सरल शीर्षकका कविताहरू !

गोविन्द पौडेल

कवि र गीतकारका रूपमा पहिचान बनाएका सर्जक विश्व सिग्देल नेपाली कविता विधाका सशक्त नाम हुन् । उनका कविताहरू युगीन परिवेशका विद्रोही चेतना हुन् । उनको गीतकार र कवि व्यक्तित्व दुवैको सूक्ष्म समीश्रणको सिर्जना बन्न पुगेको छ । तालीको समाजशास्त्र कवितासंग्रह । समसामयिकता र प्रयोगशीलता उनका मुख्य प्रवृत्ति हुन् । सामाजिक विद्रोह, व्यंग्य चेत र शालीन सांस्कृतिक मूल्यप्रणालीको स्थापना उनको ध्येय देखिन्छ । आधुनिक कविताको प्रयोग शिल्प र कवितात्मक नौला बिम्बविधान निर्माणका निमित्त उनी नदीजस्तै निरन्तर प्रवाहित देखिन्छन् । सरलता मात्र कविताको आकर्षण होइन, सरलताको अन्तर्यमा उनका कविताको अनेकार्थकता र चित्रमयताको मिठास देखेर पाठकहरू भावनाका तरंगमा लहराउँछन् । यो उनका शब्दहरूको शक्तिशाली भाव हो ।

कवितामा गाउँका तस्बिर, सहरका विकृति, असभ्यता र अनैतिकतामाथिका प्रश्नहरू समावेश छन् । आधुनिक सभ्यताले बाँच्न असजिलो बनाएका थुप्रै स्थितिहरू छन् । थिति बस्न नसकेको राजनीतिले मनभित्र बनाएका घाउहरू र जीवनको संघर्ष छ । युद्धका विभिषिका, परदेशीको पीडा छ । उनका कुनै कविता यस्तो छैन, जहाँ विद्रोह नबोलिएको होस् । कुरीतिको झाँको नझारिएको होस् । कुनै कवितामा चाहिँ व्यक्तिको नामै लिएर प्रहार गरिएको पाइन्छ । यसले कता कता कविताको काव्यात्मक मूल्य कमजोर बनाएको हो कि जस्तो लाग्छ ।

बिम्बविधान वस्तुतः कविताको प्राण हो । बिम्बहरूको नवीनता र प्रयोगधर्मितामा कवि मूलतः सिद्धहस्त देखिन्छन् । यद्यपि कतिपय कवितामा विधानको यो काइदा कविले सोझै प्रकट गरेका छन् जस्तैः ‘सप्पै तय थियो शीर्षक’को कवितामा प्रयोग भएका भारत सरकार, सुरक्षा बल, भारू आदि । सालको पात कवितामा कविको धार्मिक सांस्कृतिक पृष्ठभूमि र व्यक्तिगत श्रद्धालाई मिठो शैलीमा प्रस्तुत गरिएको छ । भावनाको उहापोह र कवितात्मक मिठासको केन्द्रीय शिल्पमा कुँदिएको कवि र तजबिज शीर्षकको कविता मन छुने खालको छ । यस्तै भारत सरकार भन्ने शीर्षकमा लेखिएको कविताले सकल नेपाली जनको जीवनको गाडी कसरी छिमेकी मुलुकको निगाह, इरादा र निर्देशनमा चल्न सक्ने र नसक्ने गरी बनाइएको छ । कविता पढ्दै जाँदा तेस्रो विश्वको प्रसंग आइरहन्छ । त्यसमा तेस्रो विश्वका नागरिकहरूको पीडा, दर्द र असजिलो असरल्ल छन् । यिनको सुल्झन निकै पेचिलो छ । कहीँ कतै त तेस्रो विश्वका नागरिकहरू ज्यादै असहाय र निरूपाय देखाइन्छ्न् ।
सेतो क्यानभासमा
तिमीले पहिलो कुची चलायौ
हामी विनम्र उभियौँ
कुमारी छाती
जसरी गर्छ प्रथम थोपा दुधको प्रतीक्षा
कविताको बहुअर्थ र आयामिकता बोकेको हामी विनम्र उभियौँ शीर्षकको कविता साधारण पाठकका निमित्त नरिवल फोर्नु जत्तिकै छ । संग्रहमा पोलिमर नोट, साथीलाई र चौथो अंग शीर्षकका छोटा कविता छन् । कायाको दृष्टिले यिनलाई मुक्तक भन्न सकिएला, अपितु सन्देश त कविताकै बोकेका छन् । मैले आफूलाई कविताले गीतको मिठास बोकेको छ । शब्द बनोट र गीतिमयताले यो कविता गेय तत्व प्रधान बनेको छ । दार्शनिक चिन्तनप्रधान कविता घुनले इश्वरको वैचारिक आस्थालाई अनेक कोणबाट हेर्न खोजिएको छ ।

ठीक छ तिमी मक्ख छौ
सही तथ्यांक र ठ्याक्कैको आँकडा
अझै तिम्रो झन्डामा पोतिएको छैन
आफ्नै रंगमा छ तिम्रो कोट
सामाजिक शिष्टता र नैतिकता सिकाउने जिम्मेवारी लिएका योजनाकारहरूलाई गरिएको व्यंग्य यस कवितामा रमाइलो पारामा व्यक्त गरिएको पाइन्छ । जगतका सबै चिज र प्रवृत्तिहरूलाई कविताका भाषामा पस्केका छन् ।


कीर्तिपुर र हेलम्बुको चिन्ता भूगोलको मात्र चिन्ता होइन, त्यहाँका मानिसको स्वाभिमान र इमान, संस्कृति र सभ्यताको चिन्ता गरिएको छ । साधारण काम, साधारण मान्छे भनेर अपमानित आममानिसको सपना एक दिन त्यसै बिलाएर, सेलाएर जान्छ । आकार नलिएरै आयातन सकिन्छ । मुटुमा खिल बनेर पस्छ । यस्तै यस्तै छन् ।
दुई गाँस बढी रुच्ने आसमा
समाज उधिन्नु सजिलो छैन । समाजशास्त्रलाई पनि सजिलो छैन । कविताशास्त्रलाई पनि सहज छैन । चपाउन नसकिने कविता लेख्नु बजारको मूल्य नबुझ्नु हो । यो कुरा कविले राम्रोसँग बुझेको पाइन्छ । आफ्ना खुट्टामा उभिनु, आफ्ना बुद्धिले सोच्नु, आफ्ना आस्थामा बस्नु एकदमै असजिला कुरा हुन् । खासगरी यो जमानामा, किनभने प्रायोजकहरू छन् । विचारका, विकासका, सभ्यताका, शिक्षाका अनि संस्कारका । आममानिसको जिम्मा मल्टिनेसनल कम्पनीहरूले लिइसके । धर्मको जिम्मा गुरुहरूले लिइसके, अब जिन्दगी आफैंसँग छैन, छ त केवल थपडी बजाउनु ! ताली ठोक्नु ! टेबल ठटाउनु र समर्थन गर्नु ।
अन्धो
बिल्कुलै अन्धो हुन्छ ताली
र कवितालाई बजेको ताली गन्दै
बसिरहेछ बजार
कवि सिग्देल सुकिलो सम्भावना बोकेका अनि समसामयिक चेतना र विद्रोही भावलाई धारिलो पार्न सक्ने खुबी भएका कवि हुन् । नेपाली आधुनिक कविता काव्य उनको कविता साधनाबाट औधी लाभान्वित हुनेछ । उनको कविता संग्रह तालीको समाजशास्त्रलाई एक जोडदार तालीले स्वागत गर्न चाहन्छु ।

प्रतिक्रिया