गलेश्वर । म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टा लगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रुख चढ्ने गर्दथे । यसरी धुरी र रूख चढ्नु उनीहरूको बाध्यता थियो । अब भने उपभो क्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख चढ्नु पर्दैन । नेपाल टेलिकमले धवलागिरि गाउँपालिका–५ मल्कबाङको धुरीमा टावर निर्माण गरेपछि फोन गर्न सहज भएको हो । टेलिकमले टुजी र थ्रीजी सेवा एकसाथ सञ्चालनमा ल्याएको छ । ‘दुर्गम गाउँमा टेलिफोनका लागि निकै कठिन थियो, सूचना आदानप्रदान गर्न, आफन्तलाई खबर गर्न र सरकारी कामकाज गर्न र गराउन घण्टौँ पैदल यात्रा गरी सम्बन्धित ठाउँमा पुग्नु पथ्र्यो, तर अब सजिलो भएको छ’, स्थानीयवासी थम्मन थापाले भने ।
टावर स्थापनापछि धवलागिरि गाउँपालिका–५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा–६ को मराङ, बुल गाउँ, रघुगंगा गाउँपालिका–८ कुइने खानी तथा मालिका गाउँपालिका–७ बिमको अधिकांश भूभागमा सहजै मोबाइलमा कुरा गर्न सकिने भएको छ । टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरूप दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।
टेलिकमले अहिले टुजीमार्फत भ्वाइस र थ्रीजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको छ । उनले भने, ‘दुर्गम स्थानमा कुराकानी गर्न सहज भएको छ, इन्टरनेटमा उनीहरूको पहुँच पुगेको छ ।’ सबै बस्ती र भूभाग समेट्ने गरी टावर निर्माण गरिएको शर्माको भनाइ छ ।
नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरी मोबाइल सेवा पुनः सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । टेलिकमले उक्त टावरमार्फत फोरजी मोबाइल सेवा उपलब्ध गराउन काम अघि बढाएको छ ।
प्रतिक्रिया