बोटानिकल आर्ट एण्ड इलस्ट्रेसन प्रशिक्षण

ललितपुर । विज्ञानमा कलाको महत्व र आवश्यकतालाई मध्येनजर गर्दै दुईदिने ‘बोटानिकल आर्ट एण्ड इलस्ट्रेसन’ प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अन्तर्गत गठित महिला वैज्ञानिक फोरम नेपालले सोमबार र मंगलबार आयोजित उक्त प्रशिक्षणमा करिब तीन दर्जन विद्यार्थी सहभागी भएका थिए । नास्ट परिसरमा भएको उक्त प्रशिक्षणको मुख्यस्रोत व्यक्तिका रुपमा कलाकार नीरा जोशी प्रधान रहेकी थिइन् । उनले सहभागी विद्यार्थीलाई बोटानिकल कला र दृष्टान्तचित्रको आवश्यकता र महत्वलाई प्रकाश पार्दै यसका आधारभूत पक्षका बारेमा चर्चा गरिन् ।

उनले प्रशिक्षणको उद्देश्य उद्देश्य विज्ञान र कलाको महत्वबारे विद्यालय स्तरदेखि नै सचेत गराउनु रहेको सुनाइन् । उनले भनिन्, ‘बोटानिकल आर्ट एण्ड इलस्ट्रेसनमा विद्यार्थीको रुचि जगाउँदै कलामा विज्ञानलाई जोड्नु हो । यसमार्फत कलाको सर्वव्यापी महत्व र आवश्यकतालाई बोध गराउनु पनि हो ।’ आयोजकका अनुसार उक्त प्रशिक्षणमा विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका करिब तीन दर्जन विद्यार्थीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले गरेका थिए । नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा लामो समयदेखि विज्ञान क्षेत्रमा योगदान पुर्याउँदै आएका वरिष्ठ वैज्ञानिक डा. केशरीलक्ष्मी मानन्धर र नेपाली ललितकला क्षेत्रमा लामो समयदेखि योगदान दिएका नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनाललाई सम्मान गरिएको थियो । सो अवसरमा वनस्पति चित्रकारितामा सक्रिय कलाकार नीरा जोशी प्रधानले ‘बोटानिकल आर्ट एण्ड इलस्ट्रेसन’ का विविध आयामका बारेमा परिचर्चा समेत गरेकी थिइन् । उद्घाटन कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव ई. प्रमिलादेवी बज्रचार्य, नास्टको सेवा आयोगका अध्यक्ष डा. खगराज बराल, नास्टका सचिव प्रा.डा. महेशकुमार अधिकारी, डा. केशरीलक्ष्मी मानन्धर, रमेशनाथ खनाल र महिला वैज्ञानिक फोरम नेपालका संयोजक प्रा.डा. अञ्जना सिंहले मन्तव्य व्यक्त गरेका थिए ।

प्रशिक्षणको समापन कार्यक्रम नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहभागी विद्यार्थीद्वारा बनाइएका उत्कृष्ट ५ वटा चित्रलाई पुरस्कृत गर्नुका साथै सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । समापन समारोहमा नास्टका सचिव प्रा.डा. महेशकुमार अधिकारी तथा प्रशिक्षक निरा जोशी प्रधानले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया