ओखलढुंगा जीप दुर्घटना अपडेट : मृत्यु हुने प्रहरीको संख्या तीन पुग्यो

काठमाडौं । ओखलढुंगामा बोलेरो जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मानेभन्ज्याङ गाउँपालिका–६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान जीप दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा १७ च १०९४ नम्बरको डबल क्याप बोलेरो सडकबाट १५० मिटर तल खस्दा तीन प्रहरीको मृत्यु भएको हो ।

बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी जवान रुपन विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि खलढुंगामा प्रहरी सवार जीप दुर्घटना, दुईको मृत्यु

उक्त दुर्घटनामा ६ जना प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई स्थानीय मेडिकलमा उपचारपश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको छ । प्रहरी नायब निरीक्षक धनराज खतिवडा भने स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया