तुलसीपुर । सडकमा निर्माणका लागि गाडिएका छड, त्यत्तिकै अलपत्र छन् । निर्माणका लागि ल्याइएका तारजाली पनि सडकमै छताछुल्ल पारी राखिएको छ । सडक धुलैधुलो हुँदा वरपर बस्ने नागरिकलाई समस्या छ । तर, सडक निर्माणको काम विगत ६ महिनादेखि ठप्प छ । दाङको दङ्गीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प छ । चार किलोमिटर सडक कालोपत्र गर्नका लागि आठ करोड बजेट विनियोजन भएको छ । तीमध्ये अहिलेसम्म करिब एक करोड मूल्य बराबरको काम भएको बताइएको छ । त्यसपछि लामो समयदेखि निर्माण ठप्प छ ।
निर्माण ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरसमेत मारमा परेका छन् । करिब दुई महिना काम गरेका मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । ठेकेदार कम्पनीले पटकपटक दिन्छु भनेर आश्वासन दिए पनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरले बताएका छन् । झन्डै ८० जनाले पारिश्रमिक नपाएको मजदुर गणेश डाँगीको गुनासो छ । ‘८० मजदुरले सडक निर्माणसम्बन्धी काम गर्नुभएको हो’, उनले भने, ‘तर कसैले पनि पारिश्रमिक पाउनुभएको छैन ।’
भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्सनले सो ठेक्का लिएको बताइएको छ । गत वर्ष १ जेठदेखि काम सुरु भएको थियो । त्यसपछि करिब दुई महिना मात्रै काम भएको बताइएको छ । त्यसपछि सडक निर्माणको काम रोकियो । त्यतिबेला रोकिएको काम कात्तिकमा सुरु भयो र मंसिरमा पुनः ठप्प भयो । ठप्प रहेको काम अझै पनि सुरु हुन सकेको छैन ।
पसलमा पनि त्यत्तिकै उधारो छ । त्यस ठाउँमा पसल गर्ने आशाराम चौधरीको पसलबाट सामान लिएको भए पनि त्यो सामानको पैसा अझै नआएको उनले बताए । उनको किराना पसलबाट लिएको खाद्यान्न, तरकारीलगायत बापत १ लाख २० हजार बाँकी छ । लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले सो सडक कालोपत्र गर्नका लागि आफ्नै पहलमा बजेट आएको र अहिले काम ठप्प भएको सुन्दा दुःख लागेको बताउँदै सडक निर्माणको कार्य सुरु गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘मैले ठेकेदार कम्पनीसँग पटकपटक संवाद र छलफल गरिरहेको छु, सडक पूर्वाधार कार्यालयसँग पनि छलफल भइरहेको छ’, उनले भनिन्, ‘अब तत्काल काम सुरु हुन्छ ।’
३ वैशाखदेखि काम गर्ने भनी ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिबेलादेखि काम सुरु नभए ठेक्कासमेत रद्द गर्न सक्ने चेतावनी दिएको उनले बताइन् । प्रदेशसभाको आठ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङमार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो । सडक निर्माणको जिम्मा पाउनुभएका भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्सनका सञ्चालक आकाश भुसालले निर्माण काम तत्काल सुरु गर्ने बताए । उनले वैशाख ३ गते आफू दाङ आउने त्यसपछि काम सुरु गर्ने उनको भनाइ छ ।
अहिले निर्माण सामग्री पनि महँगो भएकाले पनि निर्माण कार्यमा समस्या आएको उनले बताए । ‘निर्माण कार्यमा धेरै पुरोना पनि होइन, सिक्दै छु, मसँग धेरै पैसा पनि हुँदैन, अहिले निर्माण सामग्रीको मूल्य पनि उत्तिकै बढेकाले समस्या भयो’, उनले भने, ‘म तत्काल अब काम सुरु गर्छु ।’ अझै पनि सम्झौता भएको समय बाँकी रहेकाले समयमै सक्नेसमेत उनले बताए । आउँदो माघमा सक्ने गरी सम्झौता भएको छ । यो भित्रै काम पूरा गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
सडकमा नाला र पर्खाल निर्माण गरी कालोपत्र गर्ने काम तोकिएको छ । मजदुरले आफ्नो ट्र्याक्टर पल्टाइदिएर क्षति बनाएपछि काममा अवरोध आएकोसमेत उनको भनाइ छ । उनको ट्र्याक्टर अहिले इलाका प्रहरी कार्यालय हेकुलीमा राखिएको छ । उनले भाग्यलक्ष्मी क्रसर उद्योगको जेसिबी पनि प्रयोग गरेका थिए । त्यो जेसिबी पनि उद्योगले लगिसकेको छ ।
प्रतिक्रिया