काठमाडौं, १९ कात्तिक । ‘मलाई मेरो घर था’छैन । आमाको घरलाई घर भनुँ भने अहिलेको बाले हेलाँ गर्छ । बा’को घरलाई आफ्नो भनुँ भने कान्छीआमाले हेलाँ गर्छ । आमाले भनेको भोलिपर्सि बिहे भएपछि लोग्नेको घर नै मेरो घर हुन्छ । तर, लोग्नेको घर मेरो हुन्छ कि हुँदैन था’छैन । त्यसैले, कसैले घर सोधेको मलाई मन पर्दैन,’ साहित्यकार अमर न्यौपानेले नेपालगन्जकी एक बालिकाको तीतो भोगाइ सापटी लिँदै आफ्नो आख्यान ‘पानीको घामको’ यो अंशमार्फत शनिबार साँगा साहित्य यात्राको दैलो उघारे । तालीको गडगडाहटले भावुकतालाई छोप्यो । अनि, विस्तारै देशको राजनीतिक विकृति सांकेतिक रूपमा पोख्न थाले कविहरू । देशको वर्तमान राजनीतिक अस्थिरतालाई सिम्बोलिक रूपमा प्रस्तुत गरेको केशव सिलवालको कविताले सबैभन्दा धेरै वाहवाही पायो । चालीस बढी साहित्यकारले आ–आफ्ना रचना वाचन गरेका थिए । कसैले आमाको स्नेह, कसैले प्रेमिकाको सुन्दरता त कसैले शान्तिकामी शब्दलाई कविता, गजल, गीतमार्फत व्यक्त गरे ।
पत्रकार तथा साहित्यकार फुलमान बलले भिक्षुहरूको पोसाकसँग जोडेर रातो रंगलाई प्रेम, शान्ति अनि सम्मानको भावका रूपमा प्रस्तुत गरेको कवितात्मक प्रस्तुति पनि निकै चोटिलो थियो । गीता त्रिपाठीको कविताले उपस्थितहरूलाई ‘नोस्टाल्जिया’ मा पुर्याइदिएको थियो । पृष्ठभूमिको गौरीशंकर हिमशृंखलाबाट आइरहेको सिरसिरे हावाको उन्मादबीच कोही बाल्यकालतिर फर्किए त कोही जन्मभूमिको स्मृतिमा हराउन थाले । नेपाल प्रहरी विद्यालयको आयोजनामा भएको कार्यक्रममा कवि विश्व सिग्देलले कवितामार्फत वर्तमान समसामयिक प्रवृत्तिप्रति व्यंग्य गरेका थिए ।
लगातार कविताको वर्षा भइरहँदा आख्यानकार एवं लेखक खगेन्द्र संग्रौलाले आफू आख्यानमा मात्र रुमल्लिइरहनुपरेकोमा पछुतो पोखे, ‘जीवनमा मलाई केही पछुतो छ भने कवि हुन नसकेकोमा हो ।’ कवि श्यामलले कार्यक्रममा प्रस्तुत रचनाहरूमाथि टिप्पणी गरेका थिए ।
प्रतिक्रिया