कोलम्बो, १६ कात्तिक । श्रीलंकामा दुई दिनअघिदेखि सुरु भएको आँधीबाट दुई व्यक्तिको मृत्यु भएको छ । यस आँधीबाट करिब ५० हजार व्यक्ति प्रभावित भएको अधिकारीले बुधबार जनाएका छन् । आँधीबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ ।
आँधीबाट प्रभावित देशको उत्तरी भागका करिब पाँच सय घरपरिवार विस्थापित भएका र ५० हजार सात सय ८८ व्यक्ति प्रभावित भएको त्यहाँको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ताले जनाएका छन् । त्यसैगरी, उत्तरी सहर मुल्लइटिभुमा १९ हजार सात सय ८५ व्यक्ति भारी वर्षा र आँधीबाट प्रभावित भएको पनि प्रवक्ताले जनाएका छन् । ६५ वटा घर ध्वस्त भएको र ४४८ वटा घरमा क्षति पुगेको छ । स्थानीय भाषामा निलम नाम दिइएको यो आँधी भारी वर्षा र आँधीपछि लगातार श्रीलंकाको उत्तर र पूर्वी भागमा बहेको उल्लेख छ ।
त्यसैगरी, भारतको दक्षिणपूर्वी क्षेत्रमा पनि सो आँधीको त्रास रहेको बताइएको छ । यसका कारण भारतको चेन्नाईमा सतर्कता अपनाइएको छ । सो सहरमा बुधबार विद्यालय बन्द गरिएको र मौसमविद्हरूले आगामी केही घन्टासम्म आँधीको खतरा रहेको बताएका कारण सतर्कता अपनाइएको समाचारमा उल्लेख छ ।
संयुक्त राज्य अमेरिकामा आँधीबाट व्यापक मात्रामा क्षति पुगेको समाचार आइरहेका बेला दक्षिण एसियाली यी दुई देशमा पनि आँधीको त्रास फैलिएको छ । एजेन्सी
प्रतिक्रिया