प्रचण्डको पुस्तक ‘नयाँ युगको पदचाप’ माथि परिचर्चा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ माथि परिचर्चा गरिएको छ । प्रचण्डले सरकारको नेतृत्व गर्दाका व्यक्त विचारहरुको सँगालोको रुपमा आएको पुस्तकमाथि जनसांस्कृतिक महासंघ नेपाल र प्रज्ञा स्मृति प्रतिष्ठानले परिचर्चा गरेका हुन् । अनामनगरस्थित संवाद डबलीमा भएको कार्यक्रममा समालोचक तेजविलास अधिकारीले नाम अनुसारकै सार्थक रुपमा पुस्तक प्रकाशन भएको बताए ।

कार्यक्रममा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले कतिपय राजनीतिक दलले अहिले मुलुकमा बनावटी कामलाई प्रचार गरिरहेको सन्दर्भमा तत्कालीन समयमा भएका यथार्थ कुरा जनतासामु पुग्न नसकेको पुस्तकमा समावेश आलेखले स्पष्ट पारेको बताए । उनले उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गर्दै पुस्तकको नामजस्तै सामग्रीहरु पुस्तकमा समेटिएको विचार व्यक्त गरे । उनले भने, ‘विशेषगरी अध्यक्ष प्रचण्ड दुई पटक प्रधानमन्त्री हुँदा बोलेका विचारहरुको सँगालोका रुपमा किताब आएको र त्यसले समग्र आन्दोलन र त्यसले ल्याएको उपलब्धि बोलेको छ ।’

पुस्तकमाथि टिप्पणी गर्दै समालोचक तेजविलास अधिकारीले महत्वपूर्ण आधार स्थापना गरेर उपलब्धिलाई सैद्धान्तिक र कार्यनीतिगत कोणबाट अगाडि बढाउने व्यक्ति अध्यक्ष प्रचण्ड नै हो भन्ने कुरा ६० वटा लेखले स्पष्ट पारेको बताए । उनका अनुसार पुस्तकमा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदाका १५ र दोस्रो सरकारको नेतृत्व गर्दा सम्बोधन गरिएका भाषणका ४६ आलेख समावेश छन् । अधिकारीले भने, ‘त्यसमा १० वर्षे जनयुद्ध, त्यसपछिका संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, समानुपातिक, समावेशिकरणका लागि भएको अन्तरसंघर्ष र उपलब्धिलाई पुस्तकमा समावेश गरिएको छ । उनले आन्तरिक र बाह्य शक्तिबीचको खिचातानीले समीकरण अदलबदल हुने स्थिति आयो प्रसंगसमेत पुस्तकमा आएको बताए । उनले भने, ‘नेपालमा हलिया प्रथा हटाउनेदेखि कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालय खोल्ने, सातै प्रदेशमा कृषि क्याम्पस खुलाउने, राजस्व वृद्धि र कृषि विकासमा गरिएका प्रयत्न के–के रहे भन्ने कुरा पुस्तकमा स्पष्ट पाइन्छ ।’ पुस्तकमा सीमित उपलब्धिहरु बुँदागत रुपमै समावेश गरिएको जनाउँदै अधिकारीले आज मुलुकमा जे काम भइरहेको छ, चर्चा भइरहेको छ, ती कुरा पुस्तकमा राम्रोसँग उल्लेख गरिएको छ । अधिकारीले भने, ‘नेपालको परिवर्तनमा प्रचण्डको भूमिका विशिष्ट रहेको छ । जुन कुरा पुस्तकमा समेत नीतिगत तथा योजनागत रुपमा आएको देखिन्छ । पुस्तक केवलमा भाषणको लेख मात्रै छैन, इतिहासलाई हेरेर वर्तमानलाई कसरी सुधार गर्ने भन्ने विषय पनि मज्जाले पाउन सकिन्छ ।’


अर्का समालोचक तथा अखिल नेपाल लेखक संघका अध्यक्ष सह.प्रा.डा. धनप्रसाद सुवेदी पुस्तकलाई भाषणको संग्रहको रुमपा मात्रै लिनु गलत हुने भनाइ राखे । उनले पुस्तकमा जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण र त्यसक्रममा देखापरेका जटिलता एवं अन्तरसंघर्ष पाउन सकिने बताए । सुवेदीले भने, ‘सुरुको ‘फेज’ मा अध्यक्ष प्रचण्डका तीव्र आवेगसहितको अभिव्यक्ति मिसिएको देखिन्छ भने त्यसपछि अगाडि बढ्न खोज्दा देशीविदेशी शक्तिबाट यथास्थितिमा रोक्ने प्रयत्न भएको आलेखबाट थाहा हुन्छ ।’ पुस्तकमा समाजवादका भ्रुणहरु यथेष्ट रहेको औँल्याउँदै सुवेदीले भने, ‘शिक्षा, स्वास्थ्य, महिला, आदिवासी जनजाति, पिछडिएका वर्ग, समुदायका बारेमा माओवादीको धारणा प्रचण्डमार्फत् पुस्तकाकारको रुपमा आएको छ, इतिहास, समाजवाद, र साहित्य पनि सँगसँगै मिसिएर आएको छ ।’

पुस्तक ५०० वर्ष पछाडिका पाठकले पढ्यो भने जनयुद्धदेखिका राजनीतिक आन्दोलनका प्रतिविम्ब पाउन सकिने खालको भएकाले एउटा इतिहास बोकेको उनको विश्लेषण छ । ‘नयाँ युगको पदचाप पढिरहँदा भन्न सजिलो छ, गर्न गाह्रो छ भन्ने कुरालाई स्थापित गरिदिएको छ, कतिपयलाई प्रचण्डले केही गरेन भन्ने छ, त्यस कुरालाई पुष्टि गर्ने प्रयास पुस्तकमा गरिएको छ । साथै उहाँले पनि अनूभूत गर्नुभएको छ ।’ सुवेदीले प्रचण्डले केही गरेन भन्नेहरुले चाहिँ के गरे त ? भन्ने प्रतिप्रश्न गर्दै प्रचण्डले प्राप्त उपलब्धीलाई जोगाउँदै अगाडि बढेको जिकिर गरे । उनका अनुसार पुस्तकमार्फत् भविष्यको चित्रण ठ्याक्कै नआए पनि अग्रगामी दूरदृष्टि देखाउन खोजिएकाले नाम सार्थक रहेको छ ।

पत्रकार तथा विश्लेषक भवानी बराल पत्रकारका लागि किताव सूचनाको स्रोत भएको बताए । उनले पुस्तकभित्रका एउटा एउटा विषय खोजेर गहिरो आलेख बनाउन सकिने उल्लेख गरे । कृतिमा आएका विषय प्रचण्डले बोलेको कुरा होइन, त्यतिबेलाको सरकारको भनाइ हो भन्दै बरालले समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्रको संस्थागत गर्ने सन्दर्भमा उनका प्रयास झल्किएको विचार व्यक्त गरे । उनले अहिले ३३ प्रतिशत महिला सहभागिता भइरहेका बेला पुस्तकमा नै ४० प्रतिशत महिला सहभागिताको कुरा उठाइएको जिकिर गरे । बरालले भने, ‘पुस्तकमा उठान भएको आदिवासी, जनजाति तथा अन्य वर्ग, समुदायको प्रतिनिधित्वको कुरालाई अहिले पनि पत्रकारले जुनसुकै तरिकाले उठान गर्नसक्ने बताए । देवेन्द्र थुम्केलीले सहजीकरण गरेको सो परिचर्चा कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले यसलाई पुस्तकाकारको रुपमा ल्याउँदाको सास्तीको चर्चा गरे ।

उनले विहंगम ढंगले सुरुवात् नगरिए पनि पछि एउटा दस्तावेजकै रुपमा आएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘मुलुकमा ठुला ठुला परिवर्तन भए, कुनै दस्तावेज नै छैन, उपलब्धि छैन भनेजस्तै भयो त्यसैले एउटा प्रयास गरिएको हो । त्यसलाई संस्थागत गर्ने काम भएको छ ।’ जुगलले ‘नयाँ युगको पदचाप’ प्रचण्ड सरकारमा सहभागी हुँदा बोलेका विचारहरु समेटिएको जानकारी गराउँदै अझै धेरै कुराहरु छुटेको हुँदा यस्तै परिचर्चाबाट पुस्तकलाई थप समृद्ध पार्दै लैजाने बताए । कार्यक्रममा जुगलले सामग्री संकलनका क्रममा संसदलगायत सरकारी निकायमा कडा चुनौती झेल्नुपरेको सन्दर्भ जोड्दै भने, ‘अध्यक्ष प्रचण्डले बोलेका कतिपय विचारको अभिलेखहरु नै संरक्षण नगरिएकाले सामग्री संकलनमा पनि कष्ट झेल्नुप¥यो ।’ उनका अनुसार कतिपय दस्तावेज नै नामेट बनाइएको छ । पुस्तकको प्रकाशन प्रज्ञा स्मृति प्रतिष्ठानले गरेको हो ।

प्रतिक्रिया