्माण गरेका गहना, जानकीलगायतका टेलिसिरियलले पनि दर्शकमा राम्रो छाप बनाई सकेका छन् । निर्देशक भट्टराईद्वारा निर्देशित अर्को चलचित्र ‘च्यालेञ्ज’ पनि रिलिजको अन्तिम तयारीमा छ ।

प्रतिक्रिया