बढ्दो सवारी दुर्घटना : बर्सेनि २५ सयको मृत्यु

काठमाडौं । गत २६ फागुनमा संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटना भयो । उक्त दुर्घटनामा परी १५ जनाले ज्यान गुमाए । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको थियो ।

गत शुक्रबार मात्र मकवानपुरको मनहरीमा यात्रुबस दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो । हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ४४५४ नम्बरको बस बिहान ८ः३० बजे मनहरि–६ को कुलचोकमा दुर्घटना भएको थियो । यसदेखि वाहेक देशभरबाट दिनहुँ सवारी दुर्घटनाका थुप्रै समाचार आउने गरेका छन् । पछिल्लो समय सवारी दुर्घटना हुनेक्रम बढ्दो छ । नेपालमा सवारी दुर्घटनाका कारण बर्सेनि २ हजार ५ सयले अनाहकमा ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा परी बर्सेनि पाँच हजारभन्दा बढी घाइते हुने गरेका छन् । पक्कै पनि यो निराशाजनक तथ्यांक हो ।

साँघुरा सडकसँगै सवारीसाधनको उच्च चापका कारण पनि दुर्घटना निम्तने गरेको विज्ञहरूको बुझाइ छ । विशेषगरी सवारी सञ्चालन अनुमति पत्र (रुट परमिट) वितरण गर्ने निकाय यातायात विभाग, सडकको स्तरोन्नति गर्ने निकाय सडक विभाग र नियम उल्लंघन गरेवापत कारबाही गर्ने निकाय ट्राफिक प्रहरीबीच आपसी समन्वय नहुनु नै सडक दुर्घटना निम्तनुका प्रमुख कारण हुन् ।

साँघुरा सडकसँगै सवारीसाधनको उच्च चापका कारण पनि दुर्घटना निम्तने गरेको विज्ञहरूको बुझाइ छ । विशेषगरी सवारी सञ्चालन अनुमति पत्र (रुट परमिट) वितरण गर्ने निकाय यातायात विभाग, सडकको स्तरोन्नति गर्ने निकाय सडक विभाग र नियम उल्लंघन गरेबापत कारबाही गर्ने निकाय ट्राफिक प्रहरीबीच आपसी समन्वय नहुनु नै सडक दुर्घटना निम्तनुका प्रमुख कारण हुन् ।

दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको बताउँछन्, प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी । साँघुरा सडकमा सिट संख्याभन्दा अत्यधिक यात्रु राखेर पैसा कमाउने उद्देश्य मात्रै बोकेका चालकले सडकमा दुर्घटना निम्त्याउँदै आएको प्रहरी मुख्यालयको बुझाइ छ । सवारी दुर्घटनाको दृष्टिकोणले काठमाडौं उपत्यका पनि निकै जोखिममा छ । उपत्यकामा अहिले दैनिक १८ लाखभन्दा बढी सवारी साधन चल्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकामा हरेक दिन दुई सय नयाँ सवारीसाधन थपिने गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

उपत्यकामा सवारीको चाप बढेसँगै दुर्घटनाको संख्या पनि ह्वात्तै बढेको देखिन्छ । महाशाखाका अनुसार गत साउनदेखि फागुनसम्म १० हजार १ सय २० दुर्घटना भएका छन् । आर्थिक वर्ष ०७७÷७८ मा उपत्यकामा ९ हजार ५ सय ४५ वटा सवारी दुर्घटना भएको माहाशाखाले जनाएको छ । दुर्घटनामा उपत्यकामा मात्रै गत आर्थिक वर्ष १ सय ६७ जनाको ज्यान गएको थियो । त्यसअघि आर्थिक वर्ष ०७६÷७७ मा १० हजार ३० वटा सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा १ सय ५३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

जनसंख्याको चाप बढेसँगै सवारीसाधन पनि थपिँदा दुर्घटना बढिरहेको बुझाइ महाशाखाको छ । करिडोर निर्माण, सडक विस्तार भए पनि दुर्घटना रोकिएका छैनन् । दुर्घटना नियन्त्रण नहुनुमा मुख्यतः चालकको लापरबाही रहेको महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशी बताउँछन् । यसैगरी उपत्यकाभित्र दुर्घटना निम्तनुमा पैदल यात्री पनि उत्तिकै दोषी छन् । जोशी भन्छन्, ‘सवारी चालकले ट्राफिक संकेतको बेवास्ता गर्ने र पैदलयात्रुले पनि आकाशे पुलबाट बाटो नकाट्ने भएपछि दुर्घटना बढेको हो ।’

उपत्यकामा अहिले दुई दर्जनभन्दा बढी आकाशे पुल छन् । तर, पैदलयात्री सडकबाटै बाटो काट्न रुचाउने गरेको बुझाइ महाशाखाको छ । ट्राफिक प्रहरीले जति सम्झाउँदा पनि पैदलयात्रीले बेवास्ता गर्दा दुर्घटना निम्तिने गरेको जानकारी जोशीले दिए । पछिल्ला आठ महिनाको तथ्यांक हेर्दा देशभर २५ हजार ७ सय ६८ वटा सवारीसाधन दुर्घटनामा संलग्न देखिन्छन् । तीमध्ये मोटरसाइकलले मात्रै १३ हजार १ सय ९७ वटा दुर्घटना निम्त्याएको प्रहरी तथ्यांकले बताउँछ । यसरी हेर्दा ५० प्रतिशतभन्दा बढी दुर्घटनामा मोटरसाइकल संलग्न रहेको देखिन्छ । मोटरसाइकल दुर्घटना हुनुमा तीव्र गति मुख्य कारण रहेको महाशाखाका एसएसपी जोशी बताउँछन् । यसैगरी दुर्घटनामा कारको पनि निकै संलग्नता रहेको पाइन्छ । ५ हजार ८ सय ९५ वटा दुर्घटनामा कार संलग्न रहेको देखिएको छ ।

आशिष गजुरेल (रोड ट्राफिक इन्जिनियर)

सरकारी भिजन नै छैन : आशिष गजुरेल (रोड ट्राफिक इन्जिनियर)
खासगरी सडक दुर्घटना हुनुका पछाडि चार वटा मुख्य कारण देख्छु । पहिलो खराब सडक, दोस्रो सवारी साधनको यान्त्रिक गडबढी, तेस्रो चालक, यात्रु तथा अन्य सडक प्रयोगकर्ताले ट्राफिक नियम उल्लंघन गर्नु र चौथो सडकको भौतिक पूर्वाधारमा कमी ।

सडक छन् तर, पूर्वाधार छैनन् । डोजर अघिअघि सवारी पछिपछि भएपछि दुर्घटना त हुन्छ नै । विशेषगरी पहाडी जिल्लामा बर्सेनि दुर्घटनाका कारण सयौंको संख्यामा सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् ।

घुमाउरो सडक र त्यसमाथि पनि खचाखस यात्रु राखेर चालकले लापरबाही गरी सवारी हाँकेपछि दुर्घटना स्वतः हुने भयो । सरकारले बाटो बनाइदिने तर कालोपत्रे नगरिदिने । ढलको व्यवस्था पनि नगर्ने भएपछि के हुन्छ । सडकको भौतिक पूर्वाधारजस्तै सडक लाइट, सडकको लेन छुट्टिने लाइट, सडक लेन, जेब्राक्रस लगायतका न्यूनतम पूर्वाधारको विकास सरकारले गर्न सक्नुपर्छ ।

रुट इजाजत दिने कार्यालयले पनि सम्बन्धित सडकमा सवारीसाधन चलाउन उपयुक्त छ वा छैन भनेर मूल्यांकन गरेपछि मात्रै रुट इजाजत दिनुपर्छ । हाम्रो मुलुकमा त्यो छैन । पैसा तिरे रुट इजाजत हातमा आइहाल्छ ।

 

पछिल्ला आठ वर्षमा

कसका कारणले दुर्घटना

चालकका कारण
० ट्राफिक नियम उल्लंघन
० जथाभावी ढोका खोल्नु
० ओभरटेक
० तीव्र गति
० चालक निदाउनु
० मापसे गरेर सवारी चलाउनु
० मोबाइल फोनको प्रयोग

सवारी साधनका कारण
० यान्त्रिक गडबढी
० ओभरलोड
० थोत्रा सवारी
० ब्रेक नलगाएको
० टायर खुस्केको
० टायर पन्चर
० सवारीको लाइटका कारण

यात्रुका कारण
० चढ्दा र ओर्लंदा
० झुण्डिएर यात्रा
० छतमा यात्रा
० शरीर बाहिर निकाल्दा
० बाटो काट्दा

सडकका कारण
० खाल्टाखुल्टी
० सडकमा निर्माण सामग्री थुपार्नु
० सडकमा मोबिल पोखिँदा
० घुम्तीमोड
० उकालो ओरालो
० साँघुरो
० जीर्ण सडक
० कच्ची सडक
० ग्राभेल सडक
० पक्की सडक

मौसमका कारण
० हुस्सु कुहिरो
० आँधिबेहरी
० वर्षा
० बाढी र पहिरो

प्रतिक्रिया